नेपालगन्ज, ५ मंसिर
बाँकेको बैजापुर–२, बेलासपुरका लौटन चौधरी विदेश जान निकै छटपटाइरहेका थिए । घरमा बस्दा केही काम नभएर बेरोजगारी जीवन बिताइरहेका उनलाई मानसिक तनाव पनि उत्तिक थियो । चारैतिर भौंतारिए पनि रोजगारीको कुनै मेसो पाएका थिएनन् । त्यसपछि उनले विदेश जाने नधो गरे । त्यसपछि लौटनले योजना बनाए आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने र कस्सिए कुखुरापालन गर्न । अहिले उनको घरमै कुखुरापालन व्यवसाय फस्टाएको छ । उनी छोटो अवधिमै कुखुरापालन व्यवसायबाट ३ लाख आम्दानी गर्न सफल पनि भए ।
कुखुरापालनबाट उनले मनग्य आम्दानी गरेका छन् । बिहानदेखि बेलुकासम्म लौटन कुखुराको स्याहारसुसार गर्नमै तल्लीन हुन्छन् । उनी कुखुराको खोरमै सुत्ने र रातमा पटक–पटक दाना हाल्न उठ्ने गरेको बताउँछन् ।
“नसोचेको कुरा पनि हुँदोरहेछ । म विदेश जान लागेको मान्छे आज कुखुरापालन गर्न पुगें,” लौटनले भने, “कुखुरा व्यवसाय यति फस्टाउला भन्ने सोचेको पनि थिएन । राम्रो चलेको छ । म आज निकै खुसी छु ।”
बाँकेको राप्तीपारि दिनेश फ्रेस हाउस भनेपछि नचिन्ने सायद कमै छन् । गत वैशाखदेखि कुखुरापालन सुरु गरेका लौटनले हालसम्म ३ लाख मूल्यबराबरको कुखुरा बिक्री गरिसकेका छन् । “यति बिक्री हुन्छ कि म दिनभरि कहीँ पनि जान पाउँदिन । ‘सबैले तपाईंलाई त यहीँं विदेश भयो’ भन्छन्,” लौटनले प्रसन्न मुद्रामा भने ।
उनले एकपटकमा ४ सय कुखुराका चल्ला राख्ने गरेको बताउँदै ती चल्ला ३० दिनमा बिक्रीका लागि तयार हुने जानकारी गराए । “एक किलो ५० ग्राम तौलको भएपछि बिक्री सुरु हुन्छ । तीन–चार किलो पुग्दासम्म बिक्री भइरहन्छ,” उनले भने ।
उनी बेरोजगार सबैलाई भन्न चाहन्छन्, “हामी अरूको देशमा गएर दुःख गर्नुभन्दा आफ्नै देशमा केही गरौं, गर्न सके यहीँ रहेछ पैसा, विदेश जानुपर्दैन ।”
लौटनमात्र होइन बैजापुर–१, नवलपुरका नेगबहादुर विक पनि कुखुरापालन व्यवसायप्रति आकर्षित भएका छन् । हरेक वर्ष रोजगारीका लागि मुग्लान जाने गरेका उनी एक वर्षदेखि घरमै कुखुरा व्यवसाय गरेर बसिरहेका छन् । उनले भने, “थोरै भए पनि पैसा आइरहेको छ, अर्काको देशमा गएर दुःख गर्नुपरेको छैन ।”
एक–अर्काको सिको गरेर यस गाविसमा करिब आधा दर्जन कुखुरा फर्म खुलेका छन् । यी कुखुरा व्यवसायी धेरथोर जे भए पनि आम्दानी भइरहेको बताउँछन् ।
Posted by: Raju Gurung