काठमाडौँ, कात्तिक १८। हिन्दूको महान् चाड दीपावली आजदेखि कागको पूजा गरी सुरु भएको छ। कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने तिहारको पहिलो दिन काग, दोस्रो दिन कुकुर र साँझ लक्ष्मीको पूजा तथा दीपावली, तेस्रो दिन बिहान गाई, गोरु चौथो दिन गोबर्द्धन पूजा र भाइटीका गरी सम्पन्न हुन्छ।
बत्तीको झिलिमिली र उज्यालो, मिठाइ र फलफूलको सेवन, फूलहरूको ढकमक, दाजुभाइ र दिदीबहिनीबीचको आपसी प्रेम, नेपालको मौलिक संवत् नेपाल संवत्को प्रारम्भ्ा, आत्मपूजा, पक्षी र जनावरहरूको पूजा तिहारको विशेषताका रूपमा रहेको छ।
पुराण अनुसार यस पर्वमा यमराज आफ्ना दैनिक कार्य स्थगन गरी बहिनी यमुनाकहाँ पाँचदिनसम्म पाहुना बस्ने र बहिनीद्वारा पुजिएका यमराजले वस्त्र, आभूषण दिएर भ्रातृ स्नेहलाई प्रगाढ बनाउने हुनाले यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिन्छ। काग तिहारका अवसरमा आज धार्मिक मान्यताअनुसार कागलाई यमराजको दूतका रूपमा पूजा गरी विविध खानेकुरा दिने चलन छ। हाम्रो समाजमा कागलाई सन्देशवाहकका रूपमा पनि लिइन्छ। कसैको घरआँगनमा एकाबिहान काग कराएमा त्यस घरमा पाहुना आउने विश्वास गरिन्छ।
यो दिन कागको पूजा नगरी खाएमा पापको भागी बनिन्छ भन्ने विश्वास छ। यही कात्तिक १९ गते कुकुर तिहार र साँझ लक्ष्मीपूजा तथा दीपावली गरिन्छ। कुकुरलाई यमराजको दरबारको रक्षक र दूतका रूपमा पूजा गरिन्छ। सो दिन आ–आफ्नो घरमा पालिएको कुकुरलाई टीका, माला लगाई मीठो खानेकुरा दिने प्रचलन छ। लक्ष्मीपूजा र गाईपूजाको दिन केटाकेटी तथा महिलाले घरघरमा गई खेलिने भैलोले यस पर्वलाई अझ उल्लासमय बनाउँछ। यतिबेला घरआँगन र खेतबारीका आली–कान्लामा ढकमक्क फुलेका सयपत्री, मखमली र गोदावरी फूलले वातावरण रमणीय देखिन्छ। यमपञ्चकको अन्तिम दिन दाजुभाइ, दिदीबहिनीले आपसी स्नेह, सत्कार तथा पूजा गरी भाइटीका मनाउँदा दाजुभाइको यश तथा आयु बढ्ने र उनीहरू सुखी तथा सम्पन्न हुने विश्वास गरिन्छ।
वैदिक कालमा बलि राजाले आफ्नो राज्यभरि झकिझकाउका साथ दीपावली गरेर विष्णुलाई खुसी तुल्याएकाले यमपञ्चकभर तीनै लोकको राज्यभोग गर्न पाउने वरदान पाएको तथा यस अवधिमा धनकी देवी महालक्ष्मीले सबैको घरमा बास गरी धनधान्यले पूर्ण पारिदिएको कथा पनि यस पर्वसँग जोडिएको छ।
नेपाली भाषामा ‘स्वन्ती नखः’ भनिने यमपञ्चकका बेला यमराजको सम्मानमा आ–आफ्नो घर सफासुग्घर राखी, पारस्परिक द्वेषभाव हटाई दीपावलीका साथ पूजाआजा गर्नाले त्यस घरमा मानिसको अकाल मृत्यु नहुने धार्मिक ग्रन्थमा उल्लेख छ। लक्ष्मीपूजादेखि भाइटीकासम्म सबैतिर सफा राखी दैलो–सङ्घार, झ्याल, ढोका, चोटा, कोठा, अटाली, कौसी, बरन्डा, भर्याङ आदि ठाउँमा झलमल्ल गरी बत्ती बालिने हुनाले यस चाडलाई दीपावली पनि भन्ने गरिन्छ। यमपञ्चकको चौथो दिन नेवार सम्प्रदायमा म्हः पूजा (आत्मपूजा) गर्ने प्रचलन छ।
आजै धन्वन्तरि जयन्ती पनि हो। विश्वकै प्राचीनतम चिकित्सापद्धति मानिएको आयुर्वेदका प्रवर्त्तक धन्वन्तरिको उत्पत्ति कात्तिक कृष्ण त्रयोदशीका दिन भएकाले आजका दिन धन्वन्तरि जयन्ती मनाइँदैछ। देवता तथा दानव मिलेर वासुकी नागको नेती र मन्दराचल पर्वतको मधानी बनाई समुद्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि अमृत कलश लिएर धवन्तरिको उत्पत्ति भएको पुराणमा उल्लेख छ। धनतेरस दिवसका रूपमा पनि मनाइने यस जयन्तीलाई चिकित्सकले शुभ सङ्कल्प तथा शुभकार्य प्रारम्भ गर्ने दिनका रूपमा लिने गरेका छन्।
विसं १९७४ मा आयुर्वेद चिकित्सा क्याम्पस, नरदेवी स्थापना भएदेखि नेपालमा धन्वन्तरि जयन्ती मनाउन थालिएको हो। नेपालका आयुर्वेद क्षेत्रका सम्पूर्ण व्यक्तिले नेपाल आयुर्वेद चिकित्सक सङ्घको पहलमा २०५६ सालदेखि आजका दिनलाई राष्ट्रिय आरोग्य दिवसका रूपमा पनि मनाउने गरेका छन्।
हातमा आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधिको प्रतीकका रूपमा जडिबुटी लिएका धन्वन्तरिलाई आयुर्वेद चिकित्साक्षेत्रका व्यक्तिले नरदेवी क्याम्पस, सिंहदरबार वैद्यखाना तथा सामाखुसीस्थित धन्वन्तरि अस्पतालमा विभिन्न कार्यक्रमका साथ पूजाआजा गरी स्मरण गर्छन्।
Posted by : Narayan Nepal Source: Weeklynepal