अर्थमन्त्री र सभासदमाथि माओवादी दुर्व्यवहार
काठमाडौं, मंसिर ३- अर्थमन्त्री सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार गर्दै माओवादीले संसदमा बजेट पेश गर्न अवरोध गरेका छन्। बजेट प्रस्तुत गर्न रोष्टमतर्फ अघि बढेका अर्थमन्त्री पाण्डेको बजेट ब्रिफकेश थुतेर माओवादी सभासदले बजेट पेश गर्न रोकेका हुन्। माओवादी दुर्व्यवहारबाट अर्थमन्त्री सुरेन्द्र पाण्डे संसदमै लडेका थिए भने अरु केही सरकार पक्षीय सभासदलाई हातपात गरेका छन्।
माओवादी सभासदको ठेलमठेलका कारण अर्थमन्त्री पाण्डे लड्न पुगेका थिए। माओवादी अवरोधपछि सभामुख सुवास नेम्वाङले संसदको बैठक स्थगित गरेका छन्। यसअघि सरकारले माओवादी विरोधकाबीच बजेट ल्याउने निर्णय गरेको थियो। मन्त्रिपरिषदको बैठकले पुरानै तरिकाबाट संविधानको धारा ९३ अनुसार बजेट ल्याउने निर्णय गरेको थियो।
माओवादीसँग बजेट ल्याउने सहमति यसअघि नै भइसकेको भन्दै सरकारले शुक्रबार राति बजेट पेश गर्ने कोसिस गरेको थियो। संसद भवनमा बसेको मन्त्रिपरिषद् बैठकपछि गृहमन्त्री रावलले मिडियाकर्मीसँग भनेका थिए- ‘बजेट ल्याउने यसअघि नै सहमति भइसकेको हो।’
यसअघि शुक्रबार परिषद बैठकले बैठकले आर्थिक वर्ष २०६७ / ६८ को बजेट अनुमोदन गरेको थियो। आकस्मिक बैठकले माओवादी विरोधकाबीच बजेट ल्याउने निर्णय गरेको थियो। संविधानसभा भवनमै बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको थियो।
मन्त्रिपरिषदको बैठकले पुरानै तरिकाबाट संविधानको धारा ९३ अनुसार बजेट ल्याउने निर्णय गरेको भन्दै माओवादीले त्यसप्रति चर्को विरोध गरेको थियो।
यसअघि संविधान संशोधनका लागि राष्ट्रपतिबाट बाधा अड्काउ फुकाएर बजेट ल्याउने विषयमा माओवादीले विरोध गरेपछि सरकारले धारा ९३ अनुसार बजेट ल्याउने निर्णय गरेको थियो। धारा ९३ अनुसार पूर्ण बजेट ल्याउन लागेर सरकाले ब्लाकमेलिङ गरेको भन्दै माओवादी नेताहरुले संसद भवन छाडेका थिए। संसद भवन बाहिर मिडियाकर्मीसँग कुरा गर्दै माओवादी स्थायी समिति सदस्य देव गुरुङले जबरजस्ती बजेट ल्याए संसद् घेर्ने चेतावनी दिएका थिए।
Posted by : Narayan Nepal Source : Nagariknews