नेपाली दाजुभाइहरूसँग मलाई के को डर ? प्रशान्त तामाङ


दुई वर्षअघि नेपाली मूलका प्रशान्त तामाङलाई इन्डियन आइडल बनाउन नेपालमा समेत वृहद अभियान चल्यो । प्रशान्त इन्डियन आइडल भएपछि नेपालीको साख विश्वभर फैलन्छ भन्ने सबैलाई थियो । विभिन्न संघ-संस्था तथा समूहले प्रशान्तलाई जिताउन आम नेपालीसँग चन्दा पनि उठाए । उनलाई जिताउन लाखौं रुपैयाँ दार्जीलिङ तथा सिक्किम पठाइयो । एक प्रकारले प्रशान्त तामाङका लागि संसारभरिका नेपाली एकजुट भए । सबै नेपालीको इच्छा पनि पूरा भयो । प्रशान्त इन्डियन आइडल भए । त्यसपछि उनको पहिलो नेपाल भ्रमण भयो । घनघोर वर्षा भए पनि उनको पहिलो एकल कन्सर्टमा हजारौं तन्नेरी उर्लिए ।

दुई वर्षको अन्तरालमा प्रशान्त धेरै पटक नेपाल आए । नेपालीका लागि भनेर उनले नेपाली भाषामा दुईवटा एकल एल्बम निकाले । यहाँसम्म कि उनले तीनवटा चलचित्रमा नायक भएर अभिनयसमेत गरिसके । एउटा चलचित्र ‘गोर्खा पल्टन’ तिहारमा सार्वजनिक हुँदैछ । अहिले उनका लागि उर्लने जमात कतै हराइसकेको अवस्था छ । तामाङपछि दुई जना इन्डियन आइडल भैसकेका छन् । भारतमा समेत उनको त्यति चर्चा छैन ।

इन्डियन आइडलको उपाधि जितेपछि तपाईंले अभिनय गर्ने पहिलो चलचित्रका निर्देशक नाम कहलिएका हुनुपर्थ्यो जस्तो लाग्दैन ?

इन्डियन आइडल भएपछि भाग्यका कारण मलाई दर्शक/श्रोताले राम्रो गायकका रूपमा स्वीकार्नु भएको छ । इन्डियन आइडल बन्न जे-जति संघर्ष र परिश्रम गर्नुपर्‍यो, चलचित्रमा नायक हुन त्यति गर्नु परेन । अफर आयो र क्यारेक्टर सुहाउने जस्तो लागेर मैले स्वीकार गरेँ । मलाई नेपाली चलचित्रका निर्देशकहरूले गायक नै भनेर चिन्नुहुन्छ । म अभिनय पनि गर्नसक्छु भन्ने कुरा उहाँहरूले देख्नु भएको छैन । यस अर्थमा म संघर्षशील अभिनेता हुँ । गोर्खा पल्टनमा मेरो काम देखेपछि सायद स्थापित र कहलिएका निर्देशकहरूबाट अफर आउँछ । 

एउटै चलचित्र प्रदर्शन नभए पनि तीनवटामा नायक भैसक्नुभयो । अब त नायकका रूपमा स्थापित भएँ भन्ने लागेको होला नि ?

पहिलो गोर्खा पल्टनमा मलाई नारायण दाई -निर्देशक नारायण रायमाझी) हरूले अफर गरेपछि अभिनय पनि हेरौं न त भन्ने लागेर काम गरियो । अभिनय गर्न सकिँदो रहेछ भन्ने आत्मविश्वास बढ्यो । ‘अँगालो यो मायाको’ र ‘किन मायामा’ का निर्माताहरू मेरा आफन्त हुन् । उहाँहरूले रिक्वेस्ट गरेपछि त्यसमा काम गरेको हुँ । मेरो कुनै  पनि चलचित्र रिलिज भएको छैन । यो अवस्थामा मैले आफूलाई नायकका रूपमा स्थापित भएँ भन्नु मुर्खता हुनेछ । पछिल्लो समय गायकभन्दा पनि अभिनेताका रूपमा  प्रस्तुत हुने रुचि जागेको छ । त्यसो हुँदा ममाथि फिल्माइने गीत आफै गाउन पनि पाउँछु । म अभिनयमा स्थापित हुन संघर्ष गरिरहेको छु । मलाई माया गर्ने सबैले मेरो अभिनय पनि मन पराइदिनु हुनेछ भन्ने विश्वास छ ।

अभिनय र गायनमध्ये कुन विधामा सहज महसुस गर्नहुन्छ ?

सहज त कतै पनि छैन । शतप्रतिशत रिजल्ट दिन कठिन नै हुन्छ । यद्यपि आफूमा लगनशीलता र मेहनत गर्ने क्षमता भयो भने कुनै पनि काम सफल हुन्छ । मेरो अभिनय गर्ने कुनै पूर्वयोजना थिएन । गायक बनेर नाम कमाउँछु भन्ने पनि थिएन । गाउने रहर थियो र अरूको अभिनय हेरेर दंग पर्थें । भाग्यले मलाई गायकका रूपमा परिचित गरायो । त्यो क्षमता म मा रहेछ, तर मलाई गाउनभन्दा अभिनय गर्न सजिलो लाग्यो । गाउन बढी परिश्रम गर्नुपर्ने हुन्छ । अभिनयमा त्यति परिश्रम गर्नु नपरेको मेरो अनुभव छ ।

सजिलो त छैन नि अभिनय गर्न पनि । यदि त्यसो हुँदो हो त सबै अभिनेता बन्थे नि ?

मैले सजिलो नै हुन्छ भनेर त भनेको छैन । अभिनय र गायनलाई दाँज्दा मलाई अभिनय सहज लाग्यो । गोर्खा पल्टनमा पहिलो पटक क्यामेरासामु नायक भएर अभिनय गर्न खासै गाह्रो भएन । एउटा दृश्य, जहाँ मैले एउटा क्यारेक्टरलाई रिसले चिच्याएर बोलाउनुपर्ने थियो । मलाई हत्तपत्त रिस उठ्दैन र ठूलो स्वरले कराउने मेरो बानी छैन । अघिल्लो दिन त्यो दृश्यको छायांकन गरिने जानकारी गराइएपछि रातभरि त्यो अभिनय कसरी गर्ने होला भनेर पिरलो परिरह्यो । ऐनाको अघिल्तिर उभिएर सानो स्वरले चिच्याएजस्तो गरी अभ्यास गरिरहे । भोलिपल्ट जब त्यो दृश्यका लागि डाइरेक्टरले एक्सन भन्नुभयो, म यसरी चिच्याएँ कि म आफै छक्क परे । अरे, मेरो घाँटीबाट त्यति ठूलो आवाज पनि निस्कने रहेछ भनेर ट्वाल्ल परें । युनिटका साथीहरू र सुटिङ हेर्न आएका दर्शकहरू हाँसेपछि अप्ठेरो पो लाग्यो ।

देशविदेशमा ख्याति कमाएको तपाईंजस्तो कलाकारले अभिनय गर्ने पहिलो चलचित्रमा तपाईंको जोडीमा नयाँ नायिकाभन्दा स्थापितलाई राख्नुपथ्र्यो होइन र ?

नायिकाको भूमिकाका लागि हामीबीच धेरै छलफल भयो । अन्ततः क्यारेक्टर सुहाउने नायिका लिने तय भएपछि रञ्जिता गुरुङ र सोनिया केसीलाई लिइएको हो । रञ्जिता  गुरुङलाई चलचित्रको भूमिका सुहाएको छ । सोनिया केसीले थुप्रै चलचित्रमा काम गरिसकेकी छिन् । उनले अभिनय गरेको एउटा चलचित्र त सुपरहिट भएको थियो रे ।

तीनवटा चलचित्रमा नायक भएपछि नेपाली चलचित्र क्षेत्र तपाईंलाई कस्तो लाग्यो ?

प्राविधिक रूपमा हामी अझै पछाडि छौं । हामीसँग पर्याप्त लगानी गर्न सक्ने अवस्था छैन र बजार पनि धेरै सानो छ । गुणस्तरका लागि लगानी र बजार फराकिलो हुनु आवश्यक हुन्छ । आफ्नै व्यक्तिगत फाइदाका लागि मात्र चलचित्रमा काम गर्ने बानी छ, त्यो छाड्नुपर्‍यो । मैले अभिनयलाई पेसा बनाउन लागें भनेर त्यसो भनेको होइन कि नेपाली चलचित्रको वास्तविकता नै यही हो । हामी हलिउड, बलिउड र कोरियन चलचित्रहरू हेर्छौं । उनीहरूले पनि हाम्रा चलचित्र हेरून् भन्ने सोचमा अघि बढ्नु पर्छ । यो एक-दुई जनाको प्रयासले हुने कुरा होइन । नेपाली चलचित्रलाई सबटाइटलिङ गरेर अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउनुपर्छ । त्यसो भए नेपाली चलचित्रको गुणस्तर वृद्धि हुनुका साथै यसको पहुँच अन्तर्राष्ट्रिय स्तरसम्म पुग्छ । मैले सुनेको छु कि यहाँ खुट्टा तान्ने प्रवृत्ति छ । त्यस्तो प्रवृत्तिबाट टाढा रहनुपर्छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पुग्ने लक्ष्य लिएर अघि बढे लगानी र बजार बढेर नेपाली चलचित्र पनि उकालो लाग्छ ।

इन्डियन आइडलले पाउने प्रसिद्धि र चर्चा जादुजस्तो हुँदो रहेछ, छोटो समयमै सकिने । तपाईंको जादु पनि कम भैरहेको छ जस्तो लाग्दैन ?

मपछि पनि तीन जना इन्डियन आइडल बने । यो क्रम चलिरहन्छ । म आफूलाई निकै भाग्यमानी मान्छु, ’cause मैले धेरै मानिसको माया पाएँ । जहाँसम्म जादु कम भयो भन्ने कुरा छ, त्यो त परिस्थितिका कारणले हो । चर्चा कहिल्यै स्थिर हुँदैन । जीवनमा ‘अप्स एन्ड डाउन’ त भैहाल्छ । म चढेपछि चढेको चढ्यै त हुन्नँ, तर तल पनि ओर्लिएको छैन । स्नेह गर्नेहरूले मलाई बिर्सनुभएको छैन । च्वाइस धेरै भएपछि कसलाई रोज्ने र कसलाई छाड्ने भन्ने मानिसको स्वभाव पनि हो । फेरि व्यस्त जीवनमा  सबै सधैं मेरो मात्र पछि पनि लागिरहून् भन्नु हुँदैन । त्यसैले म निराश छैन र हुनु पनि हुँदैन । काम गर्दै जाने हो । फलको प्राप्ति भैरहन्छ ।

इन्डियन आइडल वा त्यसको फाइनलमा तपाईंहरूलाई निम्त्याइन्न ?

इन्डियन आइडलको उपाधि पाएपछि हामी व्यस्त हुन्छौं । बोलाए पनि अन्यत्र व्यस्त भैरहेका हुन्छौं । फेरि मानिसको ध्यान अब कसले जित्छ भन्ने भैरहेको बेलामा हामीप्रति ध्यान नजान सक्छ । फेरि कसैलाई कार्यक्रमको सञ्चालक त कसैलाई अन्य रूपमा त्यसमा बेलाबखत सहभागी गराइएकै छ नि ।

तर कोही कोही त चढेको चढ्यै हुन्छन् नि ? यस्तै कम्पिटिसनबाट आएका बलिउडका गायकहरू कुणाल गुञ्जवाला, सुनिधि चौहान र श्रेया घोषाल त व्यस्त एवं चर्चित भैसकेका छन् ?

यो आ-आफ्नो भाग्यको कुरा पनि हो । उनीहरूको भाग्य धेरै राम्रो रहेछ ।

भाग्यभन्दा पनि इन्डियन आइडललाई चाहिँ त्यस्तो अवसर दिइन्न कि ? पहिलो इन्डियन आइडलदेखि अहिलेसम्म कसैले पनि अरू रियालिटी शोबाट आएका गायक- गायिकाहरूले जस्तो अवसर पाएका छैनन्, होइन र ?

इन्डियन आइडल अप्रशिक्षित गायक-गायिकाहरूको प्रतिस्पर्धा हो । एक प्रकारले यो प्रतिस्पर्धामा छानिनेहरू गतिलो प्रशिक्षण नपाएकाहरू नै हुन्छन् । छनोट भैसकेपछि  उनीहरूले पाउने प्रशिक्षण र गराइने अभ्यासले उनीहरूको स्वरमा केही निखार आउँछ । म पनि गाउन सिकेर त्यो प्रतिस्पर्धामा गएको थिइनँ । अलि-अलि गाउँथें ।  स्कुलतिर गाउँथें र काममा गीत गाउँदा-गाउँदै म इन्डियन आइडलमा पुगेको थिएँ, जबकि सारेगमपजस्ता प्रतिस्पर्धामा भने राम्रा उस्तादहरूबाट प्रशिक्षण पाएर खारिएर  आएकाहरूको बाहुल्यता हुन्छ । त्यसैले उनीहरूले बलिउडमा सजिलै अवसर पाउँछन् । यसरी पनि बुझ्न सकिन्छ- इन्डियन आइडल गायन कम्पिटिसन कार्यक्रमसँगै शुद्ध  रियालिटी सो हो भने सारेगमप, भ्वाइस अफ इन्डियाजस्ता कार्यक्रमहरू रियालिटी सोभन्दा पनि शुद्ध गायन प्रतिस्पर्धा हुन् ।

सारेगमपमा हालसालै दार्जीलिङका कर्मा शेर्पा पनि पुगेका थिए । छनोटमा परेर पनि उनलाई आउट गरियो । त्योभन्दाअघि कपिल थापालाई पनि जिताइएन । प्रकृति गिरी पनि रनरअप मात्र भइन् । कतै तपाईंले जितेपछि अब नेपालीमूलका प्रतिस्पर्धीलाई अघि बढ्न नदिने योजनाअनुरूप त त्यस्तो भैरहेको होइन ?

त्यहाँ त्यस्तो हुँदैन । यदि त्यसो हुँदो हो त उनीहरू सुरुमै छनोटमा पर्दैनथे । म पुगेपछि प्रकृति गिरी, कपिल थापा, कर्मा शेर्पाले पनि लाखौं प्रतिस्पर्धीलाई उछिन्दै आफूलाई उत्कृष्ट साबित गरे । इन्डियामा हरेक सोका लागि लाखौं गायक-गायिका बन्न चाहनेहरूबीच प्रतिस्पर्धा भैरहेको हुन्छ । उत्कृष्ट मानिएका सयौं कलाकार त्यहाँ छन् । त्यो  भीडमा आफूलाई सर्वोत्कृष्ट सावित गर्नु नै ठूलो कुरा हो । त्यसमा पनि कपिल थापा इन्डियन आइडलका फस्ट रनर्सअप र प्रकृति गिरी सेकेन्ड रनर्सअप भए र नेपालीहरूको नाम उँचो बनाए । यो सानो उपलब्धि होइन ।

मुम्बई र यहाँको सांगीतिक वातावरण तथा यो क्षेत्रका कलाकारमा भिन्नता के छ ?

टिभीमा देखिएजस्तो छैन, त्यहाँको संगीतक्षेत्र । उनीहरू बढी व्यावसायिक छन् । कामका लागि मात्र संगत गर्न रुचाउँछन् । भेटघाट पनि मात्र कामका लागि हुन्छ । जोसँग काम छैन उनीहरूसँग टाढै रहन्छन् । काम गरे पनि उनीहरूमा व्यावहारिकताको कमी छ । सहयोगी पनि खासै छैनन् । यहाँको संगीत क्षेत्रमा मित्रवत् व्यवहार गर्नेहरू धेरै छन् । पेसा आफ्नो ठाउँमा छँदैछ, सहयोग र संगत गरेर व्यावहारिक बन्नेहरू धेरै छन् । म यहाँका संगीतकर्मीहरूसँग संगत गर्न र रमाइलो गर्न निकै मन पराउँछु । मलाई निमा रुम्बा, राजु लामा, राजेशपायल राई, सविन राई, क्रान्ति आलेजस्ता प्रतिभाशाली दाजुहरूसँग संगत गर्ने अवसर मिल्यो । मैले उहाँहरूलाई निकै फरासिला र  सहयोगी पाएँ । मुम्बईमा यदि फाइदा छैन भने कसैले त्यसरी संगत गर्दैनन् ।  

इन्डियन आइडल भैसकेपछि नेपाल आउँदा त सुरक्षा घेरामा हुनुहुन्थ्यो । जो पायो त्यसले भेट्नै नपाउने अवस्था थियो । अहिले कहाँ गयो त्यस्तो सुरक्षा र त्यो तामझाम  ?

त्यो बेला म नेपालका लागि नौलो थिएँ । ताजा-ताजा इन्डियन आइडल भएकाले मलाई हेर्न र भेट्न चाहने नेपाली दाजुभाइ, दिदीबहिनीहरू धेरै थिए । अब सबैलाई भेटिसकेको छु । नेपालमा मात्र हजारौं त्यस्ता मानिस छन् जो मेरा आफन्तभन्दा बढी छन् । संसारभरि रहेका नेपालीहरूको कुरा गर्ने हो भने त्यो संख्या अझ बढ्न सक्छ ।  यस्तो राम्रो सम्बन्ध भैसकेको छ कि विवाह गरेपछि एउटा रिसेप्सन त काठमाडौंमै दिनुपर्ला जस्तो लागि रहेको छ । फेरि मलाई अब सुरक्षा किन चाहियो र ? परिआए म आफै पुलिसमा छु । फेरि नेपाली दाजुभाइहरू सँग मलाई के को डर ?

तपाईंलाई यसरी संसारभरि व्यक्तिगत कार्यक्रममा डुल्न कोलकाता प्रहरीबाट छुट्टी मिल्छ ?

इन्डियन आइडल भएर प्रहरी पेसाकै इज्जत बढाएको कुरा उहाँहरू गर्नुहुन्छ । त्यसैले कार्यक्रमहरूमा सहभागी हुन्छु । बिदाका मामिलामा मलाई उहाँहरूले छुट दिनुभएको  छ ।

अफेयर निकै चल्दै होला नि ?

पहिले जति कुरा सुनिए, मिडियामा आए । ती सबै हल्ला मात्र हुन् ।

हल्ला नभएको कुराचाहिँ के हो त ?

-हाँसो) एक वर्षपछि विवाह गर्ने योजनामा छु ।

को सँग ? खोजिसक्नु भयो ?

अँ, खोजिसकें, उनी मुम्बईमा एयर होस्टेज छिन् । नेपालीभाषी नै हुन् र उनको घर नागाल्यान्डमा छ । उनी नेपाली मूलकी भारतीय हुन् । लामो समयदेखि हाम्रो सम्बन्ध  छ । एक वर्षभित्रै हामी विवाह-बन्धनमा बाँधिदैछौं । अब विवाहमा ढिलाइ नहोस् भन्ने कुरामा हामी दुवै सचेत छौं । यसभन्दा बढी नसोध्नुहोला । नाम पनि भन्न मिल्दैन । पछि आफैं बताउनेछु । विवाह भोजमा बोलाउला नि ।

युवतीहरू यो कुरा सुनेर बिच्केलान् नि ?

-हाँसो) मेरा प्रशंसकहरू त्यस्ता छैनन् ।

गालामा चुम्मा गर्ने वा च्याप्प अँगालोमा बाँध्ने अथवा त्योभन्दा अघि बढ्न खोज्नेहरूको फेला पर्नुभएको छैन ?

फ्यानहरू थरी-थरीका हुन्छन्, म भने त्यस्ताको फेला परेको छैन । अँगालो मार्ने वा हात मिलाउनेसम्म छन् । स्टेजमा गीत गाउँदा-गाउँदै अघि नाचिरहेका दर्शकलाई बोलाउने मेरो बानी छ । विदेशको एउटा कार्यक्रममा त्यस्तै गरें । उनी युवती थिइन् । उनले मलाई अँगालोमा बाँधेर गालामा चुम्मा गरिन् । पछि मलाई उनको त्यो हरकत प्रति हाँसो उठ्यो ।

एउटा नितान्त व्यक्तिगत प्रश्न गरूँ है ? विवाह त भएको छैन, तर यो उमेर -२७ वर्ष) सम्म यौन अनुभव सँगाल्नु भएको छ कि छैन ?

-केही बेर सोचेर) अचेलका युवायुवती यो कुरामा फास्ट छन् । समाज निकै आधुनिक भैसकेको छ । अनुभव लिन कोही पछि पर्दैनन । यति भनेपछि तपाईं आफै कुरा बुझ्नुहुन्छ ।

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.