खाडी राष्ट्र जानका लागि नेपाली दूतावासको स्वीकृति चाहिने


काठमाडौँ, कात्तिक ९ । कतार, संयुक्त अरब इमिरेट्स, कुवेत र साउदी अरब जान अब सम्बन्धित नेपाली दूतावासको पूर्वस्वीकृति लिनुपर्ने भएको छ । वैदेशिक रोजगारमा लुकिछिपी खाडी मुलुक पुगेका महिला कामदारले दुःख पाएको र यौन शोषण भोगेको गुनासो आएपछि त्यसलाई निरुत्साहित गर्न सरकारले यस्तो कदम चालेको हो ।

प्रधानमन्त्री माधवकुमार नेपालले सोमबार एक उच्चस्तरीय बैठकमा सात दिनभित्र यससम्बन्धी निर्देशिका ल्याउन अध्यागमन विभागलाई निर्देशन दिएको उच्च स्रोतले जानकारी दियो ।

अध्यागमनले नयाँ निर्देशिका तयार पारेपछि ती चार खाडी देश जानेले सम्बन्धित दूतावासबाट भिसा लिएरमात्र पुग्दैन । रोजगारका लागि जानेले उताबाट कम्पनीले पठाएको कागजपत्र सहित नेपाली दूतावासलाई जानकारी पठाउनु पर्नेछ । व्यक्तिगत भ्रमण, व्यापार-व्यवसाय वा अन्य प्रयोजनका लागि जानेले पनि आवश्यक दस्तावेज पठाउनु पर्छ ।

यसका लागि भिसाको किसिम अनुसार कम्तीमा सात किसिमका फारम भरेर पठाउनुपर्ने व्यवस्था गरिनेछ । नेपाली दूतावासले प्राप्त कागजपत्रमा उल्लेख भएबमोजिम साँच्चिकै काम पाएको हो कि होइन वा उसको भ्रमणको सत्यतथ्य बुझेर सहमति वा असहमति पठाउनेछ । त्यही आधारमा ती देश जान पाइने कि नपाइने तय हुनेछ ।

भिजिट, डिपेन्डेन्ट, टुरिस्ट, इन्ट्रीलगायत भिसामा यो नियम लागू गरिने स्रोतले बतायो । अध्यागमनले सात दिनभित्र यससम्बन्धी नियम बनाएपछि मन्त्रिपरिषद् बैठकबाट पारित गरी कार्यान्वयन गरिनेछ, प्रधानमन्त्री सल्लाहकार समूहका एक सदस् यले नागरिकसँग भने । भिजिट भिसाका नाममा अवैध रूपमा महिला कामदार जाने क्रम बढेपछि यस्तो नियम लागू गर्न खोजेको उनले बताए । निर्देशिका लागू भएपछि सम्बन्धित दूतावाससँग पनि नेपालबाट आएका सबै नागरिकको पूर्ण विवरण रहन्छ । कसैलाई कुनै समस्या परे तत्काल उद्धार गर्न सकिन्छ ।

नेपालकै विमानस्थलबाट अवैध जाने कामदार संख्या ह्वात्तै बढेकाले त्यसलाई रोक्न र कामदारको पूर्ण विवरण राख्न पनि हामीले यो निर्देशिका ल्याउन लागेका हौं, ती सदस्यले भने ।

त्यतिञ्जेलका लागि अध्यागमनले खासगरी भिजिट/इन्ट्री भिसामा खाडी जान खोज्नेलाई त्रिभुवन विमानस्थलमै कडाइ गर्न पनि प्रधानमन्त्रीले निर्देशन दिएका छन् । वैदेशिक रोजगार ऐनअनुसार कुनै पनि मुलुकमा जान रोक लगाउन पाइँदैन । यही प्रावधानका कारण वैदेशिक रोजगारका नाममा खाडी मुलुकमा देखिएका अव्यवस्था नियन्त्रण गर्न सरकारले घुमाउरो बाटो अपनाएको हो ।

यसअनुरूप एउटा कम्पनी र एउटा तलबसुविधा कबुल गरेर त्योभन्दा तल्लो स्तरको काम लगाउने वा हुँदै नभएको कम्पनी देखाएर पैसा ठग्ने प्रवृत्ति नियन्त्रण हुने सम्बन्धित अधिकारीहरूले बताएका छन् । नेपाली दूतावासले कम्पनीको सोधखोज र पाउने भनिएको तलबसुविधा यथार्थ हो कि होइन बुझेर अनुमति दिने हुँदा ठगीको प्रवृत्ति निरुत्साहित हुने अधिकारीहरूको विश्वास छ ।

सरकारी वा गैरसकारी स्तरबाट भएका विभिन्न अध्ययनले खाडी मुलुक गएका महिला कामदारको अवस्था अत्यन्तै दयनीय देखाएको छ । उनीहरू धेरैजसो घरेलु कामदारका रूपमा गएको पाइन्छ । कति महिलाले तोकिएको तलबसुविधा नपाउनुका साथै आफ्नै घरधनीबाट यौनलगायतका शोषणको शिकार हुनुपरेको खुलेको छ ।

चरम शोषण सहन नसकेर दूतावासको शरणमा आउनेहरू पनि उत्तिकै छन् । खाडीमा नेपाली महिलाले भोगेको कारुणिक स्थितिति रोक्न प्रयन्त गर्दै आएका कुवेतसिथत नेपाली राजदूत मधुवन पौडेलले सोमबारको बैठकमा भारतबाट भन्दा नेपालको त्रिभुवन विमानस्थलबाट धेरै गुणा बढी अवैध कामदार गइरहेको बताएका थिए ।

नेपालबाट जान कडाइ गरिएपछि भारतीय बाटोको प्रयोग बढ्नसक्ने हुँदा त्यसतर्फ पनि बैठकले चासो देखाएको थियो । यसका लागि भारतीय पक्षसँग सहयोगको आग्रह गरिने स्रोतले बतायो । भारतको बाटो हुँदै अवैध रूपमा खाडी मुलुक जाने क्रम जारी छ । पहिले नयाँ दिल्लीबाट जाने क्रम बढेपछि नेपाल सरकारको अनुरोधमा रोक लगाइएको थियो । त्यसपछि अवैध लग्ने गिरोहले मुम्बई र चेन्नईको नाका पहिल्याए । त्यहाँ पनि कडा निगरानी राख्न भारत सरकारसँग अनुरोध गर्ने निर्णय भएको स्रोतले बतायो ।

प्रधानमन्त्री कार्यालयमा सोमबार बसेको बैठकमा परराष्ट्र, गृह र श्रम सचिवसहित तीनवटै सुरक्षा निकायका प्रमुख सहभागी थिए । यसअघि श्रम सह-सचिव पूर्णचन्द्र भट्टराईको संयोजकत्वमा गठित समितिले खाडी मुलुकमा अवैध रूपले महिला कामदार गइरहेको भन्दै नियन्त्रण गर्न सुझाव दिएको थियो । त्यही सुझावका आधारमा प्रधानमन्त्रीले यो निर्देशन दिएका हुन् ।

समितिले भिजिट भिसामा जानेहरूसँग दोहोरो टिकट, विदेशी मुद्रा, आमन्त्रणको विश्वसनीय प्रमाण र सोधपुछको व्यवस्था प्रभावकारी बनाउन सुझाव दिएको थियो ।

Posted by: Jay Ale                                       Source: Nagarik

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.