वैदेशिक रोजगारीमा कुवेत जाने कामदारहरूले श्रम स्वीकृति लिने नगरेको कुवेतका लागि नेपाली राजदूत मधुवन पौडेलले बताए । “कुवेतले टुरिस्ट भिसामा कामदारको माग गर्छ,” उनले भने, “त्यसै भिसामा नेपाली कामदारले घरेलु काम गर्दै आएका छन् ।” अधिक कामदार कागजातविहीन अवस्थामा घरेलु काम गर्न बाध्य भएको उनले बताए ।
महिला कामदारलाई घरेलु काममा रोक लगाइएका कारण पनि गैरकानुनी ढंगबाट भारत हुँदै जानेको संख्या बढ्दै गएको राजदूत पौडेलले बताए । “घरेलु कामका लागि जाने कामदारले मागपत्र अनिवार्य प्रमाणीकरण गर्ने व्यवस्था गरिए पनि एजेन्टले गैरकानुनी ढंगबाट हजारांै कामदारलाई कुवेत ल्याएका छन्,” उनले भने, “यहाँ रिक्रुटिङ एजेन्सीले नेपाली एजेन्ट नियुक्त गरी गैरकानुनी ढंगबाट कामदार लिँदै आएको छ । यहाँ एजेन्टको काम गर्ने हजारौं नेपाली छन् ।”
घरेलु कामदारले दुर्घटनामा पर्दा तथा मृत्यु हुँदा क्षतिपूर्ति नपाउने भएकाले दूतावासको प्रयासबाट मागपत्र प्रमाणीकरण गर्नुअघि कामदार माग्नेले अनिबार्य बिमाको व्यवस्था गर्नुपर्ने प्रावधान राखिएको जानकारी उनले दिए । “त्यसबाट घरेलु कामदारहरूलाई दुर्घटना हुँदा औषधि उपचार खर्च र मृत्यु हुँदा क्षतिपूर्ति दिइनेछ,” उनले भने, “दूतावासले कामदारको मागपत्र प्रमाणीकरण गरेमा मात्र बिमाको व्यवस्था हुन्छ ।”
दूतावासले कुवेतमा औपचारिक रूपमा चैत महिनादेखि काम सुरु गरेको हो । त्यसयता अहिलेसम्म दूतावासले ३ सय ३० कामदारको उद्धार गरिसकेको जानकारी पौडेलले दिए । “उद्धार गरिएका मध्ये ५० प्रतिशत कामदारको हवाइ टिकट त्यहाँको सरकारले दिएको छ,” उनले भने, “बाँकी त्यहाँको कम्पनीले नै बेहोरेको छ । यसमा नेपाल सरकारले आर्थिक भार बेहोर्नु परेको छैन ।”
दूतावासका लागि कुवेत सरकारले भवनको व्यवस्था गरिदिएको छ । दूतावासको शरणमा आउने ३० कामदारका लागि भनेर कुवेत सरकारले खाना र बस्ने व्यवस्था गरिदिएको छ । त्यस्तै, चर्चमा २५ जना कामदारलाई बस्ने व्यवस्था मिलाइएको पौडेलले बताए ।
Posted by: Raju Gurung श्रोत: कारोबार दैनिक