भूपाल राना “आभाष”, नेपाल
आजभन्दा ४५ वर्ष अगाडि जन्मेका चन्द्र बहादुर बिक, वाकु-९, सोलुखुम्बु निवासी हुन् । दुई छोरा र पाँच छोरीको बाबु चन्द्र बहादुर बिक पेशाले कृषक हुन् । एक कक्षा पनि नपढेका बिकलाई आजकल गाउँघरमा सुत्केरी अर्थात प्रसुती डाक्टर भनेर सबैले बोलाउँछन् । त्यसो त उहाँले अहिलेसम्म धेरै सुत्केरी महिलाहरु जो मृत्युको मुखसम्म पुगेकाहरुलाई पनि सफलतापूर्वक बचाउनु भएको छ । प्रसुती सम्बन्धी कुनै पनि तालिम नलिएका बिक आफ्नो बुद्धी, विवेक र अनुभवको आधारमा उपचार गर्नुहुन्छ ।
उहाँले पहिलो पटक आफ्नै कान्छी बुहारी सुत्केरी हुनेबेला बच्चा उल्टो दिशामा रहेकोले वच्चा पैदा हुन कठिनाई हुँदा उहाँको प्रयास पश्चात नै स-कुशल बच्चा पैदा भएको थियो । त्यस्तै वाकु-८ की एक महिला जो दुई दिन देखि सुत्केरी व्यथा लागेर बच्चा जन्माउन नसकेकी र रक्तस्राव बढी भएकोले उहाँकै प्रयासले ४ घण्टा पछि हातको मद्दतले बच्चा पैदा गराउन सफल हुनु भएको थियो । त्यस्तै उहाँ थप्नुहुन्छ, वाकु गाबिसकै हाँकुलामा बच्चा पैदा हुँदा पाठेघर बाहिर आएको र अस्पताल पुर्याउन सम्भव एकदम कम भएकोले उहाँकै प्रयासबाट पाठेघरलाई हातले भित्र पठाएर आमा र बच्चा दुबैलाई बचाउँनु भएको र अझैं पनि उहाँहरु स-कुशल नै हुनुहुन्छ भन्नुहुन्छ ।
त्यस्तै उनले गरेको मध्य सबैभन्दा बढी जटिल लागेको चाँही हाँकुलामा नै जहाँ बच्चा पैदा भएपछि शाल अर्थात बच्चाको साथी नझर्दा ११ घण्टासम्म वेहोश भएकी महिलाको पनि हातले नै शाल निकालेर स-कुशल बचाएँ भन्नुहुन्छ । यति जोखिमपूर्ण काम जो अवैज्ञानिक तरीकाले गरी रहनु भएको छ यस्मा कुनै अप्ठ्यारो महसुस हुँदैन भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ खै ! के गर्नु गाउँमा ठुलो अस्पताल छैन, जिल्लाको अस्पतालसम्म पुग्नको लागि कम्तिमा दुई दिनसम्म लाग्छ र बाटो-घाटो पनि राम्रो छैन त्यसैले उहाँहरु कै जिम्मेवारीमा यो जोखिम काम गर्दै आएको छु र आजसम्म १४ जना जतीको मैले यस्तो उपचार गरें शायद यो काम गर्नको लागि मैले नपढें पनि भगवानले नै सिकाएको जस्तो लाग्छ भन्नुहुन्छ । उहाँ अझ थप्नुहुन्छ आफ्नै छिमेकी गाउँ सकरनाममा जीत बहादुर राईको भैंसीले पाडों उल्टो दिशाबाट जन्माउन खोज्दा नसकेर मान्छेलाई जस्तै गरेर पाडोंलाई पनि स-कुशल निकाले भन्नुहुन्छ ।
आजभोलि वाकु गाविसमै सुत्केरी हुनु भन्दा अगाडि नै उनलाई बोलाई बच्चाको अवस्था ठीक छ या छैन भनि जाँच गर्नको लागि बोलाउन आउँछन रे अनि कुनै झर्को नमानी गएर जाँच गरीदिन्छु र कतिपयलाई विश्वास नभएको खन्डमा अस्पातल पनि जान्छन तर अहिले सम्म त्यस्तो नराम्रो भएको छैन भन्नुहुन्छ । उहाँ हाँस्दै भन्नुहुन्छ कुनै कुनै केसमा त आफै पनि सुत्केरी झैं रगताम्य नै हुन्छु के गर्नु आई परेपछि लाज मानेर पनि नहुने रैछ आखिर सेवा नै धर्म न हो । तर धेरै जटिल केस भएको खन्डमा यस्तो काम गर्नु पर्यो भने परिवारको जिम्मेवारी राखेर मात्र गर्छु भन्नुहुन्छ । यस्तो जटिल र चुनौतीपूर्ण काम गर्नुहुन्छ यो गरे बापत कति पारिश्रमिक लिनुहुन्छ या तोकेर नै लिनुहुन्छ भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ, अहिले सम्म मैले यती नै भनेर कसैसँग मैले कुनै पारिश्रमिक लिएको छैन मेरो दु:ख हेरेर उनिहरुले जती दिन्छन उती नै हात थाप्छु र यो काम गरे बापत म पारिश्रमिकको आशा पनि राख्दिन तर मेरो धर्म भनेको अप्ठ्यारो परेको बेला उनिहरुको ज्यान बच्चाउनु हो ।
समग्रहमा भन्नु पर्दा यस्तो समस्या वाकु गाबिसको मात्र होइन अस्पतालको पहुँच नभएको ठाउँमा यस्ता चन्द्र बहादुर बिक जस्तै भई दिए शायद अकालमै अरु सुत्केरी महिला र बच्चा दुबैले ज्यान दिनु पर्दैन होला । चन्द्र बहादुर बिकको यो सीप अवैज्ञानीक भए पनि आपत परेको बेलामा अति नै स्रहानिय छ यो उनको कला र शैली दुबैलाई हाम्रो सलाम छ । जिल्ला तथा वाकु गाविसकै अगुवाईहरुले उनलाई तालिमको व्यवस्था गरी अझ कुशल बनाई दिए कति राम्रो हुने थियो होला । हामीलाई लाग्छ हामी अर्को चोटि उहाँसँग भलाकुशारी गर्न जादा उहाँको घरमा सुत्केरी हुने बेला प्रयोग हुने प्लास्टिक पन्जा, डिटोल साबुन, सफा कैचीं आदी र फाप्लु अस्पतालले तालिम दिएको प्रमाण-पत्र देख्न पाईयोस ।
Posted by: Jay Ale
bhgwan ko den ho koi na koi ma huner hun6
dherai ramro kura prakshit garai dinu bhayo bhupal ji thanks for this news.