चिनियाँ नेतासँग कुराकानी हुनु स्वभाविक हो


 (सांघाइको सिजओ स्टेट होटलमा दाहाल)

पार्टीको विस्तारित बैठक र संविधानसभा कार्यदलको काम स्थगित गरी सांघाई वर्ल्ड एक्स्पो आएका एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल आइतबार चिनियाँ नेताहरू भेट्न बेइजिङ पुगेका छन् । सांघाईमै पनि उनले राजनीतिक भेटघाट गरेका थिए । आइतबार बेइजिङ जानुअघि दाहालसँग सांघाईको सिजिओ स्टेट गेस्ट होटलमा नागरिक विशेष संवाददाता पूर्ण बस्नेतले गरेको कुराकानी:

संविधानसभा कार्यदलको बैठकै स्थगित गरेर चीन आउनुको उद्देश्य एक्स्पोभन्दा पनि राजनीतिक होइन र?

यो सत्य होइन। विश्वका धेरै नेतामध्ये मलाई पनि सांघाई एक्स्पोका तर्फबाट छानिएको र मेरो सन्देश धेरै पहिलेदेखि प्रचार गरिएकाले एकचोटि म आउनु नै थियो, ढिलो भएको मात्रै हो। त्यसैले चीन आउनुको मुख्य उद्देश्य राजनीतिक होइन। एक्स्पो समापन नजिकिएकाले प्राथमिकता दिएर आएको हुँ।

संविधानसभा कार्यदलका पाँचवटा बैठक गरेँ। त्यहाँ राम्रोसँग छलफल भएको छ। तर, त्यो ७-८ गतेसम्म सकिने भन्ने होइन। त्यसका लागि केही समय आवश्यक पर्छ। यताबाट गएर गति दिने हो। कार्यदल गठन हुने बेलामै सभामुखसँग मेरो चीन जाने कार्यक्रम छ, कार्यदलको संयोजकमा बसेर चीन गयो भनेर प्रश्न उठ्छ भनेर बस्दिन भनेकै थिएँ। तर, सभामुख र अन्य दलका नेताहरूले पनि केही फरक पर्दैन भनेपछि संयोजक बसेको हुँ। फर्केपछि मेरो जिम्मेवारी पूरा गर्छु।

सांघाईमै चिनियाँ अधिकारीहरूसँगको बैठकलाई राजनीतिक नभनेर के भन्ने?
चीन आएका बेला नेपालको शान्ति र संविधान निर्माण प्रक्रिया तथा विकास-निर्माणका सन्दर्भमा सम्भव भएसम्म चिनियाँ नेताहसँग कुराकानी हुनु स्वाभाविक हो। शनिबार पनि चिनियाँ कम्युनिस्ट पार्टीका सांघाई नगर कमिटीका नेताहरूसँग कुराकानी भयो। बेइजिङबाट आएका सहायकमन्त्रीसँग पनि लगातार कुरा भइरहेको छ। बेइजिङमा पनि केही नेताहरूसँग कुराकानी हुन्छ। तर, यसपटक उच्च तहको भेटघाट राखिएको छैन।

शान्ति प्रक्रियाले पुनः गति लिन थालेको हो?
शान्ति प्रक्रिया ट्रयाकमा आउन लागेको भन्न त गाह्रो छ। तर, ट्रयाकमा आउनुको विकल्प छैन। पार्टीहरूलाई विस्तारै त्यो महसुस हुन थालेको छ। मुख्य पार्टीहरूसँग प्याकेजमा छलफल गरेर सहमति गर्ने तय भएको छ। विभिन्न तहमा छलफलको प्रक्रिया सुरु पनि भएको छ, फर्केपछि एउटा टुंगोमा पुर्‍याउने गरी त्यो अगाडि बढ्छ।

सबै कुरा सरकारमै अड्कियो, होइन?
मैले बुझेसम्म राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय समुदायले के अनुभव गरेका छन् भने माओवादीलाई अलग राखेर, सबैभन्दा ठूलो दललाई नेतृत्व नदिएर नेपालको शान्ति प्रक्रिया निष्कर्षमा पुग्दैन र संविधान पनि बन्दैन। पार्टीहरू र अन्तर्राष्ट्रिय समुदायलाई हामीले माओवादी नेतृत्वको सरकारको कुनै विकल्प छ भन्ने हामीलाई लाग्दैन भनेका छौँ। एमाले वा नेपाली कांग्रेसका पक्षमा सहमति भयो भने हामीलाई आपत्ति चाहिँ हुँदैन। अहिलेको अवस्थामा माओवादीको नेतृत्वबिना शान्ति प्रक्रिया टुंगिन्छ, संविधान लेखिन्छ भन्ने ठान्नु लोकतन्त्रविरोधी कुरा हो। प्रत्यक्ष निर्वाचनमा बहुमत ल्याएको र सबैभन्दा ठूलो पार्टीलाई कमजोर पार्ने डिजाइन लोकतन्त्रविरोधी, निरंकुश, तानाशाही र अराजकता हो।
माओवादीको नेतृत्वमा बन्ने राष्ट्रिय सरकार मात्र सबैभन्दा लोकतान्त्रिक र स्वाभाविक हुन्छ। शान्ति प्रक्रियाको प्रमुख हिस्सा हुनुको नाताले यसलाई टुंग्याउन माओवादीलाई जति सजिलो हुन्छ, अरुलाई हुँदैन। त्यसकारण सहमति लोकतान्त्रिक मान्यता र जनताको भावना र अभिमतअनुसार हुनुपर्छ। जनताको अभिमत बाहिर गएर सहमति खोजिन्छ भने, दालमा केही कालो छ भन्ने हुन्छ र त्यसले आशंका, अविश्वास र गतिरोध बनिराख्ने खतरा हुन्छ।

अझै कति महिना वा वर्ष कुर्नु पर्ला सहमतिका लागि?
पुससम्म अनमिनको समय थपिएको छ र यो अन्तिम पटक भनिएको छ। अनमिन गएपछि नेपालमा अझ धेरै राजनीतिक अन्योल र आशंका बढ्छ। त्यसैले अनमिन छँदै सहमति गरेर शान्ति प्रक्रिया टुंग्याउने र संविधान लेख्ने कुरामा गुणात्मक ढंगले अगाडि बढ्नु जरुरी छ। तिहारलगत्तै टुंगोमा नपुर्‍याई सुखै छैन। छलफल टुंगोमा नपुर्‍याउनुको अर्थ फेरि द्वन्द्वमा जानु हो।

शान्ति प्रक्रिया निष्कर्षमा नपुग्दै अनमिनलाई फर्काउने सहमति कसरी भयो?
त्यसमा हाम्रो सहमति होइन। हामीले अन्तिम पटक नभनौँ, शान्ति प्रक्रिया टुंग्याउने गरी ६ महिना थपौँ, टुङि्गएन भने त्यसैबेला सोचौँला भनेका थियौं। तर प्रधानमन्त्रीले राष्ट्रसंघलाई चिठ्ठी लेखिसकेकाले फेरि अर्को निर्णय गर्दा विश्वसनप्यता खत्तम हुन्छ भने, त्यसपछि हामीले लेख्ने चिठ्ठीमा अन्तिम पटक भन्दैनौँ भन्यौँ। त्यहीअनुसार सरकारले अन्तिम पटक भन्यो, हामीले लेखेको चिठ्ठीमा भन्या छैनौँ। सहमति त्यही हो।

तिहारलगत्तै सहमति भएन भने अनमिन पनि फर्किन्छ अनि द्वन्द्व सुरु हुन्छ?
द्वन्द्वमा गइहाल्छ जस्तो मलाई लाग्दैन। द्वन्द्व अहिलेको आवश्यकता होइन, त्यसले देशलाई दुर्घटनामा लैजाने बाहेक केही गर्दैन। त्यसैले द्वन्द्वमा नै जाला भन्ने लाग्दैन। कसैले उक्सायो भन्दैमा हाम्रा नेताहरू त्यत्ति विवेकहीन छन् जस्तो मलाई लाग्दैन। अनमिन नहुनेबित्तिकै देश द्वन्द्वतिर गइहाल्छ भन्ठान्नु नेपाली नेता र बुद्धिजीवीहरूको क्षमतामाथि औँला ठड्याउनु हुन्छ। म त्यति तलबाट शंका गर्न चाहन्न।
अनमिन नहुनेबित्तिकै खत्तम नै हुन्छ, फेरि लडाइँ सुरु भइहाल्छ भन्ने होइन। जबसम्म शान्ति सम्झौता कायम रहन्छ, संविधानसभाको प्रक्रियाबाट संविधान निर्माण गर्ने कुरामा प्रतिवद्धता कायम रहन्छ र दलहरूबीच नेपालको अहिलेको आवश्यकता द्वन्द्व होइन, शान्ति र स्थिरता नै हो भन्ने चेतना रहिरहन्छ, तबसम्म अनमिन भए पनि नभए पनि शान्ति प्रक्रिया जारी रहन्छ।

दक्षिणतिरको शक्तिको आलोचनासँगै तपाईंले प्रत्यक्ष परोक्ष वार्ता पनि गरिरहनुभएको छ, राजनीतिक गतिरोध फुकाउनेमा त्यो किन निर्णायक भइरहेको छैन?
अहिले म यस विषयमा धेरै टिप्पणी गर्न चाहन्न। नेपालमा जे भइरहेको छ, त्यो बच्चा-बच्चालाई थाहा छ। नेपालको प्रधानमन्त्री चुनिन कसले रोकेको छ, पत्रपत्रिकाको स्वतन्त्रतामाथि ठाड्ठाडै हमला कसले गरेको छ, निर्वाचित हुनै लागेको प्रधानमन्त्रीलाई रोक्न खुलेआम दौडादौड गरेर, सभासद्लाई मार्छौँ, लास गायब पार्छौँ भनेर धम्की कहाँबाट आउँछ भन्ने कुरा अब नेपालका तीन करोड जनतालाई राम्रोसँग थाहा छ। यो कुरा लुकेको छैन। त्यसैले मैले धेरै भनिराख्नु पर्दैन। भरखर (प्रधानमन्त्रीबाट) राजीनामा दिएको बेला धेरै भन्नुपर्छ भन्ने लाग्थ्यो, अहिले त्यस्तो लाग्दैन।

अब यो स्थितिको अन्त कसरी गर्ने र एउटा स्वतन्त्र, सार्वभौम सम्पन्न, आफ्नो फैसला आफै गर्ने अधिकारले सुसज्जित नेपाल बनाउने र छिमेकीसँग राम्रो सम्बन्ध कसरी विकास गर्ने भन्ने नेपाली जनता र हामी सबैको चिन्ता हो। अहिले भारतमा पनि त्यहाँका बुद्धिजीवी र थुप्रै नेताहरूको तहमा अहिलेको तरिका ठीक छैन, नेपालमा सकारात्मक तरिकाले शान्ति, स्थिरता र समृद्धिका लागि सहयोग गर्नुपर्छ भन्ने कुरा उठिरहेकाले अन्नतः यो स्थितिको अन्त्य हुन्छ र नयाँ प्रक्रिया थालनी हुन्छ भन्ने लाग्छ।

नेपालको सन्दर्भमा चीन, भारत र नेपालबीच रणनीतिक समझदारी हुनुपर्छ भनेर तपाईंले कतै भन्नु भएको थियो, कुन सन्दर्भमा हो?

प्रधानमन्त्रीबाट राजीनामा दिएको केही समयपछि चिनियाँ र भारतीय नेताहरूसँग कुरा गर्दा अन्ततः तीन देशका बीचमा रणनीतिक समझदारी नहुने हो भने एउटाको स्थितिको असर अर्कोलाई प्रत्यक्ष रुपमा पर्न जान्छ भनेर राखेको थिएँ। अहिले पनि त्यस्तो समझदारीको आवश्यकता छ। चीन र भारत दुवै विशाल छिमेकी हुन् र दुवैतिर तीव्र रुपले आर्थिक प्रगति भइरहेको छ। नेपाल अलि सानो र गरिब भए पनि ती दुई ठूला देशको बीचमा हुनुको नाताले यसको रणनीतिक उपस्थिति ठूलो छ। त्यसैले क्षेत्रीय शान्ति, छिमेकीसँग सुमधुर सम्बन्ध विकास र सन्तुलित ढंगले आर्थिक विकासलाई अगाडि बढाउने दृष्टिकोणले सोचविचार गरेर रणनीतिक समझदारीको प्रस्ताव गरिएको हो। शान्ति, स्थिरता र विकासका निम्ति चीन, भारत र नेपालको बीचमा एउटा साझा रणनीतिक समझदारी आवश्यक छ।

माओवादी चीनतिर ढल्किएको आरोप आइरहेका बेला भारतले यो कुरा स्वीकार गर्ला?
हामी गरिब देशको पार्टीको नेताले भनेको कुरालाई त्यत्ति महŒव नदिने प्रवृत्ति पनि हुनसक्छ। तर, नेपालले इतिहासका गम्भीर कालखण्डमा दुई ठूला छिमेकीको सम्बन्ध सुमधुर बनाउनका निम्ति र विश्वमै शान्ति र स्थिरता कायम गर्नका निम्ति पनि भूमिका खेल्दै आएको छ। परापूर्व कालमा जानकीदेखि पछिल्लो कालमा बुद्धको भूमिकाको कुरा सबैलाई थाहा भएकै हो। जानकीले भारतमा गएर कस्तो संस्कृति फैलाइन्, भृकुटी र अरनिकोले चीनमा आएर के गरे भन्ने पनि सबैलाई थाहै छ। त्यसैले सानो, गरिब भनेर नेपाललाई हेपियो भने त्यो विवेकहीन र अदूरदर्शी हुन्छ।

हामी कतैतिर ढल्केको भन्ने कुरा सही होइन। प्रधानमन्त्रीका रुपमा मैले चीन र भारतको भ्रमण गर्दा दुइटा छिमेकीको सहयोगबिना नेपालको विकास सम्भव छैन भन्दै चीनसँग तिब्बत रेलमार्ग र भारतसँग पूर्व पश्चिम रेलमार्गको कुरा गरेको थिएँ। दुवै देशको क्षमता र सम्भावनालाई विचार गरेर हामीले रणनीति तय गर्ने हो। जलविद्युत्का सन्दर्भमा पनि केही ठूला आयोजनाहरूमा भारतसँग समझदारी बनाउनैपर्छ। भारतसँग समझदारी नगरी हामीले उत्पादन गर्ने विद्युत् बेच्न सक्दैनौँ। केही जलविद्युत् परियोजना चीनले गर्न सक्ने अवस्था छ भने उसलाई पनि किन नदिने भन्ने हो। युरोप, अमेरिकासँग पनि मिलेर हामीले विकास गर्नुपर्छ। एउटै देशसँगको निर्भरताले हामीलाई बलियो होइन, कमजोर बनाउँछ।
हिजोको परिस्थितिमा भारतसँग एक खालको निर्भरता थियो होला तर अहिले बदलिएको परिस्थितिमा एक देशसँग आर्थिक, राजनीतिक, साँस्कृतिक सबै निर्भरता सम्बन्धित मुलुकको हितमा हुँदैन। यो कुरा विश्व स्तरमा नै प्रमाणित भइसक्यो। त्यसैले हामीले सबैसँग सम्बन्ध राख्नुपर्छ तर छिमेकीलाई विशेष महŒव दिएर सुमधुर सम्बन्ध गर्ने नीतिबाट जानुपर्छ।

तपाईंले यहीँ सांघाईकै एउटा अन्तर्त्रि्कयामा पनि चिनियाँ नेता देङ सियाओपिङको आर्थिक नीति अध्ययन गरिरहेको चर्चा गर्नुभयो, नेपालमा चिनियाँ मोडल तान्ने तयारी हो?
अहिलेको परिस्थितिमा हामीले यान्त्रिक र जड तरिकाले सिद्धान्तलाई पक्डनु हुँदैन। त्यसलाई गतिशील रुपमा विकासको प्रक्रियामा बुझ्नु पर्छ। त्यसै सन्दर्भमा मैले चीनको आर्थिक विकासको स्थिति, जीवनस्तरमा भइरहेको प्रगति सबै हेर्दा (देङको आर्थिक नीतिबाट) प्रभावित छौँ र यसबाट सिक्नु पर्ने कुरा धेरै छ भनेको हुँ। देङले जुन खुलापन र सुधारको नीति ल्याए, त्यसमा हामी गम्भीर अध्ययन गर्दैछौँ। हामीले अहिले नै देङको आर्थिक विकासको सिद्धान्त अंगिकार गरिसक्यौँ भन्ने होइन, तर यसको सकारात्मक पक्षबाट सिक्न चाहन्छौँ।

अहिले माओवादीभित्र चलिरहेको छलफलमा यो विषय पनि पर्छ?
हाम्रो पार्टीमा अहिले भइरहेको बहस अर्कै ठाउँमा हो। राष्ट्रिय स्वाधीनता पहिले हो कि आर्थिक विकास भन्ने विषय आउँदा यो कुरा पनि छलफलमा आउँछ। अहिलेको हाम्रो छलफल कुन तरिकाबाट नेपालको राजनीतिक क्रान्तिलाई पूर्णता दिन सकिन्छ भन्ने हो। कस्तो रणनीति र कार्यनीतिबाट अहिलेको गतिरोधलाई तोड्न सकिन्छ भन्ने बहसमा हामी केन्द्रित छौँ।

विद्रोह तत्कालै गर्ने कि पछि गर्ने भन्ने हो?
विषय त्यति सरल भएको भए एकैछिनमा हल हुन्थ्यो। हामी सबैभन्दा ठूलो पार्टी हुनुको नाताले, हाम्रा एजेन्डा स्थापित भएको नाताले अझ बढी गम्भीर र जिम्मेवारी साथ देशलाई सम्हाल्ने ढंगले सोच्नुपर्छ। के गर्दा सम्हालिन्छ र अगाडि जान्छ भन्ने नै हाम्रो छलफलको मुद्दा हो। बाहिर प्रचार भएजस्तो मेलो न मेसो तुरुन्तै विद्रोह गर्ने भन्ने पार्टीमा कसैको मत छैन।

माओवादीको आडमा पूर्व राजाले गतिविधि बढाएको कतिपयको अनुमान छ, कुनै नयाँ समीकरण बन्न लागेको हो?
माओवादीको कारणले पूर्व राजाको गतिविधि बढ्यो भन्ने गलत कुरा हो। डेढ वर्ष पहिले जे परिस्थिति र कारण माओवादी नेतृत्वको सरकार हट्ने परिस्थिति बन्यो, त्यही बेलादेखि नै नेपालको राजनीति असहज बाटोतिर गयो। त्यस कारण जनतामा छाएको निराशा र सरकारले जसरी नकारात्मक काम गर्दै गयो, त्यसै कारण पूर्व राजालाई जनताले अलिकति महŒव दिएको देखिएको मात्र हो। फेरि पूर्व राजाको त्यो कुनै संगठन होइन र उनीप्रति जनताको निकै आकर्षण बढ्यो भन्ने पनि लाग्दैन। पूर्वराजा भनेपछि मानिसहरू हेर्न पनि आउँछन्। यसलाई जनता सचेत र संगठित ढंगले आएको भनेर बुझ्नु गलत हुन्छ।

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.