ओझेलमा विकासे मुद्दा


– लक्की चौधरी,
अहिले नेपालको विकासे मुद्दा शिथिलप्राय छ । सबको ध्यान राजनीतिले तानेको छ । सुत्दा, उठ्दा, खाँदा बस्दा सबैको दिमागलाई राजनीतिले गाँजेको छ । दुर्गमबेसीमा काम गर्ने किसान होस् या खोलामा माछा मारी जिविकोपार्जन गर्ने माझी सबलाई राजनीतिले गाँज्न थालेको छ । थकान मार्दा या चौतारीमा बसेर हावाको सुस्केरा लिंदा समेत उनीहरुले राजनीतिको कुरा नसुनी धरै पाउँदैनन् । मनोरञ्जनको साधन कथंकदाचित रेडियो ट्यून गरिहालेछन् भने पनि राजनीतिको झन्कार उनीहरु कहाँ पुगेरै छाड्छ । विकास गर्न तल्लिन सर्वसाधारण किसानलाई समेत राजनीतिले गाँज्दै जानेहो भने विकासका मुद्दा अझ ओझेलमा पर्ने सम्भावना रहन्छ ।

विकासका बाधक तत्व के हो त ? धेरैलाई लाग्नसक्छ देशमा शान्ति नभएकै कारण विकासे मुद्दा ओझेलमा परे । सर्वसाधारणले भयरहित वातावरणमा काम गर्न नपाएर विकास रोकियो भनेर । यस कुरामा जति दम छ, त्यति नै भ्रम पनि छ । शान्ति त राणाकालमा पनि थियो, राजा त्रिभुवनको शासनकालमा पनि थियो । राजा महेन्द्रको पञ्चायती कालमा पनि एक किसिमको शान्ति थियो । निस्फिक्री नेपालीले हिड्न, डुल्न र काम गर्न पाएकै थिए । कसैलाई काम गर्न र डुल्नमा कुनै रोकतोक थिएन तर विकास किन भएन ?

विकासको अवधारणा मूलतः दोस्रो विश्वयुद्ध पछि विश्वमा आएको मानिन्छ । तथापि नेपाली परिवेशमा कुरा गर्नुपर्दा सन् १९५० पछि नै विकासको प्रक्रिया प्रारम्भ भएको मान्न सकिन्छ । अझै हाम्रो यहाँ योजनाबद्धरुपमा विकासको शुरुवात भएको त वि.सं. २०१३ सालबाटै हो । ‘विकास’ शब्दको प्रयोग गर्ने प्रथम अर्थशास्त्री आर्थर लेविस थिए । उनले प्रादूर्भाव गरेको विकास शब्दसँग विश्वका कैयौं मूलुक परिचित छन् । धमाधम विकासको पथमा लम्किएका छन् र लम्कदै छन् । तर हामी नेपाली विकासको उल्टो विनासको पथमा लम्केका छौं । किनकि मुलुक एक बाटो हिड्छ हामी त्यसको विपरित अर्को बाटो हिड्छौं । विकासको बाधक त्यसैलाई मान्दा अन्याय नहोला । नेपालमा विकास गर्ने भनि करिब ३० हजार गैरसरकारी संस्थाहरु विकासे नारा लिएर फिल्डमा खटिएका छन् । करिब १५० अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरु विकासको नारा लिएर नेपालमा कार्यरत छन् । तर विकास कहाँ छ ? उनीहरुलाई अत्तापत्तो छैन । उनीहरु विकासको पछाडि दगुर्नु भन्दा विकास उनीहरुको पछाडि दगुर्नु परिरहेको छ ।

विकासको बाधक तत्व हाम्रो सोचलाई लिन सकिन्छ । परम्परागत परिपाटीलाई लिन सकिन्छ । राणा वंशीयकाल देखि हालसम्म हामीमा उही सोच्ने प्रबृत्ति छ । विकास गर्ने नेतृत्व पङ्क्तिमा ‘आफ्नो मान्छे’ हुल्ने प्रबृत्ति हावी छ । सक्षम र नेतृत्वशील व्यक्ति विकास गर्ने नेतृत्वमा पुग्नुभन्दा अक्षम र आफ्नो मान्छे नेतृत्वमा पुग्ने प्रबृत्ति पनि विकासको बाधक तत्व बन्ने गरेको छ । दण्डहिनता पनि विकासको अर्को बाधक तत्व हुनसक्छ । विकासको पनि सीमा र परिधिहरु हुन्छन् । हरेक चिजको आफ्नै परिपाटी र सीमा हुन्छ । तोकिएको ऐन नियम तथा नीतिअनुरुप काम गर्दा जस्तोसुकै काम फत्ते हुन्छ । तर यहाँ नीति, कानून तथा सीमालाई सबैले नाघेका छन् । ठूलाबडा तथा पार्टी कार्यकर्ताका लागि कानून फितलो भएको छ । अपराध गर्नेहरु, घुसखानेहरु, दलाली गर्नेहरु सजिलै उम्कन सफल भएका छन् । अपराधबाट बच्न पार्टी कार्यकर्ता हुने गरेका छन् । यो परिपाटीले पनि विकासमा बाधा पु¥याइरहेको छ ।

भौतिक पुनरसंरचना गर्न जति सजिलो हुन्छ, मानसिक पुनरसंरचना गर्न त्यति नै कठिन । द्वन्द्वकालमा भत्केका, फुटालिएका घर भवन तथा पुल पुलेसाहरु पुनः मर्मत गर्न सकिएला । अलि बढी बजेट खर्चनु पर्ला । तर मानिसको दिमागमा पुगेको मानसिक असरलाई पुनरसंरचना गर्न गाह्रो होला । भौतिक पुनरसंरचना गर्न सय वर्ष लागे मानसिक पुनरसंरचना गर्न हजारौं वर्षको समय खर्च हुनसक्छ । द्वन्द्वकालमा तनावमा परेका मानिसको भय हटाउन र उनीहरुले शुलभरुपमा काम गर्ने वातावरण बनाउन दशकौं लाग्नसक्छ । त्यसले पनि विकासमा बाधा पु¥याउन सक्छ । एकातिर बनेका घर, पुल पुलेसाहरुको भौतिक संरचना भताभुङ्ग हुनु अर्कोतिर मानिसको काम गर्ने जाँगर नै मरेर जानु भनेको विकासमा ठूलो दूरगामी असर पर्नु हो ।

अहिले सरकारबाट प्रस्तुत हुने गरेको विकास बजेट न्यून छ । बजेटजति सबै संविधान निर्माण प्रक्रियामा केन्द्रित छ । बजेट नेताहरुको छलफल, खाना, खाजा तथा चियापानमा अल्झेको छ । संविधानसभाका छ सय बढी सदस्यहरुलाई दुई वर्ष देखि तलब भत्ता खुवाउँदा खुवाउँदै विकास बजेट रित्तिने गरेको छ । संविधान बने सबै चिज फूमन्तरले सद्दे हुने नारा लिएर नेताहरु नेपालीलाई बेबकुफ बनाएका छन् । समयमा सिद्धिने कामलाई आलटाल गरी अल्झाएर राजनीतिक दलका नेताहरु विकास विरोधी काम गरिरहेका छन् । कहिले यो रिसोर्टमा वार्ता कहिले त्यो रिसोर्ट तथा फाइव स्टार होटलको वार्ता गर्दा गर्दै करोडौं धनराशी नेताहरुले रित्याइरहेका छन् । व्यर्थको वार्ता, बेतुकको वार्ता । निस्कर्ष केही निक्लिने होइन । खान चाहिं भुँडी भरी खानै प¥यो । वार्ता सहमति नजिक, अर्को वार्तामा सहमति गर्ने निस्कर्षमा वार्ता टुङ्गियो । यही समाचार बाहेक नेपालीको कानमा अर्थोक खवर पर्दैन । “अर्को वार्तामा सहमति गर्ने सहमति भयो ।” नेताहरुले भन्ने सजिलो समाचार यही भएको छ ।

ज्यूँत्यू विकासका लागि गा.वि.स. नगरपालिका तथा जिविसतिर गएका बजेटहरुमा त्यही राजनीतिक दलका कार्यकर्ताहरु गिद्धले सिनो झम्टिएझै झम्टने गर्छन् । पाँच लाखबाट गा.वि.स.को बजेट ३० लाखसम्म पुग्यो तर नेता, कार्यकर्ता देखि कर्मचारीको भागबण्डा तथा घूसखोरीमा चुहावट हुँदा हुँदै बजेट सिद्दिन्छ । विकासमा कसको आँखा लागोस्, भुँडीभर्न र पकेट गरम हुन पाए पुग्यो । विकास सिकास भाँरमा जाओस् पैसा खल्तीमा पुगे भैगो । संयुक्त राष्ट्र संघले अहिले विकासको नयाँ मोडल तयार पारेको छ । आफ्ना सदस्य राष्ट्रहरुलाई ‘सहस्राव्दी विकास लक्ष्य’ को नारा दिएर भुलभुलैयामा पारेको छ । नारा मात्र दिएर के हुन्छ, विकासै चाहेको हो भने विकासका आर्थिक पूर्वाधार तथा भौतिक संरचनाहरुको विकास गरे पनि त हुन्थ्यो । तर दिनु सुको हैन, सहस्राव्दी विकास लक्ष्यको नारालाई एकोहोरो घन्काइरहेको छ । सदस्य राष्ट्रहरुका नेता तथा कर्मचारीलाई पनि सोही फोस्रा नारा कमाउने बहाना बन्ने गरेको छ ।

यदि साँच्चिकै विकास गर्ने हो भने राजनीतिभन्दा आ–आफ्नो कामलाई सबैले ग्राहयता दिइनुपर्छ । आ–आफ्ना कामलाई प्रार्थमिकता दिएर सबैले विकास आफ्नै घरबाट शुरु गर्ने हो भने देशलाई बदल्न सकिन्छ । राजनीतिक अस्थिरतालाई सदाका लागि अन्त्य गरी मेलमिलापको बाटोमा राजनीतिक दलका नेताहरु लागी आम नेपालीलाई सन्देश दिनसके विकासको शुरुवात त्यहीबाट हुनसक्छ । तर आपसी झैझगडा र खुट्टाकाटको शैलीमा प्रस्तुत भइरहने हो भने नेपाल अहिले बाँचेखुचेका विकासभन्दा पनि पछाडि गई कङ्कालमा परिणत नहोला भन्न सकिन्न । हामी बाँचे नेता बाँच्छन्, नेता बाँचे हामी बाँच्छौ । हामी सबै बाँचे हाम्रो देश बाँच्छ त्यसैले सबै गम्भीर भएर विकासको पथमा आजैबाट लम्कने प्रयास गरौं ।

Posted by: Raju Gurung

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.