पालुङटारमा माओवादीले तीन करोड खर्च गर्दै


काठमाडौं, २४ कात्तिक, माओवादीले गोरखाको पालुङटार गाविसमा हुने छैटौँ विस्तारित बैठक सम्पन्न गर्न करिब तीन करोड खर्च हुने अनुमान गरेको छ । बैठकमा खाना र खाजामा मात्र एक करोड रुपैयाँ खर्च हुने भएको छ । पालुङटार गाविस -८ तान्द्रुङटारमा ५ मंसिरदेखि माओवादी विस्तारित बैठक सुरु हुँदै छ । स्रोतका अनुसार माओवादीले बैठकका हरेक सहभागीबाट सहभागिता र ‘मेस’ खर्च गरी एक हजार उठाउने तयारी गरेको छ । बैठकमा करिब ६ हजार नेता सहभागी हुने माओवादीले जनाएको छ । उनीहरूबाट करिब ६० लाख रुपैयाँ जम्मा हुनेछ ।

बैठकस्थल तयारी, बैठकमा आवश्यक सामग्री खरिद, व्यवस्थापनमा खटेका नेता तथा कार्यकर्ताका लागि हुने खर्चका लागि सहभागीबाट उठेको रकमबाहेक पार्टी-कोष र अन्य सहयोगबाट बाँकी रकम जुटाइने माओवादीका एक स्थायी समिति सदस्यले बताए । उनले कसैसँग चन्दा भने नउठाएको दाबी गर्दै भने, चन्दा उठाएका छैनौँ, पार्टी-कोष र केही ठाउँबाट हुने सहयोगबाट खर्च जुटाइनेछ ।

विस्तारित बैठकका सहभागीलाई खाना र खाजा खुवाउनका लागि चितवनको नारायणगढस्थित संगम टेन्ट हाउसलाई मेसको जिम्मा दिइएको माओवादी केन्द्रीय सदस्य तथा मूल व्यवस्थापन समितिका सदस्य हरि अधिकारीले जानकारी दिए । खानामा मात्र करिब एक करोड खर्च हुनेछ । टेन्ट हाउसलाई प्रतिव्यक्ति प्रतिदिन दुई सय रुपैयाँका दरले मेसखर्च बुझाइने माओवादी स्रोतले जनाएको छ । केन्द्रीय सदस्य अधिकारीका अनुसार ४४ वटा क्याटरिङ र १४ वटा भान्सा राखेर खाना र खाजा उपलब्ध गराउन टेन्ट हाउससँग सहमति भइसकेको छ । यसअघि पाँचौँ विस्तारित बैठक र खरिपाटी भेलामा भने वाइसिएलले मेसको जिम्मा पाएको थियो ।

माओवादीले सहभागी कार्यकर्तालाई आवासको व्यवस्था गर्न पालुङटार र आसपासका गाउँलेलाई गुहारेको छ । बैठक तयारीका क्रममा आसपासका गाउँका घरधनीलाई आवास उपलब्ध गराइदिन अनुरोध गरिएको छ । नेता अधिकारीले भने पालुङटार बजार वा बाह्रपिर्खेमा नेता तथा कार्यकर्तालाई राख्ने तयारी भइरहेको तर अन्तिम निर्णय नभएको जानकारी दिए । माओवादीले कार्यकर्ताहरूलाई कम्बल वा स्लिपिङब्याग लिएर आउन निर्देशन दिएको छ ।

तान्दु्रङटारमा बैठकस्थलको तयारी

माओवादीले विस्तारित बैठकस्थलको तयारी तीव्र पारेको छ । करिब एक महिनाअघि प्रारम्भिक तयारी थालेको माओवादीले भौतिक संरचना निर्माणमा तीव्रता दिएको हो । विस्तारित बैठकस्थल तयारीमा रहेका बैठक व्यवस्थापन समिति सदस्य अधिकारीले तयारी केही दिनमै सकिने जानकारी दिए । ‘हामीले बैठकका लागि चाहिने भौतिक पूर्वाधार निर्माणको काम ७० प्रतिशत सकेका छौँ, केही दिनमा सबै सकिन्छ,’ उनले भने, ‘कात्तिक २८ गतेकै लागि तयारी गर्नेगरी काम गरेका थियौँ । तर, बैठक केही दिन सरेको छ, त्यसअगाडि नै भौतिक पूर्वाधार निर्माण सक्नेछौँ ।’ यसअघि तीनपटकसम्म माओवादीले विस्तारित बैठकको मिति सारेको थियो ।

माओवादीले विस्तारित बैठक सम्पन्न गर्न महासचिव रामबहादुर थापा बादलको संयोजकत्व र केन्द्रीय ब्युरो इन्चार्ज टोपबहादुर रायमाझीको सहसंयोजकत्वमा मूल व्यवस्थापन समिति बनाएको छ । समितिमा तमुवान, ताम्सालिङ र नेवाः राज्य समितिका इन्चार्जहरू क्रमशः हितराज पाण्डे, अग्निप्रसाद सापकोटा, हितमान शाक्य, पोलिटब्युरो सदस्यहरू नन्दकिशोर पुन, कुलबहादुर केसी, शक्ति बस्नेत र केन्द्रीय सदस्य महेश्वर दाहाल सदस्य छन् ।

मूल व्यवस्थापकीय जिम्मा पाएको तमुवान राज्य समितिले भने तमुवानमा क्रियाशील केन्द्रीय सदस्यहरूको नेतृत्वमा विभिन्न उपसमितिहरू गठन गरेर बैठकस्थल तयारीमा तीव्रता दिएको छ । तयारी’bout जानकारी लिन माओवादी शीर्ष नेताहरू पनि पालुङटार जाने गरेका छन् । बैठकस्थल पृथ्वी राजमार्गको डुम्रे-बेसीसहर सडकखण्डको तुरतुरेबाट ८ किलोमिटर दूरीमा छ ।

बैठकस्थल निर्माणमा झन्डै चार सय वाइसिएल परिचालन गरिएको वाइसिएल तमुवानले जनाएको छ । माओवादी गोरखा समितिले सबै पूर्णकालीन कार्यकर्ता, स्थानीय कार्यकर्ता, समर्थक र शुभचिन्तकलाई तयारीमा परिचालन गरेको छ । भौतिक संरचना निर्माणमा गोरखा, तनहुँ, लमजुङलगायतका जिल्ला समितिका नेता तथा कार्यकर्ता परिचालन गरिएका छन् । नेता अधिकारीका अनुसार बैठकमा समूहगत छलफलका लागि एक सय २० वटा साना-ठूला टहरा निर्माण भइरहेका छन् ।

बैठकका लागि ७० मिटर लम्बाइ र ५० मिटरको चौडाइमा एउटा हल बनाइँदै छ । समूहगत छलफलका लागि ३२ फिट लम्बाइ र १६ फिट चौडाइका ६० वटा टहरा निर्माण गरिने माओवादी पोलिटब्युरो सदस्य एवं व्यवस्थापकीय जिम्मा पाएको तमुवान राज्य समितिका इन्चार्ज हितराज पाण्डेले बताए । उनले अन्य ६० टहरा समूहगत छलफल, आवास, भान्सा, सुरक्षा, सञ्चार, कार्यालयलगायतका लागि प्रयोग हुने जानकारी दिए ।

गोरखा समितिले १८, लमजुङले ६, तनहुँले ६, स्याङ्जाले तीन, पर्वतले तीन, मनाङ र मुस्ताङले तीन, गणतान्त्रिक मञ्चले तीन, कास्कीले १५ तथा तमुवानका अन्य जनवर्गीय संगठन तथा जातीय मोर्चाले आ-आफ्नो जिम्माको टहरा निर्माण गरेको माओवादी व्यवस्थापन समितिले जनाएको छ । बाँस, कटुसका स्याउलाको प्रयोगबाट कार्यालय प्रयोजन, हल र शौचालय निर्माण गरिएको छ ।

कार्यक्रमस्थलनजिकै रहेका तीनवटा मुहानबाट पाइप बिछ्याएर खानेपानीको व्यवस्था गरिने माओवादीले जनाएको छ । जमिनमा प्लास्टिकको प्रयोगबाट आठ मिटर चौडाइ, ११ मिटर लम्बाइ र एक मिटर गहिराइका तीनवटा पानीट्यांकी निर्माण गरिने तयारीमा जुटेको नेता अधिकारीले जानकारी दिए । पुरुषका लागि एक सय र महिलाका लागि पनि करिब त्यति नै संख्यामा शौचालय निर्माण गरिने तयारीमा जुटेका नेताहरूले बताएका छन् । बिजुली आपूर्ति, बाटो निर्माणको काम पनि भइरहेको तयारी समितिले जनाएको छ ।

माओवादीका १३ वटा राज्य समिति छन् । प्रवासमा भारत र अन्य युरोपेली मुलुकमा पनि माओवादी सम्बद्ध संगठन क्रियाशील छन् । विस्तारित बैठकमा केन्द्रीयदेखि राज्य समितिस्तरका नेता तथा कार्यकर्ता सहभागी हुँदै छन् । माओवादीको पाँचौ विस्तारित बैठक ०६४ भदौमा काठमाडौंको बालाजुमा भएको थियो । छैटौँ विस्तारित बैठकले माओवादीको भावी कार्यदिशा, विगतको मूल्यांकन र प्रधान अन्तरविरोधको टुंगो लगाउनेछ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्षद्वय मोहन वैद्य किरण र डा. बाबुराम भट्टराईका छुट्टाछुट्टै प्रतिवेदनमाथि बैठकमा छलफल हुनेछ ।

Posted by: Jay Ale                                  Source: Naya Patrika

One response to “पालुङटारमा माओवादीले तीन करोड खर्च गर्दै

  1. Is it the reality? If so is it good to spend so much money on seminars and meetings in the country where so many people are dying of not getting medicine for common diseases, homelessness and hunger? Let’s use the money for the development of infrastructures which will popularize any parties and their leaders who thinks for the country positively.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.