अजित तिवारी, विराटनगर, मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मतदाता नामावली संकलन तत्कालै नरोके जे पनि हुन सक्ने चेतावनी दिएका छन्। जे पनि भनेको के भन्ने ’bout चाहिँ उनले केही खुलाएनन्। मतदाता नामावली संकलन र फोटो खिच्ने कार्यले निर्वाचन आयोगमार्फत सरकारले मधेशमा बिभेदको नीति लिएको उनको आरोप छ।
‘नागरिकता समस्या हल नभएसम्म मतदाता नामावली संकलन कार्य रोक्नुपर्छ’-विराटनगर विमानस्थलमा शुक्रवार सञ्चारकर्मीहरुसित कुरागर्दै फोरम अध्यक्ष यादवले भने,‘नत्र जे पनि हुन सक्छ, जनता आन्दोलनमा उत्रिनेछ, विद्रोह गर्छ।’ नागरिकता पाउनबाट ३३ लाख मधेशी अझै वञ्चित रहेको उनको दाबी छ।
‘मतदाता नामावली संकलन कार्य तत्कालै रोक्न आग्रह गरेका छौ, बलजफ्ती गरे बिद्रोह हुन्छ’-नेता यादवले भने,‘निर्वाचन आयोगलाई प्रयोग गरेर सरकारले मधेशी जनतामाथि ‘भेदभाव’ गर्न पाउँदैन।’ फोरमको बुद्धिजीवी भेलामा सहभागी हुन विराटनगर आएका अध्यक्ष यादवले नागरिकता अनिवार्य गरेर संकलन भइरहेको मतदाता नामावलीको कार्य कुनै पनि हालतमा हुन नदिने धम्की दिएका छन्।
‘मधेशका नागरिकता समस्या छ भनेर सबैलाई थाह छ, तरपनि त्यसैलाई अनिवार्य गरेर मतदाता नामावली संकलन गर्नु हुँदैन’-यादवले भने,‘मतदाता नामावली संकलन कार्य रोक्नु पर्यो, नत्र बैवाहिक सम्बन्धको प्रमाणपत्र, जन्मदर्ता, जग्गाजमिनको लालपूर्जा वा राजनीतिक दलको सिफारिसलाई आधार बनाएर संकलन गर्नुपर्यो।’
फोरम अध्यक्ष यादवले नयाँ सरकार गठनपछि बन्ने टोलीले नागरिकता वितरण गरेपछि मात्र मतदाता नामावली संकलन गर्नुपर्ने सुझाव दिए। ‘अहिले कुन चुनाव आयो भनेर हतार गरेको, नागरिकता वितरण भएपछि मतदाता नामावली संकलन गरे भइहाल्यो नि।’
Posted by: Shiva Paudel