अनुराधा न रुन सक्नु भो न त हाँस्न


                                                                                                                               – भवानी कार्की 
काठमाडौँ, मङ्सिर १६ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु आगमन कक्षमा बिहीबार निकै भीडभाड थियो । एकातिर समाजसेवी अनुराधा कोइरालको स्वागत गर्नेको भीड थियो, अर्कातर्फ उहाँको अन्तर्वार्ता लिन र तस्बिर खिच्नका लागि झुम्मिएका पत्रकारको । अमेरिकी समाचार संस्था केबल न्युज नेटवर्क -सीएनएन) ले प्रदान गरेको ‘सीएनएन हिरो २०१०’ पुरस्कार ग्रहण गरेर नेपाल र्फकने क्रममा बिहीबार सर्वसाधारण यात्रुले प्रयोग गर्ने आगमन कक्षबाट आगाडि बढ्दै गर्दा स्वागतार्थ उभिएको भीड देेखेर उहाँ एकैपटक मुख छोप्न पुग्नुभयो । उहाँ न रुन सक्नुभयो न त हाँस्न नै । हर्षको त्यो क्षणमा उहाँ पटकपटक भक्कानिनुभयो ।

त्यत्तिकैमा पत्रकारको भीडले छोप्यो उहाँलाई । स्वागत गर्न अग्रपङ्क्तिमा उभिनुभएका प्रसिद्ध हास्यकलाकारद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ पनि भीडमै हराउनुभयो । प्रहरीलाई अनुराधा कोइरालालाई जोगाउन नै मुस्किल भयो ।

केहीबेर भीडभाडबीचमै उहाँले स्वागत गर्नेले दिएका फूलमाल स्वीकार्नुभयो । पत्रकारकक्षमा पत्रकारलाई अन्तर्वार्ता दिएपछि बाजागाजाको ताँतीसँगै उहाँको स्वागतर्‍याली अगाडि बढ्यो । उहाँको स्वागतार्थ विभिन्न गैरसरकारी संस्थाका पदाधिकारी तथा निजी विद्यालयका विद्यार्थी, शिक्षक, शिक्षिका र सर्वसाधारण विमानस्थलदेखि गौशालास्थित माइती नेपालको अफिससम्म लामबद्ध थिए ।

भीडभाडबीचमै पत्रकारलाई प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, “म त पात्रमात्र हुँ, यो सिङ्गो नेपाल र सम्पूर्ण नेपालीको जित हो ।”

उहाँको स्वागतका लागि भेला भएका शुभेच्छुकसामु विमानस्थलमा उहाँले भन्नुभयो, “मैले पाएको सम्मानले मानव बेचबिखनबिरुद्ध अझ सक्रिय बन्न प्रेरणा मिलेको छ । महिला तथा बालबालिका बेचबिखनविरुद्धको जघन्य अपराध हामी सबै मिलेर अन्त्य गरौ।”

सञ्चारमाध्यमका प्रतिनिधिको ठेलमेलमा जोगिनै मुस्किल भएका बेला पनि उहाँले सो पुरस्कार जिताउन नेपाली सञ्चारमाध्यमले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।

गौशाला मूलसडकदेखि माइती नेपालको भवनसम्म उहाँको स्वागतका लागि रातो कार्पेट बिच्छ्याइएको थियो । सडकमा टाँगिएका तुल, ब्यानर र सजावट हेर्दा कुनै विशेष पर्व भइरहेको जस्तै बनेको थियो गौशाला क्षेत्र ।

अनुराधा कोइरालाको स्वागतर्‍यालीका कारण गौशाला र विमानस्थल क्षेत्रमा करिब तीन घन्टा ‘ट्राफिक जाम’ भएको थियो ।

सीएनएनले समाज परिवर्तन गर्न उदाहरणीय भूमिका निर्वाह गर्ने संसारका उत्कृष्ट व्यक्तिलाई सन् २००७ देखि बर्सेनि सीएनएन हिरोको सम्मान प्रदान गर्दै आएको छ । ‘सीएनएन हिरो २०१०’ की विजेता अनुराधा कोइराला यो पुरस्कार पाउने दक्षिण एसियाकै पहिलो व्यक्ति हुनुहुन्छ ।

नेपालमा महिला तथा बालबालिका बेचबिखनविरुद्ध अभियान चलाउँदै आएकी कोइराला समाज परिवर्तनका क्षेत्रमा पुर्‍याएको योगदानका लागि सुरुमा १० उत्कृष्ट व्यक्तिका रूपमा छनिनुभएको थियो ।

ती उत्कृष्ट १० मध्ये विश्वभरका मानिसले गरेको अनलाइन भोटिङका आधारमा उहाँ ‘सीएनएन हिरो २०१०’ बन्न पुग्नुभएको हो । उहाँलाई पुरस्कारस्वरूप कुल एक लाख २५ हजार अमेरिकी डलर अर्थात् करिब ९० लाख रुपियाँबराबरको रकम प्रदान गरिएको छ ।

Posted by: Raju Gurung                                                     Source: Gorakhapatra

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.