एचआइभी/एड्सको संक्रमणमा बच्चादेखि बूढासम्म


– प्रवीण ढकाल

नेपालमा एचआइभी र एड्स भित्रिएपछि देशभरिका तीन हजारभन्दा बढीको मृत्यु भइसकेको र झन्डै ७० हजारको हाराहारीमा एचआइभी र एड्सबाट संक्रमित रहेको बताइएको छ

विश्वमै एचआइभी र एड्सका कारण काम गर्ने उमेरका अधिकांश युवायुवती पीडित भएका छन् । तीमध्ये पनि महिलामा यसको संक्रमण अत्यधिक रहेको छ । केही समयअगाडि मात्र अमेरिकाको न्युयोर्कमा युएनएडसले आयोजना गरेको कार्यक्रममा प्रस्तुत गरिएको यो धारणाले समग्र विश्वमै चिन्ता थपेको छ । दस दिनसम्म चलेको उक्त कार्यक्रममा एचआइभी र एड्सलाई महिलाको मृत्युको प्रमुख कारणतर्फ उन्मुख रोगका रूपमा प्रस्तुत गरिएको थियो ।

एचआइभी एड्सको नियन्त्रण तथा रोकथामका लागि कार्यक्रम बनाउनका लागि आयोजित सो कार्यक्रममा विभिन्न देशको तथ्यांक हेर्दा विश्वभरिमा ७० प्रतिशत महिला असुरक्षित यौनसम्पर्क गर्न बाध्य रहेको भयानक तस्बिर सार्वजनिक गरिएको थियो । विश्वभरिमा महिलाको एचआइभी र एड्सका कारण मर्ने संख्यामा वृद्धि हुन थालेपछि युनएड्सले लैंगिक मुद्दालाई समावेश गरी विश्वभरि सञ्चालन गरिने पाँचवर्षे कार्यक्रम बनाएर लागू गर्ने भएको छ ।

युनएड्सको एचआइभी तथा एड्स कार्यक्रमले विश्वमै पछिल्लो १० वर्षको तुलनामा एचआइभी संक्रमित र एड्सबाट मृत्यु हुनेको संख्या विस्तारै घट्दै गएको देखाएको छ । ‘समग्र रूपमा हेर्दा विश्वमा एचआइभी संक्रमित र एड्सबाट मर्नेको संख्यामा कमी आएको छ । तर, विश्वमै यो रोगबाट महिला बढी पीडित देखिएका छन् भने बच्चादेखि बूढासम्मलाई पनि यसको संक्रमणले छाडेको छैन ।’ युएनको पछिल्लो अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘एचआइभी र एड्सको महामारी सन् १९९९ को तुलनामा २० प्रतिशतले कमी आएको छ ।’ प्रतिवेदनले संक्रमितको संख्यामा कमी आए पनि यसको महामारी जुनसुकै वेला जहाँ पनि देखा पर्न सक्ने भएकाले सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ ।

नेपालमा पनि २२ वर्षअघि देखापरेको एचआइभी सहर हुँदै ग्रामीण्ा क्षेत्रमा बढ्दै गएर ठूलै समस्या सिर्जना गरिरहेको छ । सन् १९८८ मा पहिलोपटक नेपालमा चार यौनकर्मीमा फेलापरेको एचआइभीबाट अहिले दैनिक १५ बढी संक्रमणमा पर्ने गरेको यस क्षेत्रमा कार्यरत विज्ञहरूले बताएका छन् । नेपालमा एचआइभी र एड्स भित्रिएपछि देशभरिका तीन हजार बढीको मृत्यु भइसकेको भने झन्डै ७० हजारको हाराहारीमा एचआइभी र एड्सबाट संक्रमित रहेको बताइएको छ ।

राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले हालै गरेको अध्ययनअनुसार नेपालमा अहिले १४ वर्षभन्दा कम उमेरका ३५ सय ४४ बालबालिका, १५ देखि ४९ वर्षका ५२ हजार प्ााँच सय चार र ५० वर्षभन्दा माथिका सात हजार चार सय ८० गरी कुल ६३ हजार पाँच सय २८ एचआइभी संक्रमित रहेका छन् । केन्द्रको तथ्यांकले पनि नेपालमा बच्चादेखि बूढासम्मका मानिस एचआइभीको संक्रमणबाट ग्रसित रहेको देखाएको छ ।

केन्द्रका वरिष्ठ जनस्वास्थ्य अधिकृत डिल्लीरमण अधिकारीले नेपालमा संक्रमितको संख्या ६३ हजार पाँच सय भए पनि जम्मा १६ हजार दुई सय ६२ को मात्र रगत परीक्षणबाट एचआइभी प्रमाणित भएको बताए । ‘संक्रमितको संख्या धेरै छ, तर रगत परीक्षण गराउनेको संख्या ज्यादै कम छ,’ उनले भने, ‘बाँकी अरू संक्रमितले थाहै नपाई धेरै व्यक्तिलाई एचआइभी संक्रमण गराइरहेका हुन्छन् । त्यसकारण एचआइभी परीक्षणको सुविधा विस्तार गरी तथा संक्रमितलाई गरिने भेदभाव कमी ल्याएर सबै सम्भावित संक्रमितलाई परीक्षणको दायरामा ल्याउनुपर्छ ।’

एचआइभी र एड्स तथा यौनरोग नियन्त्रण बोर्डका उपाध्यक्ष डा. श्याम मिश्रले पछिल्ला वर्षमा एचआइभीको परीक्षण गराउनेको संख्यामा वृद्धि भइरहेको बताए । उनका अनुसार सन् २००७ देखि हालसम्म रगत परीक्षण गराउनेको संख्यामा वृद्धि भइरहेको छ । ‘हामीकहाँ संक्रमित ६३ हजारभन्दा माथि छन् । तर, थोरैले मात्र रगत परीक्षण गराएकाले बीचमा ठूलो ग्याप देखिएको छ । त्यो ग्याप भर्नका लागि हामीले नयाँ कार्यक्रम ल्याउँदै छौँ,’ उनले भने । उनका अनुसार सरकारले सन् २०११ देखि २०१६ सम्मका लागि तयार पारेको कार्यक्रममा परीक्षणमा नआएका संक्रमितका लागि लक्षित कार्यक्रम तयार पारिएको छ ।

नेपालमा एचआइभी संक्रमितलाई हेलाको दृष्टिकोणले हेर्ने, विभिन्न अवसरबाट वञ्चित गर्ने, परिवार तथा साथीहरूबाट पनि नराम्र्रो रूपमा हेर्ने जस्ता कारणले संक्रमित रगत परीक्षण गराउन आउन नसकेको डा. मिश्रले जनाए । उनका अनुसार संक्रमितको रगत परीक्षणपछि उसका सम्पूर्ण कुरा गोप्य राख्ने गरिन्छ, तर मानिसमा आफ्नो गोप्यता भंग हुन्छ र सबैले थाहा पाउँछ भन्ने भ्रम रहेकाले रगत परीक्षण गर्न आउँदैनन् । सार्वजनिक रूपमा आएपछि हेपिने डरले पनि रगत परीक्षण गराउन नआएको उनको ठम्याइ छ ।

केन्द्रका अधिकृत अधिकारीका अनुसार विगतमा यौनकर्मी र लागूऔषध सेवन गर्नेमा बढी देखिएको यो रोग अहिले रोजगारका लागि बिदेसिएर फर्किएका तथा उनीहरूका परिवारमा बढी देखिन थालेको छ । ‘विशेषगरी रोजगारका लागि भारततिर गएका र तेस्रो मुलुकबाट फर्किएका ग्रामीण क्षेत्रका मानिसमा पनि यो रोगको संक्रमण देखापरेको छ,’ उनले भने, ‘केही वर्षअघिसम्म एचआइभीवाहकका रूपमा यौनकर्मीलाई मात्र लिने गरिन्थ्यो, तर अहिले लागूऔषध सेवन गर्ने, बिदेसिएर फर्किएका, पुरुषले पुरुषसँगै यौनसम्पर्क गर्ने, संक्रमित आमाबाट जन्मिएका बच्चा पनि यसका वाहक भएका छन् ।’

सन् १९८१ मा अपि|mकामा पहिलोपटक देखापरेको एचआइभी र एड्सले विश्वभरि साढे चार करोडभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष पिरोलेको छ । एसियाली मुलुकमध्ये सबैभन्दा ठूलो महामारी भोगिरहेको भारतमा ५० लाखभन्दा बढी व्यक्ति एचआइभी र एड्सबाट पीडित छन् । केही समयअगाडि अन्तर्राष्ट्रिय गैरसरकारी संस्था फेमिली हेल्थ इन्टरनेसनल -एफएचआई)को एक प्रतिवदेनले काठमाडौँ उपत्यकाभित्र हाल करिब ३५ हजार यौनकर्मी र तीनका ग्राहक ६ लाख भएको जनाएको छ भने स्वास्थ्यका क्षेत्रमै काम गरेको एक संस्थाले सन् २००६ मा गरेको एक सर्वेक्षण्ामा पूर्व-पश्चिम राजमार्गछेउछाउका २२ जिल्लामा यौनकर्मीबीच ४ दशमलव ६ प्रतिशत महिला यौनकर्मीमा एचआइभी भएको देखाएको थियो जुन अहिले बढेको हुन सक्ने विज्ञहरूले बताएका छन् ।

केही समयअघिसम्म यौनकर्मी र तीनका ग्राहकमा संख्यात्मक रूपमा एचआइभी बढी देखिए पनि पछिल्ला वर्षमा बिदेसिएका व्यक्ति तथा तिनका परिवार र सुईबाट लागूऔषध लिनेहरूबीच पनि एचआइभी संक्रमण्ा बढ्दो छ । दुव्र्यसनीहरूको क्षेत्रमा कार्यरत विभिन्न संस्थाका अनुसार अधिराज्यभरि अहिले झन्डै एक लाख लागूपदार्थ प्रयोगकर्ता रहेका छन् । जसमध्ये आधाजसोले सुईबाट लागूपदार्थ लिने गरेका छन् । तीमध्ये अधिकांशलाई एचआइभीको संक्रमणले समातिसकेको हुन सक्ने विज्ञहरूको धारणा रहेको छ । नयाँ सिरिन्ज किन्ने पैसा नभएपछि धेरैले एउटै सिरिन्ज प्रयोग गर्ने हुनाले तिनीहरूमा एचआइभी संक्रमण देखापर्ने गर्छ ।

तथ्यांकमा एचआइभी संक्रमितको संख्या थोरै देखिए पनि नेपालमा संक्रमितको संख्या धेरै रहेको विज्ञहरूले बताएका छन् । ‘सुरुमा एचआइभी संक्रमितलाई गरिने दुव्र्यवहार र उपेक्षाका कारण्ा रगत परीक्षण नगराई बस्ने गरेका थिए । तर, अहिले संक्रमितलाई माया गर्ने तथा प्रोत्साहन गर्ने कार्य बढेकाले बिस्तारै संक्रमितले रगत परीक्षण गराउन थालेका छन्,’ उपाध्यक्ष डा. मिश्रले भने ।

उनका अनुसार पछिल्ला वर्षमा एचआइभीका औषधि आएको तथा एचआइभी संक्रमितलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आएकाले संक्रमितहरू बिस्तारै सार्वजनिक हुन थालेका छन् । उनका अनुसार हाल एचआइभी संक्रमितलाई जीवन लम्ब्याउन एन्टिरेक्ट्रो भाइरल -एआरभी) उपचार कार्यक्रम सुरु गरिसकिएको छ भने अन्य उपचारका कार्यक्रम पनि ल्याइएको छ ।

केन्द्रका अधिकृत अधिकारीका अनुसार एचआइभी संक्रमित व्यक्तिका शरीरमा रोगप्रतिरोधात्मक क्षमता -अम ायगच) दुई सय ५० भन्दा कम भएका व्यक्तिलाई एआरभी सेवा निःशुल्क दिने गरिएको छ । नेपालमा ०६० माघदेखि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट एआरभी सेवा सुरु भएको हो । अहिले अधिराज्यभरि २५ केन्द्र, १० उपककेन्द्र र दुई गैरसरकारी संस्थाका केन्द्रबाट एआरभी सेवा प्रदान गरिएको अधिकारीले जानकारी दिए ।

उनका अनुसार एआरभी सेवा लिएका १० प्रतिशतको मात्र मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार एचआइभी संक्रमितमध्ये १५ प्रतिशतलाई एआरभी औषधिको आवश्यकता पर्छ । नेपालमा भने चार हजार पाँच सय नौले मात्र यस्तो सेवा लिएका छन् । सरकारी तथ्यांकअनुसार यो सेवा देशभरिका १७ हजारभन्दा बढी संक्रमितलाई आवश्यक पर्ने अनुमान गरिए पनि १५ हजार चार सय ४३ मात्रै यसको दायरामा छन् ।

उपाध्यक्ष डा. मिश्रका अनुसार एचआइभी संक्रमितले सन्तुलित खाना खाने गरेमा लामो समयसम्म बाच्न सक्नेछन् । ‘संक्रमितले नियमित रूपमा सन्तुलित खाना खाने र व्यायाम गर्ने हो भने लामो समयसम्म बाँच्न सक्छन्,’ उनले भने, ‘नियमित पोसिलो खाना खाने हो भने निरोगीसरह जीवन जिउन सक्छन् ।’ उनका अनुसार एचआइभी र एड्सबाट संक्रमित भएकामा रोगप्रतिरोधात्मक क्षमता कम हुने भएकाले पोसिलो खानेकुरामा ध्यान दिनुपर्छ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका वरिष्ठ जनस्वास्थ्य अधिकृत डिल्लीरमण अधिकारी पनि यो कुरामा सहमति जनाउँदै भन्छन्, ‘संक्रमितले स्वस्थ र तन्दुरुस्त रहनका लागि नियमित रूपमा हल्का व्यायाम गर्ने, प्रशस्त मात्रामा आराम गर्ने, ध्यान गर्ने, तथा पोषण्ायुक्त खाना खाने साथै बिहानको स्वच्छ हावामा हिँडडुल गर्ने बानी गरेमा आयु लामो हुनेछ ।’

के हो एआरटी ?

एआरटी अर्थात् एन्टी रिट्रोलभाइरल थेरापीले एचआइभीका बिरामीलाई अत्यन्तै फाइदाजनक हुन्छ । यसले संक्रमित अरूलाई एचआइभिको संक्रमण कम गराउनुका साथै शरीरको रोग प्रतिरोधात्मक शक्ति तीव्र गतिमा कम हुने क्रमलाई पनि कम गराउने गर्छ । यो थेरापीबाट एचआइभी एड्सका रोगीले लामो समयसम्म स्वस्थ जीवन बिताउन सक्नेछन् । चिकित्सकहरूका अनुसार यो थेरापी लिएकामध्ये १० प्रतिशतको मृत्यु हुनेछ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांकअनुसार विश्वभर ६ करोड ५० लाख मानिसलाई एनटी रिट्रोभाइरल थेरापीको आवश्यकता रहेको छ ।

एचआइभी र एड्स के हो ?

अधिकांश मानिसमा एचआइभी तथा एड्सलाई एउटै रोग हो भन्ने भ्रम रहेको पाइन्छ । तर, एचआइभी र एड्स फरक कुरा हो । एचआइभी भनेको सुरुवाती अवस्था हो । यसलाई ह्युमन इम्युनो डिफिसियन्सी भाइरस अर्थात् शरीरको प्रतिरक्षा प्रण्ााली कमजोर बनाउने जीवाणुले आक्रमण गर्नु हो । एचआइभीको संक्रमण बिस्तारै बढ्दै जाँदा शरीरको प्रतिरोधात्मक क्षमता कम हुँदै जान्छ । केही समयपछि यसले एड्स अर्थात् एक्वायर्ड इम्युन डिफिसियन्सी सिन्ड्रोमको रूप लिन्छ । यसलाई मानिसको आर्जित प्रतिरक्षा कमजोर भई विभिन्न रोगका लक्षण देखापर्ने रोग भनिन्छ । यस रोगका ’boutमा छिट्टै थाहा हुँदैन, किनकि यसको कुनै विशेष लक्षण हुँदैन ।

तर, बिस्तारै यस रोगले गर्दा शरीरको प्रतिरोधात्मक क्षमता कम हुँदै गएपछि कुनै पनि रोग सन्चो नहुने हुन्छ । त्यतिवेला मात्र यो रोगका ’boutमा थाहा हुन्छ । सामान्य रूपमा भन्नुपर्दा एड्स भनेको एउटा यस्तो अवस्था हो, जसमा एचआइभी संक्रमित व्यक्तिको प्रतिरक्षा शक्तिमा कमी भएर विभिन्न रोगले सजिलैसँग आक्रमण गर्छन् । फलस्वरूप संक्रमित व्यक्तिमा विभिन्न रोगका लक्षण देखापर्छन् ।

एचआइभी सर्ने माध्यम

  • असुरक्षित यौनसम्पर्कबाट
  • एचआइभी संक्रमित रगत, रगतबाट बनेका पदार्थ तथा अंगहरु लिँदा
  • सुई तथा सिरिन्जको साझा प्रयोगबाट
  • संक्रमित आमाबाट बच्चामा

 यसरी सर्दैन

  • लामखुट्टेले टोकेर
  • एउटै भाँडामा खाना खाँदा
  • हाछ्यूँ गर्दा, खोक्दा
  • एउटै चर्पी प्रयोग गर्दा
  • एउटै लुगाफाटो प्रयोग गर्दा
  • चुम्बन गर्दा
  • सँगै पौडी खेल्दा
  • बिरामीको स्याहार-सुसार गर्दा
  • परिवारमा सँगै बस्दा

 बच्ने उपाय

  • सुरक्षित यौन व्यवहार अपनाउने
  • सधैँ सही तरिकाले कन्डमको प्रयोग गरी यौनसम्पर्क राख्ने
  • सुई तथा छाला छेड्ने औजार नयाँ मात्र प्रयोग गर्ने वा निर्मलीकरण गरेर प्रयोग गर्ने
  • एचआइभी संक्रमित महिला गर्भवती नहुने
  • यौनरोगको लक्षण देखापरेमा तुरुन्त उपचार गर्ने
  • आफ्नो यौनसाथीलाई पनि उपचार गराउने
  • अंग प्रत्यारोपण गर्नुपरेमा सम्बन्धित व्यक्तिलाई संक्रमण भए/नभएको कुरामा विशेष ध्यान पुर्‍याउने
  • रगत दिँदा सो रगत संक्रमण भए/नभएको पक्का गर्ने

Posted by: Raju Gurung                                                             Source: Naya Patrika

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.