७१ करोड ७२ लाख फिर्ता पाउने
काठमाडौं, २७ मंसिर
मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाको सिभिल निर्माण कम्पनी जर्मनीको डीडीसी र चीनको सीडब्ल्यू जेभी (डीडीसी सीडब्ल्यू जेभी) सँगको दाबी भुक्तानी मुद्दा नेपाल विद्युत् प्राधिकरणले जितेको छ । प्राधिकरणले अन्तर्राष्ट्रिय अदालतबाट मुद्दा जितेको यो पहिलोपटक हो । फ्रान्सको अन्तर्राष्ट्रिय मध्यस्थकर्ता अदालतले प्राधिकरणको पक्षमा फैसला गरेको हो । फैसलापछि प्राधिकरणले बढी भुक्तानी गरेको ७१ करोड ७२ लाख रुपैयाँ फिर्ता पाउने भएको छ ।
७० मेगावाटको मध्यमस्र्याङ्दी आयोजना निर्माणका क्रममा विभिन्न अवरोधले काम प्रभावित भएको जिकिर गर्दे डीडीसी सीडब्ल्यू जेभीले ३६ वटा विभिन्न विषयमा दाबी प्रस्तुत गरी ४ करोड युरो क्षतिपूर्ति माग गर्दै अन्तर्राष्ट्रिय मध्यस्थकर्ता अदालतमा मुद्दा दायर गरेका थिए ।
प्राधिकरणले चार वर्षअघि यसविरुद्ध फ्रान्सको मध्यस्थकर्ता अदालतमा मुद्दा दायर गरेको थियो । उसले डीडीसी सीडब्ल्यू जेभीको दाबीबमोजिम १ करोड ३८ लाख युरो भुक्तानी गरेको थियो । कुल ३६ दाबी भुक्तानीमध्ये ३१ वटाको फैसला हुन बाँकी छ । प्राधिकरणले पाँचवटा दाबी मुद्दा जितेको हो ।
यसअघि कालीगण्डकी र मस्र्याङ्दी आयोजनाका ठेकेदार कम्पनीसँगको दाबी भुक्तानी मुद्दामा प्राधिकरणले हारेर करोडौं डलर तिर्दै आएको थियो । मध्यस्थकर्ता अदालतले ठेक्कापट्टाको मुद्दा हेर्ने गर्छ ।
डीडीसी जेभीले ४१ दिन ढिलाइ भएको, ल एन्ड अर्डर नभएको, भिसा चार्ज बढी भएको, सस्पेन्स लिकेज ड्यामेज भएको जिकिर गर्दे अदालतमा दाबी प्रस्तुत गरेको थियो । यसबीचमा प्राधिकरणले डीडीसी सीडब्ल्यू जेभीलाई १ करोड ३८ लाख युरो भुक्तानी गरेको थियो । सोही भुक्तानी भएको रकमबाट ६७ लाख युरो प्राधिकरणले फिर्ता पाउने आयोजनाका निर्देशक सुनीलकुमार ढुंगेलले जानकारी दिए ।
“अब प्राधिकरणले ठेकेदार डीडीसी सीडब्ल्यू जेभीबाट सो रकम असुल गर्न अदालतलाई पत्राचार गर्नेछ,” उनले भने, “अरु विषयमा मुद्दा चलिरहेको छ ।” यसैगरी प्राधिकरणले डीडीसी सीडब्ल्यू जेभीसँग लिएको पर्फर्मेन्स जमानतबापतको ९ करोड १० लाख युरो पनि जफत गरेको उनले बताए ।
मध्यमस्र्याङ्दी देशको सबैभन्दा महँगो विद्युत् आयोजना हो । सन् २००४ मा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ सन् २००१ मा निर्माण सुरु भएको यो आयोजना चार वर्ष ढिलो अर्थात सन् २००८ मा मात्र सम्पन्न भएको थियो । सुरुमा १३ अर्ब रुपैयाँ अनुमानित लागत रहेको यो आयोजनाको लागत दोब्बर बढेर २८ अर्ब रुपैयाँ पुगेको छ ।
आयोजनाले १७ अर्ब रुपैयाँ सिभिल ठेकेदार डीडीसी सीडब्ल्यू जेभीलाई भुक्तानी गरेको छ । आयोजनाको लागत मूल्य प्रतिकिलोवाट ६ हजार अमेरिकी डलर पुगेको छ । अन्य ठूला विद्युत् आयोजना निर्माण लागत मूल्य प्रतिकिलोवाट १ हजार ५ सय डलर हुने गरेकोमा मस्र्याङ्दीको लागत चार गुणा बढेको छ ।
Posted by: Raju Gurung