राष्ट्रपति र सभामुखको आग्रहलाई बेवास्ता गरी प्रधानमन्त्री क्याम्बोडिया प्रस्थान


बलराम बानियाँ,

काठमाडौं, मंसिर १५ – राष्ट्रपति रामवरण यादव र सभामुख सुवास नेम्वाङको आग्रहलाई बेवास्ता गरी प्रधानमन्त्री माधवकुमार नेपाल ६ सदस्यीय टोली लिएर मंगलबार कम्बोडिया भ्रमणमा गएका छन् । राष्ट्रपति र सभामुखले विदेश भ्रमणमा नगई मुलुकमा जारी राजनीतिक गतिरोध समाधान गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरेको भोलिपल्टै प्रधानमन्त्री दुई साता लामो भ्रमणमा निस्किएका हुन् ।राष्ट्रपति र सभामुखको आग्रहलाई समेत बेवास्ता गर्नु र नगए पनि हुने कार्यक्रममा सहभागी हुन जानुले चार महिनादेखि नयाँ सरकार बन्न नसकेको जटिल राजनीतिक परिस्थितिप्रति प्रधानमन्त्री गम्भीर नरहेको सन्देश गएको सरकारी अधिकारीहरू नै बताउँछन् । संसद्मा माओवादीद्वारा हातपात र सरकारले अध्यादेशबाट बजेट ल्याएपछि राजनीतिक संकट झन् चुलिएको छ ।

उनी मंसिर १५ देखि १८ मा हुने एसियाली राजनीतिक दलहरूको संगठन (आइक्याप) को १४ औं सम्मेलनमा भाग लिन कम्बोडिया गएका हुन् । आइक्यापको वेबसाइटमा सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरूको सूचीमा नेपाललाई एमालेको नेता एवं पूर्व-प्रधानमन्त्री भनिएको छ । सम्मेलनमा ४० भन्दा बढी देशका नेता सहभागी हुनेछन् ।

नेपाल प्रधानमन्त्रीका रूपमा नभई एमाले नेताको हैसियतामा राज्यको खर्चमा सरकारी दलबलसहित आइक्यापको सम्मेलनमा सहभागी हुन गएका हुन् । प्रधानमन्त्रीले मन्त्रिपरिषदबाट आफू नेताको हैसियतमा जान लागेको ‘निजी भ्रमण’ को खर्चसमेत राज्यको ढुकुटीबाट बेहोर्ने निर्णय गराएका छन् । ‘नेपाल एसियाली पार्टीहरूको सम्मेलनमा प्रधानमन्त्रीको रूपमा नभई नेताको हैसियतमा भ्रमणमा गएका हुन्, सरकारी दृष्टिबाट हेर्दा उनको भ्रमण निजी हो, त्यस्तो भ्रमणको खर्च सरकारले बेहोर्नु राज्यको ढुकुटीको दुरुपयोग हो’ एक सकारी अधिकृतले भने ।

नेपालले आफ्नो निजी भ्रमणमा प्रधानमन्त्रीको भ्रमणमा जस्तै सरकारी टोली लगेका छन् । उनको भ्रमण टोलीमा परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल मुक्ति भट्ट, कम्बोडिया हेर्ने सहसचिव रुद्रकुमार नेपाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई र प्रधानमन्त्रीका दुई सुरक्षाकर्मी छन् ।

नेपालले आफूले नेताका रूपमा गर्न लागेको राजनीतिक पार्टीहरूको सम्मेलनमा भाग लिने भ्रमणमा सरकारी टोलीलाई सामेल गरिनु अनौठो र सरकारी खर्चको दुरुपयोगमात्र भएको टिप्पणी सरकारी अधिकारीहरूले नै गरेका छन् ।

एमालेकै नेता केपी ओली आइक्यापको सम्मेलनमा सहभागी हुने भएकाले नेपाल राजनीतिक नेताको हैसियतमा समेत आइक्याप सम्मेलनमा जानु जरुरी नरहेको उनकै पार्टीका नेताहरूले उल्लेख गरेका छन् । केही दिनपहिले एमालेबाट पार्टी नेताको हैसियतमा ओली आइक्यापमा जाने तय भएको थियो । तर, पछि प्रधानमन्त्रीले आफू पनि जाने बताएपछि एमालेका तर्फबाट दुवै नेता जाने तय भएको हो ।

एमालेकै नेता सहभागी हुने सम्मेलनमा प्रधानमन्त्री नेपाल मुलुकको राजनीतिक संकटलाई थाँती राखेर जानु गैरजिम्मेवार कार्य भएको स्रोतले उल्लेख गरेको छ । आइक्यापको सम्मेलन सकिएलगत्तै प्रधानमन्त्री मुलुक नफर्किर्ई उतैबाट बैंकक हुँदै मंसिर १८मा बेल्जियममा हुने अतिकम विकसित राष्ट्रहरूको बैठकमा सहभागी हुन जाने भएका छन् । प्रधानमन्त्रीको टोली बैंककमा एक दिन बस्न होटलसमेत बुकिङ गरिसकिएको छ । नेपाल अतिकम विकसित राष्ट्रहरूको अध्यक्ष हो । बेल्जियमबाट प्रधानमन्त्री २४ गते र्फकनेछन् ।

एमाले अध्यक्ष झलनाथ खनालसमेत श्रमिक पार्टीहरूको सम्मेलनमा भाग लिन एक साता लामो भ्रमणमा बुधबार दक्षिण अफ्रिका जाँदैछन् । एमालेका तीनै जना प्रभावशाली नेता मुलुक बाहिर गएपछि राजनीतिक गतिरोध अन्त्य गर्न प्रमुख दलहरूबीच वार्ता हुने सम्भावना मंसिर अन्तिम सातालाई टरेको छ ।

प्रधानमन्त्रीबाट राजिनामा दिएको केही दिनपछि नै भएको राष्ट्रसंघीय महासभामा भने आफू काम चलाउ सरकार प्रमुख भएको भन्दै उनी गएका थिएनन् । प्रायः सबै मुलुकका राष्ट्र या सरकार प्रमुख सहभागी हुने महासभामा नेपालले आफू नगई गृहमन्त्रीलाई पठाएका थिए । तर, राजनीतिक गतिरोधका कारण आफ्नो काम चलाउ सरकारको आयु लम्बिन थालेपछि प्रधानमन्त्रीमा विदेश भ्रमणको मोह जागेको स्रोतले उल्लेख गरेको छ । रसियामा भएको बाघ सम्मेलनमा प्रधानमन्त्री आफै सहभागी भए । जबकि उक्त सम्मेलनमा भारतका वन्यजन्तु हेर्ने विभागका महानिर्देशकमात्र सहभागी भएका थिए ।

विश्वका बाघ भएका १३ देशको सम्मेलनमा आतिथ्य मुलुक रसियाबाहेक नेपाल र बंगलादेशबाट मात्र सरकार प्रमुख सहभागी थिए । अरू देशबाट मन्त्री, सचिव र विभागीय प्रमुखमात्र सहभागी थिए । बाघ सम्मेलनमा प्रधानमन्त्रीसहित १७ सदस्यीय टोली सहभागी थियो ।

Posted by : Narayan Nepal                                                   Source : eKantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.