राजेश हमाल, करिश्मा मानन्धर, दीपक विष्ट र मीन गुरुङविरुद्ध उजुरी


imageनयाँ पत्रिका, काठमाडौं, १४ कात्तिक । नेपाली चलचित्रका स्थापित अभिनेता राजेश हमाल, नायिका करिश्मा मानन्धर, तेक्वान्दो खेलाडी दीपक विष्ट र भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीन गुरुङविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको छ । रियल जुसमा लेदो र कीरा भेटिएको भन्दै उपभोक्ता हित संरक्षण मञ्चले हालेको उजुरी छानबिनमा रहेकै वेला सर्वसाधारणलाई भ्रमित पार्न विज्ञापन गरेको भन्दै उनीहरूविरुद्ध मुद्दा परेको हो ।

भारतीय बहुराष्ट्रिय कम्पनी डाबर नेपाल र त्यसको उत्पादन रियल जुसको गुणस्तर सम्बन्धमा सरकारले छानबिन गरिरहेको अवस्थामा छानबिनलाई प्रभाव पार्नेगरी भ्रामक विज्ञापन गरेकोले आवश्यक छानबिन गरी कारबाही गर्न र भ्रामात्मक विज्ञापन तत्काल रोक्न माग गर्दै मञ्चले उनीहरूविरुद्ध आइतबार जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गरेको हो । मञ्चको केन्द्रीय कार्यसमिति तथा काठमाडौं र ललितपुर जिल्ला कार्यसमितिले संयुक्त रूपमा उजुरी हालेको हो ।

बजारमा बिक्री-वितरण भइरहेको रियलमा लेउ, लेदो र कीरा फेला परेपछि मञ्चले भदौ २१ गते डाबर नेपाल प्रा.लि. र कम्पनीका सञ्चालकहरू र पदाधिकारीहरूविरुद्ध वाणिज्य विभागमा उजुरी हालेको थियो । उजुरीका विषयमा अहिले छानबिन भइरहेको छ । ‘यसरी छानबिन भई गुणस्तर परीक्षण भइरहेको बखत सो कार्यलाई प्रभावित गर्नेगरी चलचित्रमा काम गर्ने, नाफा लिई सामान बेच्ने र खेलकुदमा काम गर्ने व्यक्तिहरूलाई रकम दिई उनीहरूमार्फत विज्ञापन प्रकाशन/प्रसारण गराएको देखिएको छ,’ मञ्चले हालेको उजुरीमा भनिएको छ ।

मञ्चले नायक हमाल, नायिका मानन्धर, खेलाडी विष्ट र व्यापारी गुरुङ खाद्य परीक्षक र खाद्य उत्पादन प्रविधिका विषयमा कुनै जानकारी नभएका र आफ्नो क्षेत्रमा पाएको ख्यातिलाई डाबर नेपालबाट रकम लिई बिक्री गरी भ्रामक विज्ञापन गरेकाले उनीहरूका विषयमा आवश्यक छानबिन गर्न प्रशासनसमक्ष उजुरी हालेको जनाएको छ ।

मञ्चको काठमाडांै कार्यसमितिका सचिव जगन्नाथ मिश्रका अनुसार चलचित्र, खेलकुद र व्यापारका क्षेत्रमा कमाएको ख्यातिको दुरुपयोग गर्दै हमाल, मानन्धर, गुरुङ र विष्टले रियलको गुणस्तर परीक्षण भइरहेको समयमा जनतालाई भ्रम सिर्जना गर्नेखालको विज्ञापन दिन पाइँदैन । ‘गुणस्तर छानबिन भइरहेको वेला छानबिनको टुंगो नलागीकन भ्रामात्मक विज्ञापन भइरहेकोले ती व्यक्तिहरूमाथि छानबिन गरी गलत विज्ञापन रोक्ने आदेश जारी गर्न र सो आदेशको उल्लंघन गरेमा उपभोक्ता संरक्षण ऐनअनुसार कारबाही गर्न भनेका छौँ,’ उनले भने । उनका अनुसार उपभोक्ता संरक्षण ऐन ०५४ को दफा १० को खण्ड घ अनुसारको कसुरमा सोही ऐनको दफा १८ को खण्ड घ बमोजिम ५ वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना गर्न सकिनेछ ।

मञ्चले उपभोक्ता संरक्षण नियमावली ०५६ को नियम ५२ र सरकारको ०६४ जेठ ३१ को निर्णयअनुसार भ्रमपूर्ण विज्ञापन तत्काल रोक्नसमेत अनुरोध गरेको छ । बजारमा लेउ, लेदो र कीरा भएको रियल बिक्री गरेको भन्दै मञ्चले दिएको उजुरीको विषयमा छानबिन गर्ने क्रममा वाणिज्य विभागले रियलको गुणस्तर जाँचका लागि ल्याब टेस्ट गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाएको जनाएको छ । उपभोक्ता हित संरक्षण मञ्चको काठमाडौं जिल्ला कार्यसमितिले २१ भदौमा वाणिज्य विभागका निरीक्षण अधिकृत कमल थापासमक्ष दिउँसो दुई बजे उजुरी हालेको थियो ।

मञ्चका पदाधिकारीले २० भदौमा चाबहिलको गंगाहिटी- ७ मा रहेको पार्वती थापाले सञ्चालन गरेको ‘पारू स्टोर×’मा बिक्रीका लागि राखिएको ल्द्य ण्ण्ज्ञद्ध इरज्ञ ब्याच नम्बरका रियलमा लेउ, लेदो र कीरा पाएको भोलिपल्ट नै गुणस्तर छानबिनका लागि विभागमा उजुरी हालेको थियो ।

उपभोक्ता संरक्षण ऐन ०५४ को दफा १० अनुसार अखाद्य वस्तु बिक्री-वितरण गरी जनस्वास्थ्यमा असर गरेको कसुरमा सोही ऐनको दफा १८ बमोजिम सजायसमेत गरी पाऊँ भनी मञ्चले डाबर नेपाल प्रा.लि. र सोही कम्पनीका सञ्चालकहरू र पदाधिकारीहरूविरुद्ध वाणिज्य विभागमा उजुरी हालेको थियो । तर, सो उजुरीको छानबिन दुई महिना बितिसक्दा पनि कुनै कार्य अगाडि बढ्न नसकेपछि मञ्चले सरकारका विरुद्ध नै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ । मिश्रका अनुसार सरकारले यो विषयमा यसैगरी ढिलासुस्ती गर्दै जाने र रियलको गुणस्तरका सम्बन्धमा कुनै छानबिन अगाडि नबढाउने हो भने मञ्चले छुट्टै सरकारविरुद्ध मुद्दा हाल्नेछ । ‘यो विषयमा लिंगरिङ गरिराख्ने र गुणस्तर परीक्षणका लागि ल्याबमा पठाएका छौँ भन्दै उजुरी पेन्डिङमा राख्ने हो भने अदालतमा जानुको विकल्प छैन,’ मिश्रले नयाँ पत्रिकासित भने ।

उपभोक्ता हित संरक्षण ऐन ०५४ को दफा ऐनको दफा १८ मा अखाद्य वस्तु बिक्रीका कारण उपभोक्ताको ज्यान जोखिम भएमा १४ वर्षसम्म कैद वा ५ लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्दछ । यसैगरी मञ्चले विभागमा २१ भदौमा बुझाइएको उजुरीमा उजुरीको अनुसन्धानको अन्तिम टुंगो नलागेसम्म रियलको उत्पादन, बिक्री-वितरण र उपभोग रोक्का गर्नसमेत भनिएको थियो । तर, त्यसको पनि हालसम्म कुनै कारबाही हुन सकेको छैन ।

अभिनेता राजेश हमालले भने रियलको गुणस्तरका विषयमा उजुरी परेको विषयमा आफूलाई कुनै जानकारी नभएको बताएका छन् । ‘मलाई यो विषयमा डाबर नेपालले पनि जानकारी गराएको थिएन,’ उनले भने, ‘खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले रियलमा कुनै समस्या नभएको चिठी देखाएका थिए । सो चिठीको कपी भने मसँग छ ।’ उनले रियलमा विज्ञापन खेल्न भनेर डाबर नेपालले भनेको झन्डै दुई महिनापछि मात्र आफू तयार भएको पनि बताए ।

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.