दुई व्यापारी अपहरणशैलीमा पक्राउ / राजस्वको दादागिरीः नेपाल प्रहरी


दीपक रिजाल (काठमाडौं),

 राजस्व अनुसन्धान विभागले अपहरणशैलीमा सोमबार दुई व्यापारीलाई पक्राउ गरेपछि उद्योग-व्यवसायीहरु क्रुद्ध बनेका छन्।

सोमबार दिउँसो साढे ४ बजे ललितपुरको कुपन्डोलमा कम्ब्याट पोसाकका हतियारधारीसहित गएका राजस्वका अधिकारीहरुले स्थानीय प्रहरीलाई समेत जानकारी नगराई व्यापारीहरुलाई पक्राउ गरेका थिए।

अकस्मात् कम्ब्याट पोसाक लगाएका व्यक्तिहरुले व्यापारीलाई पक्राउ गरेपछि स्थानीय बासिन्दासमेत आक्रोशित भएका थिए र केही बेर सो क्षेत्र तनाबग्रस्त बनेको थियो। स्थानीय बासिन्दाले हतियारधारीहरुले व्यापारीद्वय मुकेश झा र सत्यनारायण मिश्रलाई अपहरण गरेको जानकारी प्रहरीलाई गराएपछि प्रहरीले अनुसन्धान गर्दा मात्रै राजस्वले सशस्त्र प्रहरीको सहयोग लिएर सो कार्य गरेको खुलेको थियो।

नेपाल प्रहरीसँग समन्वयसमेत नगरी राजस्वले सशस्त्रको सहयोगमा कार्य गरेको भन्दै नेपाल प्रहरीले भने आपत्ति व्यक्त गरेको छ। नेपाल प्रहरीलाई जानकारी नगराई गिरफ्तारी गर्ने कार्य क्षेत्राधिकारबाहिरको भएको जनाएको छ।

अपहरणमा परेका भनिएका दुई व्यापारीलाई राजस्वले नियन्त्रणमा लिएको जानकारी पाएपछि नेपाल प्रहरीका सो अनुसन्धानमा खटिएका अधिकारीहरु नाजवाफ भएर फर्किनुपरेकॊ थियो। ती दुई निकायले नेपाल प्रहरीलाई कुनै जानकारी नदिई व्यापारीहरुलाई अपहरणको शैलीमा लैजाँदा प्रहरीले उद्धारका नाममा धेरै समय दुःख पाउनुपरेको थियो। यो घटनाप्रति नेपाल प्रहरीले आपत्ति गरेको छ र यस विषयलाई गृहमन्त्रीसँग राख्ने भएको छ। नेपाल प्रहरीका एक उच्च अधिकारीले आक्रोशित हुँदै भने- राजस्वले आफ्नो क्षेत्राधिकार नाघेर दादागिरी देखाएको छ जसलाई जतिखेर मन लाग्यो त्यतिखेरै मान्छेलाई उठाउने हो भने नेपाल प्रहरीको के काम ?

उनले समुदायमा काम गर्ने नेपाल प्रहरी भएकाले प्रहरीलाई जानकारी नदिई कार्य अगाडि बढाउनुहुने थिएन भन्दै आवश्यक परेको भए सबै सुरक्षानिकाय मिलेर काम गर्दा राम्रो हुने बताए।
आज राजस्व र सशस्त्र मिलेर प्रहरीलाई जानकारी नै नदिई यस्तो काम गरे भोलि नेपाली सेनाले त्यसरी नै प्रहरीलाई जानकारी नदिई यस्तो काम भयो भने यसको जिम्मा कसले लिने ? -ती प्रहरी उच्च अधिकारीको प्रश्न थियो।

सुरक्षानिकायले जानकारी नदिई यस्ताखाले काम गर्दा गलत प्रक्रिया स्थापित हुने भएकाले सबै सुरक्षानिकायले विचार पुर्याउनुपर्नेसमेत ती उच्च अधिकारीले बताए। जनतासँग प्रत्यक्ष मिलेर काम गर्ने र कानुन कार्यान्वयन गराउने काम नेपाल प्रहरीको हो -ती अधिकारी भन्छन्- हाम्रो संगठनले थाहा पाउला कि जस्तो गरेर ती दुई निकायले जुन काम गरे त्यो गैरकानुनीजस्तै हो र यसबाट उनीहरुको नियतमा समेत प्रश्न उठ्छ।

राजस्वले सशस्त्रलाई लिएर यस्ता काम गर्दा भोलि कुनै अप्ठ्यारो काम आयो भने नेपाल प्रहरीलाई गुहार्न मिल्छ कि मिल्दैन भनी प्रश्न गर्दै ती अधिकारीले नेपाल प्रहरीसँग मिलेर काम गर्न राजस्वलाई किन गाह्रॊ भएको हो बुझ्न नसकिएको बताए।

Source: newsofnepal

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.