केशव सावद कञ्चनपुर,१ मंसिर
राष्ट्रिय पर्वका रुपमा मनाईन लागेको नेपाल पर्यटन वर्ष २०११ को नेपाल पर्यटन बोर्डले कञ्चनपुरबाट ६० दिने उल्टो गिन्ती काउन्ट डाउन प्रकृया सुरु गरेको छ । पश्चिमी सिमानाका गड्डाचौकीमा मँगलवार सहभागिता मुलक कार्यक्रमको आयोजना गरेर बोर्डले उल्टो गिन्ती सुरु गरेको हो । कार्यक्रममा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव तथा कार्यक्रम कार्यन्वयन समिती नेपाल पर्यटन वर्ष २०११ का सँयोजक किशोर थापाले तीन लाख पर्यटकहरुलाई स्थल मार्गबाट नेपाल भित्र्याउने लक्ष्य अनुरुप गड्डाचौकीबाट काउन्ट डाउन सुरु गरिएको जानकारी दिनुभयो । उहाँले ६० दिनको अवधीमा आ–आफ्नो क्षेत्रलाई सफा सुग्घर राख्न सवैलाई आग्रह गर्नुभयो । सरकारले यस वर्ष १० हजार पर्यटकहरु नेपाल भित्र्याउने लक्ष्य लिएको छ । यसैविच पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव थापाले एक दशक देखि बन्द रहेको कञ्चनपुरको मझगाउँ एयरपोर्ट सञ्चालनका लागि मन्त्रालयमा पहल सुरु गरिएको जानकारी दिनुभएको छ । उहाँले मझगाउँ एयरपोर्ट सञ्चालनका लागि अध्ययन गर्न मन्त्रालयका प्राविधिकहरु लाईपनि सँगै ल्याएर आएको बताउनुभयो । त्यस्तै उहाँले कैलालीको गेटास्थीत एयरपोर्टलाई सरकारले अन्तराष्ट्रिय स्तरको एयरपोर्ट बनाउने लक्ष्य लिएकाले सुदुरपश्चिमले पर्यटन प्रवर्धनमा चाँडै फड्को मार्ने आश्वासन दिनुएको छ ।
Posted by: Raju Gurung