दिनेश रेग्मी
स्वदेशमा व्यक्तिको परिचयको बलियो आधार हो- नागरिकता प्रमाणपत्र । विदेशमा व्यक्तिको परिचय त्यही नागरिकताका आधारमा बनेको राहदानी (पासपोर्ट) हुन्छ जसको अभावमा व्यक्ति परिचयविहीन बन्न पुग्छ ।
कतारमा कामदारलाई पासपोर्टका आधारमा परिचयपत्र (पताका) दिने गरिन्छ जुन यहाँ हमेसा साथमा हुनुपर्छ । पताका बनाइसकेपछि पासपोर्ट सम्बन्धित व्यक्तिले नै राख्नुपर्छ । कतारबाहिर जान र आउन पर्यो भने पासपोर्ट नै जरुरी हुन्छ । अरू कागजपत्रले काम चल्दैन । पासपोर्ट कम्पनीसँग भएपछि कैयौंले समस्या भोगेका छन् । कतारको नेपाली दूतावासमा भेटिने कैयौं पीडितहरू कम्पनी/कफिल (सञ्चालक) ले पासपोर्ट नदिएकाले दूतावास आउनुपरेको सुनाउने गर्छन् । कतिपय कम्पनीहरूले सुरक्षाका लागि पासपोर्ट आफूले राखिदिने गरेको बताउँछन् र पछि कामदारलाई दुःख दिन पर्यो भने पासपोर्टका नाममा अनेक बहाना बनाएर सताउँछन् ।
कतारको आन्तरिक मन्त्रालयअन्तर्गत ‘जनरल डाइरेक्टोरेट अब बोडर्स पासपोर्ट एन्ड एक्पेक्टि्रयट् अफेयर्स’ द्वारा हालै आयोजित ‘रेसिडेन्सियल ल नम्बर ४/२००९’ कार्यक्रममा पासपोर्ट आफैंले राख्न प्रस्ट पारेको छ । आन्तरिक मन्त्रालयको युनिफाइड सर्भिसेज डिपार्टमेन्ट, अलखोर सेन्टरका प्रमुख कर्नेल इशा रसिद अल हुमाईदीले भनेका छन्- ‘कामदारको पासपोर्ट कफिलले राख्ने होइन कामदार स्वयंले राख्नुपर्छ । कफिलले राख्नु अपराध सावित हुन्छ ।’
पासपोर्ट/पताका आफैंसँग हुने भएपछि त्यसको सुरक्षा कसरी गर्ने त्यो स्वयंको जिम्मेवारी हो । यदि पासपोर्ट हरायो, केही कारणले नष्ट भयो, चोरी भयो भने तत्काल स्थानीय प्रहरीलाई खबर गर्नुपर्छ र आफ्नै दूतावासको सहयोगमा प्रतिलिपि निकालेर राख्नुपर्छ ।
कतारको आवास कानुन यहाँ आउने जोकोहीले पनि जान्नैपर्ने विषय छ । जस्तो कि सुरुमा कतार प्रवेश हुन पेपर भिसा, पासपोर्ट र हवाई टिकटको आवश्यकता पर्छ । कतार छिरिसकेपछि ७ दिनभित्र स्वास्थ्य जाँच गर्नुपर्छ । त्यसमा पास भएपछि आवास अनुमतिपत्र (आरपी) मिल्छ । आरपी निर्धारित मिति सकिएको ९० दिनभित्र नवीकरण गर्नुपर्छ । नवीकरण नभए दैनिक १० रियल (२ सय रुपैयाँ) का दरले जरिवाना तिर्नुपर्छ र यो जरिवानाको अधिकतम सीमा ६ हजार रियल (एक लाख २० हजार रुपैयाँ) छ । ३० दिनको भिजिट भिसामा आउनेहरूले मेडिकल र फिंगर पि्रन्ट गर्नु पर्दैन । कामदार भिसामा हुनेको अनिवार्य फिंगर पि्रन्ट हुन्छ । भिजिट भिसाको म्याद सकियो भने दैनिक २ सय रियल (४ हजार रुपैयाँ) का दरले जरिवाना बुझाउनुपर्छ । यो जरिवानाको अधिकतम सीमा ६ हजार रियल छ ।
यदि आरपी लागेर पनि ६ महिनाभन्दा बढी कोही लगातार कतारबाहिर बस्यो भने भिसा स्वतः रद्द हुन्छ । यदि कोही भिसा रद्द गरेरै घर फर्कियो भने त्यो कामदारलाई दुई वर्षसम्म कतार आउने अनुमति हुँदैन तर आफ्नो स्पोन्सर (भिसा प्रायोजक) ले ‘नो अब्जेक्सन लेटर (एनओसी)’ दियो भने कामदार दुई वर्ष अगावै आउन पाउँछ । भिसा रद्द भएको सात दिनभित्र कतार छाड्नुपर्ने कानुन छ तर काम विशेषले ९० दिनसम्म बस्न पाउँछ जसका लागि अनुमति लिनुपर्छ ।
कामदारजे काम र जुन कम्पनीमा आएको हो त्यही काम र त्यही कम्पनीमा काम गर्नुपर्छ । कम्पनी छाडेर अर्को ठाउँमा काम गर्ने र गराउनेलाई २०/२० हजार रियल (चार/चार लाख रुपैयाँ) जरिवाना छ तर स्पोन्सरले लिखित अनुमति दिए अर्को कम्पनीमा काम गर्न पाउँछ । स्पोन्सरको अनुमतिमा कामदारले पार्टटाइमसमेत काम गर्न पाउने आवास कानुनले भनेको छ ।
यहाँको कानुनले के पनि औंल्याएको छ भने कोही अपराध गरेर कतारबाट गयो भने उसलाई कतार मात्र होइन खाडी क्षेत्रअन्तर्गत गल्फ कोअपरेसन काउन्सिल (जीसीसी) मा पर्ने मुलुकहरूमा प्रवेश अनुमति हुँदैन । यदि कोही प्रवेशै गर्यो भने पनि ऊ कारबाहीको भागिदार हुन्छ । जीसीसीमा कतार, साउदी अरेबिया, यूएई, बहराइन, ओमन, कुवेत पर्छन् ।
कानुन बुझ्न गाह्रो होला तर बुझ्नैपर्ने विषय हो किनकि कानुन जानिनँ भनेर सुख पाइँदैन । झन् यो त नेपाल नभएर अरबभूमि हो । त्यसैले कानुनको सोधखोज गर्नु, बुझ्नु र पालना गर्नु अनिवार्य छ । युनिफाइड सर्भिसेज डिपार्टमेन्ट, अलखोर सेन्टरका प्रमुख हुमाईदीले भनेका थिए- यो (कानुन) मनमा राख्नुस् र आरामका साथ जिन्दगी गुजार्नुस् ।
Posted by: Jay Ale Source: ekantipur