पालुङटार विस्तारित बैठक: नीति र नेतृत्वको लडाइँ


भोजराज भाट,

काठमाडौं, मंसिर ५- विस्तारित बैठक हुन एक साताअघि एकीकृत नेकपा माओवादीका महासचिव रामबहादुर थापाको बौद्धस्थित डेरामा पार्टीका शीर्षस्थ नेताहरूबीच जुनखाले रस्साकस्सी देखियो, त्यस्तो अवस्था पार्टीमा कहिलै आएको थिएन।

आसन्न विस्तारित बैठकमा ‘मिलेर जाऊँ’ भनेर अध्यक्ष पुष्पकमल दाहालले उपाध्यक्ष मोहन वैद्य र स्थायी समिति सदस्य नेत्रविक्रम चन्दलाई थापाको डेरामा बोलाएका थिए। करिब तीन घण्टाको बहसले उनीहरूमा मिल्ने कुनै लक्षण देखिएन, उल्टै एकअर्काबीच भएको ‘शाब्दिक वाण’ प्रहारले झनै दुरी बढायो।

दाहालले वैद्य र बाबुराम भट्टराई पक्ष मिलाएर पनि ४० प्रतिशत बढी नहुने चुनौति दिएका थिए। वैद्य पनि के कम, उनले भनिहाले, ‘जनमुक्ति सेनाभित्र विचारमा अंकुश लगाएर ६० प्रतिशत पुर्‍याउनुभयो होला तर संगठनमा तपाई ४० प्रतिशतभन्दा कम हुनुहुन्छ।’ दाहालको मिलेर जाऊँ भन्ने प्रस्ताव राख्दा वैद्यले ठाडै अस्वीकार गरे।

‘तपाईंको विचार बाबुरामजीसँग मिल्छ, पहिले विचारमा प्रष्ट भएर आउनुहोस्, नभए हामीसँग मिल्ने कुनै छाँटकाँट छैन।’ वैद्यको भनाई नसिद्धिदै महासचिव थापाले दाहालको समर्थनमा बोले, ‘क्रान्तिका लागि बहुमत र अल्पमत जरूरत पर्दैन। ०५१ सालमा अल्पमत भएर पनि क्रान्तिमा होमिएका थियौं। क्रान्ति नै गर्ने हो भने विस्तारित बैठकमा कार्यकर्ताको समर्थन जुटाउनुहोस्।’

विस्तारित बैठकमा दाहाल र वैद्यको कार्यदिशा एउटै बनाएर लाँदा राम्रो सन्देश जाने थापाको तर्क थियो। वैद्यले दाहालको कार्यशैली’bout टिकाटिप्पणी गरे। दाहालले तत्काल प्रतिक्रिया दिए, ‘आखिर ०४५ सालमा तपाईं (वैद्य) ले नसकेरै मलाई नेतृत्व दिनुभएको हो। लगातार २० वर्षसम्म मलाई ठीक ठान्नुभयो, अहिले कसरी बेठीक भएँ?’

‘क्रान्तिलाई धोका दिनका लागि मैले नेतृत्व सुम्पेको होइन,’ वैद्यले दाहाललाई तुरून्तै वचन फर्काए, ‘मैले त आफूभन्दा समक्ष युवा, जसले क्रान्तिलाई सही दिशामा डोर्‍याउँछ भनेर नेतृत्व दिएको हुँ तर असक्षम नै भएर होइन।’ यस्तै सैद्धान्तिक वादप्रतिवाद हुँदै वैद्य-दाहालबीचको सम्भावित एकता तुहिएको थियो।

दाहाललाई भेटेलगत्तै वैद्यले आफूनिकट नेता तथा कार्यकर्तामाझ दाहालसँगको भलाकुसारी सुनाएका थिए। उनले यतिसम्म भने, ‘बरू बाबुरामजी नै क्लियर लाग्यो। कमसेकम हामीहरू भेट्दा पनि आखिर तपाई र मेरै कार्यदिशाबीचको लडाँइ हो भन्छौं। उहाँ पनि हाँस्नुहुन्छ, म पनि हाँस्छु। अध्यक्षचाहिं यस’bout लुक्नु भएको छ। उहाँको कुरैमा मात्र क्रान्ति हुन्छ तर व्यवहारमा पूरै सारसंग्रहवादी र मध्यपन्थी धार देखिनुहुन्छ।’

वैद्यले ‘एकता’ को प्रस्ताव अस्वीकार गरेपछि दाहालले छुट्टै दस्तावेज लेख्ने ‘मुड’ बनाए। वैद्य र भट्टराईले भने केन्द्रीय समितिको बैठकले तीन वटै प्रस्ताव विस्तारित बैठकमा लाने निर्णय भइसकेकोले फेरि निर्णय उल्टाउन नपाइने अडान लिए। अध्यक्षले विस्तारित बैठकमा नयाँ दस्तावेज ल्याए त्यसको फरकमत दर्ज गर्ने वैद्य र भट्टराईले धम्की दिएका थिए। वैद्यले टेलिफोन गरेरै भने, ‘तपाई (अध्यक्ष) ले दस्तावेज ल्याउन सक्नुहुन्छ तर विस्तारित बैठकपछि मात्र।’ नभन्दै विस्तारित बैठकमा अध्यक्ष दाहाल, उपाध्यक्षद्वय वैद्य र भट्टराईद्वारा प्रस्तुत तीन वटै दस्तावेजमा छलफल हुने भएको छ।

गुरू चेलाको भिडन्त
माओवादीमा एकथरी नेताको भनाइ छ, वैद्य र चन्द्रप्रकाश गजुरेललगायत दर्जनबढी ‘हार्डलाईनर’ भारतले पक्राउ नगरेको भए पार्टीमा लोकतान्त्रिक गणतन्त्रको ‘चुनवाङ लाइन’ पारित नै हुँदैनथ्यो। उनीहरूको आंशका छ, मुलुकमा भीषण लडाइँ चर्किरहेका बेला माओवादीभित्रका हार्डलाइनर भनी चिनिएका नेताहरू भारतमा पक्राऊ पर्नु र उनीहरू जेलमै रहँदा हेडक्वार्टर (दाहाल र भट्टराई) ले वृहत शान्तिसम्झौंतामार्फत् जनयुद्धको अन्त्य भएको घोषणा गर्नु संयोग मात्र थिएन। वृहतशान्ति सम्झौंतामा हस्ताक्षर र लडाकुलाई अस्थायी शिविरमा राखेपछि मात्र वैद्य र गजुरेलहरू भारतीय जेलबाट रिहा हुनुले सो शंकामा थप बल पुग्यो।

वैद्य र गजुरेल जेलबाट रिहा भएको डेढ महिनापछि चितवनमा माओवादीको केन्द्रीय प्रशिक्षण चल्यो। ‘वास्तवमा जेलबाट छुटेर आइसकेपछि के भइरहेको छ भन्ने अत्तोपत्तो नै पाइनँ, पुरानै विश्वासका आधारमा चितवन प्रशिक्षणमा मैले अध्यक्षको पक्षमा बोलिदिएँ,’ वैद्य आफूनिकस्थ कार्यकर्ता प्रष्ट्याउने गर्छन्, ‘एक दिन प्रभाकर (जनार्दन शर्मा) मकहाँ आए, प्रचण्डले आफूलाई चाङ थावो (चिनियाँ कम्युनिष्ट आन्दोलनका अराजवादी कमाण्डर) को आरोप लगाएको गुनासो गरे, विस्तारै अरूले पनि कुरा खोल्दै गए। चिज त अर्कै ढंगले बढिरहेको रहेछ।’

०६४ साउनको पाँचौ विस्तारित बैठकमा दाहालले ल्याएको प्रतिवेदन हलले ठाडै अस्वीकार गर्‍यो, जसमा वैद्य पक्षधरको ठूलै भूमिका थियो। दाहालको प्रतिवेदनमा जनयुद्ध शब्द नपरेको, शहीदलाई सम्बोधनसमेत नगरेको र भारतप्रति नरम रहेको आरोप लगाइ प्रतिवेदन सच्चाउन हेडक्वार्टरलाई निर्देशन दियो। अध्यक्षको प्रतिवेदनलाई कार्यकर्ता पंक्तिले चुनौति दिएको त्यो नै पहिलो घटना हो। तर दाहालले पाँचौ विस्तारित बैठकद्वारा सुझाव दिएको प्रतिवेदन नेता-कार्यकर्तामाझ कहिलै सार्वजनिक गरेनन्।

कुनै बेला गुरू-चेलाको सम्बन्ध रहेको दाहाल र वैद्यबीच ०६५ मंसिरको खरिपाटी भेलामा निकै घम्साघम्सी पर्‍यो। माओवादी पार्टीको इतिहासमा दाहालविरुद्ध लिखितरुपमा फरक दस्तावेज ल्याएको त्यो नै पहिलोपटक थियो। त्यसअघि बाबुरामले अध्यक्षको विरुद्ध ४ र १३ बुँदे फरक मत राखेका थिए। यद्यपि त्यो दस्तावेजका रुपमा थिएन। खरिपार्टी भेलामा तत्कालिन प्रधानमन्त्री रहेका दाहालले वैद्य पक्षधरलाई सेना समायोजन विरोधी तत्वको रुपमा चित्रित गरेका थिए।

०५५ को चौथो विस्तारित बैठकमा ‘प्रचण्ड’ भन्ने नाम स्थापित गर्न हरेक केन्द्रीय समितिले आफ्नो लेखमा समेत पुष्पकमल दाहालको अभिव्यक्तिलाई उद्धरण गर्नुपर्ने प्रस्ताव तिनै वैद्यले राखेका थिए। खरिपाटी भेलामा वैद्यले दाहालको उद्धरण प्रयोगको प्रस्ताव समयक्रममा अफाप सिद्ध भएको तित्ततासमेत पोखे। खरिपाटी भेलामा दाहाल आफू कमजोर हुने स्थिति देखेपछि उनले वैद्य पक्षको अधिकांश पक्ष समेटी ‘जनताको संघीय लोकतान्त्रिक गणतन्त्र’ नामक कार्यदिशा पारित गरे। शब्दमा जेसुकै लेपन गरिए पनि खरिपाटीले विद्रोहमा जाने स्पष्ट किटानी गरेको थियो। दाहालको विद्रोह नीति नभएकै कारण उक्त दस्तावेज अनुसारको संगठन र नयाँ कार्ययोजना नआएको वैद्य पक्षधरको आरोप छ।

खरिपार्टी भेलापछि ०६६ साउनमा माओवादीको एक महिना लामो केन्द्रीय समितिकेा बैठक बस्यो, जसलाई माओवादीले ‘असाधारण बैठक’ नामाकरण दिएका छन्। यो त्यही बैठक हो, जसले खरिपार्टी भेलाको निर्देष अनुरूप विद्रोहको स्पष्ट खाका तयार पारेको थियो। त्यसको पाँच महिनापछिको स्थायी समिति बैठकले मुलुकभर आमहडतालमार्फत् विद्रोहमा जाने तयारी गर्न विभिन्न नेताहरूलाई जिम्मेवारी बाँडफाँडको जिम्मेवारी दिएको थियो। त्यसअनुरूप माओवादीले चैत्र २४ को जनआन्दोलनको दिनमा मुलकभर आमसभा गरी ‘पहिलो धक्का’ दिए। मे १ को मजदुर दिवसमा टुंिडखेलमा भब्य आमसभा गरी थालेकेा आमहडताल (दोस्रो धक्का) ६ दिनमै स्थगित गरियो। त्यसपछि जेठ १४ को आसपास हिंसात्मक हुनसक्ने अनुमान गरिएको आन्दोलन कार्यक्रम नल्याइ दाहालले उल्टै संविधानसभाको एक वर्षे म्याद थप्नेतिर जोड दिए। आफू प्रधानमन्त्री बन्ने दाउमा ‘तेस्रो धक्का’ का योजना ‘स्याबोटेज’ गरेको वैद्यले आफ्नो दस्तावेजमा उल्लेख गरेका छन्।

गत असारको पहिलोसाता माओवादीको केन्द्रीय समितिको बैठक चलिरहँदा माओवादी उपाध्यक्षत्रय वैद्य, भट्टराई र नारायणकाजी श्रेष्ठलगायतको समूह गोंगबुस्थित हितमान शाक्यको घरमा ‘डिनर’ खाएका थिए। त्यहाँ दाहाल थिएनन्। बैठक सिद्धिएको केही घण्टामै नारायणकाजीले डिनरमा चलेको अनौपचारिक छलफल दाहाललाई सुनाइदिएपछि पार्टीमा ठूलै बबण्डर मच्चियो। संयोगवश, गंगबु डिनरको भोलिपल्ट केन्द्रीय समितिमा बोल्ने क्रममा वैद्य र भट्टराईको एउटै स्वर देखिएपछि दाहालले आफूविरुद्ध पार्टीभित्रै षड्यन्त्र भएको खुलसा गरे। माईला लामाको क्यासेट विमोचनक्रममा उनले पार्टीभित्र र बाहिरबाट घेराबन्दीमा परेको अभिव्यक्ति दिए।

वैद्यका भनाइमा गंगबु डिनरमा दाहालविरुद्ध उनले भनेजस्तो कुनै षडयन्त्र भएको थिएन। उनका विचारमा, ‘लामो समयसम्म पार्टीभित्र रहँदा पनि म र बाबुरामजीको बीचमा जहिले पनि अध्यक्ष रहनुभयो, उहाँले हरेकसँग छुट्टाछुट्टै डिनर खान हुने, हामीले एउटै पार्टीका नेता एक दिन सँगै खाना खाऊ भनेका बसेका थियौं, त्यहाँ सबैले पार्टी विग्रियो भन्ने चिन्ता व्यक्त गरे। अध्यक्षको कार्यशैली नमिलेको आलोचनामात्र भएको हो तर उहाँले अर्कै ढंगले बुझ्नुभयो।’

नीति र नेतृत्वको लडाइँ
पालुङटार विस्तारित बैठकसम्म आइपुग्दा दाहाल कमजोर भएका पक्कै हुन्। शान्तिप्रक्रियापछि माओवादीइतरका शक्तिले दाहालको नानाथरि आलोचना गर्ने गरे पनि पार्टी र लडाकुभित्र उनको एकछत्र ‘राज’ थियो। कहिले वैद्य र कहिले भट्टराईलाई नजिक बनाउँदै पार्टीको दुबै धारको संयोजक गर्दै आएका दाहालको समीकरण सोचेभन्दा विपरित छ। किनकि, दाहालका दाहिने हात मानिएका भट्टराई र बायाँ हात मानिएका वैद्य दुबैले उनीविरुद्ध फरकमत दर्ज गरिसकेका छन्। भट्टराई वा वैद्य नभएरै होला, यसपटक दाहालको दस्तावेजमा सैद्धान्तिक र दार्शनिक पाटो कमजोर भएको र टिपोटको रुपमा मात्र प्रस्ताव ल्याएको आलोचना गरिएको छ।

वैद्यले धेरैपटक आफ्नो लेख, अन्तर्वार्तामा दोहोर्‍याएका छन्, नेतृत्व भनेको दाहाल नै हुन्। तर अहिले वैद्यले पुरानो अभिव्यक्ति सच्चाउन थालेका छन्। उनले आफ्ना कार्यकर्तामाझ भन्ने गरेका छन्, ‘हिजो मोहनविक्रम सिंह र निर्मल लामालाई हामीले नै माओ र चाओको संज्ञा दिएका हौं। पुष्पकमल दाहाललाई प्रचण्ड बनाउने पनि हामी नै हौं। नेतृत्व भनेको आन्दोलनबाट स्थापित हुँदै जाने कुरा हो।’

यद्यपि, भट्टराईले पनि खुलेयाम दाहालको पार्टी नेतृत्वलाई चुनौति दिएका छैनन्। प्रधानमन्त्रीको निर्वाचनताका भट्टराईले आफूलाई उम्मेद्ववारको रूपमा दाबी गरेका थिए। त्यो एक हदसम्म दाहालको नेतृत्वमाथि भट्टराईले दिएको ‘थ्रेट’ हो। त्यही समीकरण बुझेरै दाहालले ‘सके आफू नसके पार्टीबाहिरको मान्छेलाई’ प्रधानमन्त्री बनाउने अभिव्यक्ति दिदै आएका हुन्।

माओवादीको अन्तरसंघर्ष हेर्दा अहिलेसम्म दाहाल र भट्टराईबीच आधा दर्जनबढी चरमविवाद भइसकेको छ। ०६१ साउनको फुन्टिवाङ बैठकमा भट्टराईले फरक मत राख्दा दाहालले उनलाई कारबाहीसमेत गरेका थिए। द्वन्द्व थालेयता भट्टराई पक्षमा खुलेयाम बोल्ने समूह निकै सानो थियो। अहिले उनको पक्षमा खुलेयाम प्रचार गर्ने केन्द्रीय सदस्यको संख्या एक दर्जन बढी छ। उनलाई मौन समर्थन दिनेको संख्या पनि त्यही हाराहारीमा छ।

पार्टीभित्र निरन्तर संघर्षमा रहेका र आदर्श व्यक्तिको छवी बनाउन सफल वैद्यको पार्टी संगठनभित्र भट्टराई र दाहालको तुलनामा राम्रो पकड देखिन्छ। यस आधारमा विस्तारित बैठकमा दाहालले सजिलै बहुमत ल्याउन निकै हम्मे पर्नेछ। वैद्य र भट्टराईले जसरी आफ्ना दस्तावेजमा संयुक्त भाव आउनेगरी हेडक्वार्टरलाई बढी दोषी देखाएका छन्, त्यही आधारमा बैठकमा समीकरण बन्यो भने दाहालले आफ्नो लाइन पारित गराउन असम्भव हुने निश्चित छ।

Posted by : Narayan Nepal                                                      Source: Nagariknews

One response to “पालुङटार विस्तारित बैठक: नीति र नेतृत्वको लडाइँ

  1. Oah Revolution leaders please don’t fight each other its very bad for you and good tips for NCP or UML that why don’t fight each other, other-ways enemy will made troublesome anytime. I am not Maoist I am free minded people in-this world but I like Maoist leaders both & you Intelligently political mind Dr Babu Ram Bhattarai and critically political mind Prachandra Puspa Kamal Dahal both & you great because in politics field both & you perfect God bless you and whole & yours family I mean your party.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.