दोलखाको लामिडाँडा– ६ का भक्तबहादुर शिवाकोटीले एक्लो प्रयासमा दुई गाविसको केन्द्र सिंगटी बजारलाई बिजुलीले झलमल्ल पारिदिएका छन् । बजारको बीच भागबाट बग्ने सिंगटी खोलाको पानी उपयोग गर्दै उनले २४ किलोवाट विद्युत् उत्पादन गरेका छन्, जसबाट १६५ घरपरिवारले एक वर्षदेखि बिजुली पाइरहेका छन् । एक किलोमिटर लामो कुलो निर्माण गरेर उनले १६ मिटर उचाइबाट पानी खसाली विद्युत् उत्पादन गरेका हुन् । यसबाट सिंगटी बजार र झ्याकु गाविसका १० घरसमेत झिलिमिली छन् ।
शिवाकोटीले प्रत्येक घरबाट धरौटीबापत गत वर्ष २ हजार १ सय र अहिले २ हजार ५ सय तथा प्रतियुनिट १० रुपैयाँ लिन्छन् । कुनै निकायबाट आर्थिक सहयोग नलिइकनै सुरु गरेको यो व्यवसायमा विद्युत्को लाइन तान्नेदेखि सबै काम उनी स्वयं आफैले गरेका हुन् । आजभोलि सामान्य मर्मत–सम्भारको काम पनि उनी आफै गर्छन् ।
विद्युत् आएपछि स्थानीय व्यवसायी महेश श्रेष्ठले केबुल टेलिभिजन सञ्चालन गरेर सिंगो बजारलाई टेलिभिजनको पहुँचमा पु¥याएका छन् । बजारमा कम्प्युटर इन्स्टिच्युट र फोटोकपी मेसिन पनि सञ्चालन भएका छन् ।
स्थानीय च्छोरोल्पा बचत तथा ऋण सहकारी संस्थाबाट ७ लाख रुपैयाँ ऋण लिएर डेढ वर्षअघि काम सुरु गरेका शिवाकोटीले अहिले ४४ लाख बराबरको सम्पत्ति जोडेका छन् । नेपाल विद्युत् प्राधिकरणले सबस्टेसन बनाउन अधिग्रहण गरेको जग्गाको मुआब्जा रकम र स्थानीय साथीभाइको ऋण सहयोगबाट नै यो आयोजना सञ्चालन गरिएको शिवाकोटी बताउँछन् ।
दिउँसो कम विद्युत् खपत हुने भएकाले उनले यतिबेला खेर जाने विद्युत् सदुपयोग गर्दै कुटानी–पिसानी मिलसमेत सञ्चालन गरेका छन् । गहुँ पिस्ने, तोरी पेल्ने र धान कुट्ने यो मिलमा सिंगटी बजारका अतिरिक्त लामिडाँडा, लादुक, झ्याकु, बुलुङ, सुरीलगायतका गाउँबाट मानिस आउँछन् । मिल सञ्चालन गर्दासमेत विद्युत् बच्ने भएपछि उनले काठ चिरान मिल खोल्ने योजना बनाएका छन् ।
अहिले शिवाकोटीले विद्युत्को व्यापार र मिलबाट मासिक कम्तीमा ४० हजार रुपैयाँ आम्दानी गर्छन् । “बिजुली उत्पादन कस्तो न रहेछ भन्ने लागे पनि आजभोलि सामान्य लाग्न थालेको छ,” उनी भन्छन्, “सधैं खोलामा बगेर जाने पानी सदुपयोग गर्दा हजारौं मानिसलाई सुविधा भएको छ । देश विकास गर्न खोलामा खेर जाने पानीलाई नै सदुपयोग गर्नुपर्ने रहेछ ।”
सिंगटी र आसपासका गाउँलाई प्राधिकरणले केन्द्रीय प्रसारण लाइनसँग जोड्ने तयारी गरिरहे पनि शिवाकोटी आफै गाउँलाई झिलिमिली पार्ने ध्याउन्नमा छन् ।
Posted by: Raju Gurung