योगेश खतिवडा,
काठमाडौ, कार्तिक २४ – विवाहको सिजन आउनै लाग्दा सुनको गहना किन्नेका लागि दुःखको खबर । अब तपाईले सुन किन्दा बढी रकम जोहो गर्नुपर्ने भएको छ ।
स्थानीय बजारमा मंगलबार प्रतितोला सुनको मूल्य ४० हजार रुपैयाँ नजिक पुगेको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो । अघिल्लो कारोबार मूल्यभन्दा तोलामा झन्डै १ हजार रुपैयाँले बढेको मूल्य कायम भएको हो ।
मंगलबार प्रतितोला सुनको मूल्य ३९ हजार ६ सय रुपैयाँ (दस ग्रामको ३३ हजार ९ सय ५०) रुपैयाँ पुगेको हो । यसअघि शुक्रबार स्थानीय बजारमा सुनको मूल्य निर्धारण भएको थियो । त्यसबेला प्रतितोला मूल्य ३८ हजार ६ सय ५ -दस ग्रामको ३३ हजार १ सय) रुपैयाँ थियो । मंगलबारको मूल्यले कात्तिक १४ गते कायम भएको रेकर्ड तोडेको हो ।
त्यसबेला प्रतितोला सुनको मूल्य ३८ हजार ८ सय (दस ग्राममा ३३ हजार २ सय ६५) रुपैयाँ कायम भएको थियो ।
बुधबार स्थानीय बजारमा सुनको भाउ अझै बढ्ने भएको छ । मंगलबार बेलुकासम्ममा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अझ बढेकाले बुधबार स्थानीय बजारमा सुन मूल्य तोलामा ४० हजार नाघ्न सक्ने नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले बताए । ‘मंगलबार बेलुका प्रतिआउन्स सुनको मूल्य १ हजार ४ सय २१ डलर पुगेको छ,’ उनले भने, ‘बुधबार बिहान अझ बढ््यो भने स्थानीय बजारमा सुनको मूल्य तोलामा ४० हजार नाघ्न सक्छ ।’
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ उच्च दरले बढेकाले स्थानीय बजार प्रभावित भएको उनको भनाइ छ । अन्तर्राष्ट्रिय बजारका साथै भारतीय बजारमा पनि सुनको मूल्य उकालो लागेकाले स्थानीय बजार प्रभावित भएको हो ।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार बिहानसम्म प्रतिआउन्स सुनको मूल्य १ हजार ४ सय २० अमेरिकी डलर कायम भएको थियो । मंगलबार अघिल्लो दिनको भन्दा आउन्समा २१ डलर बढेर सुनको मूल्य कायम भएको हो ।
यस्तै राष्ट्र बैंकले मंगलबार सुनको कारोबार नगरेकाले स्थानीय बजारमा भारतीय सुन आउँदा मूल्य उकालो लाग्न अझ सघाउने उनले बताए । ‘गत साता केन्द्रीय बैंकले बेचेको सुन तीन दिनमै सकियो,’ उनी थप्छन्, ‘त्यसपछि स्थानीय बजारको माग भारतीय सुनले धानिरहेको छ । जसले स्थानीय मूल्य बढाउन सघाएको हो ।’ राष्ट्र बैंकले दिएको सुनले बजारको माग धान्दा अहिलेको भन्दा तोलामा ५ सय रुपैयाँ सस्तोमा सुन बेच्न सकिने उनी बताउँछन् ।
विवाहको सिजनमा आकासिएको मूल्यका कारण स्थानीय बजारमा सुनको कारोबारमा पनि असर पर्नेर् अध्यक्ष शाक्यले बताए । ‘सामान्यतया विवाहको सिजनमा दैनिक ३० किलोको हाराहारीमा सुन बिक्री हुन्छ,’ शाक्य भन्छन््, ‘यसरी लगातार भाउ बढेर उच्च विन्दुमा पुग्दा सिजनमा पनि कारोबार कम हुन्छ ।’ मूल्य उच्च विन्दुमा पुग्दा उपभोक्ताले पुरानो गहनाको पुनः प्रयोग गर्ने र कम सुन किन्ने उनी बताउँछन् ।
Posted By: Thapa/Bikram Mr Source: Ekantipur