बालबालिका सहभागी नगराउन राष्ट्रपति कार्यालयको चासो
केदार ओझा,
काठमाडौं , आश्विन १५ – नेपालमा शाखा रहेको एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले आयोजना गर्ने शान्ति र्याली र सम्मेलनका लागि एक सातादेखि स्कुले बालबालिकालाई परेड र खेलमा व्यस्त बनाइएको छ । शनिबारको तयारी अभ्यास बिहीबारदेखि दशरथ रंगाशालामा सुरु हुने भएको छ । बालकालिकासहित शनिबार उपत्यकामा करिब २० हजारालाई उतार्ने तयारी ‘ग्लोबल पिस फेस्टिबल साउथ एसिया २०१०’ नामको संस्थाले गरेको हो ।
राष्ट्रपति रामवरण यादव प्रमुख अतिथि हुने र्यालीपछिको समारोहमा कक्षा सात र आठमा पढिरहेका कम्तीमा १२ हजार बालबालिकालाई सहभागी गराइन लागेको प्याब्सनका अधिकारीहरूले जानकारी दिए । राष्ट्रपति प्रमुख अतिथि हुने सम्मेलनमा बालबालिकाहरू जबरजस्ती ल्याउन लागेको सूचना थाहा पाएपछि राष्ट्रपति कार्यालयका सचिव वामनप्रसाद न्यौपानेले आयोजकसितको साझेदार संस्था उद्योग वाणिज्य महासघका अध्यक्ष कुशकुमार जोशीलाई फोन गरी सम्मेलनमा बालबालिकालाई जबरजस्ती नल्याउन सूचित गरेका छन् ।
विषेश भूमिका रहेका विधार्थीहरूले तीन र सामान्य भूमिका रहेका विद्यार्थीहरूलाई एक दिन उपस्थित गराउने तयारी आयोजकको छ । बालबालिकाहरूलाई र्यालीमा सहभागी गराउने’bout विद्यालयले अभिभावकलाई जानकारीसमेत गराएको छैन । अन्तिम तयारीका लागि लिटिल एन्जेल्स, भीएस, जेम्सलगायत विद्यालयका बालबालिका रंगशाला लगिएको थियो ।
दशरथ रंगशालामा सहभागी हुनेले ‘मिड टर्म’ परीक्षामा ‘थप नम्बर पाउने, नहुनेले नपाउने’ शिक्षकहरूले बताएको विद्यार्थीले जनाए । सहभागीका लागि तयार बालबालिकाहरू अधिकांश ठूला स्कुलका छन् ।
र्याली र सभामा सरिक गराउनका लागि बालबालिकाहरूलाई विगत सात दिनदेखि उनीहरूकै स्कुलमा प्रशिक्षण गराउने कार्य भइरहेको छ । अधिकांश स्कुलमा केही दिनयता कक्षा आठ र नौका विद्यार्थीहरू किताब-कापी नलिई स्कुल गइरहेका छन् । केही अभिभावकले बिहीबारदेखि बालबालिका पठाएका छैनन् ।
‘हामीले सभा, र्यालीमा लैजान बालबालिका विद्यालय पठाएका होइनौँ’, अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले भने, ‘कुनै पनि नाममा पढ्न गएका विद्यार्थीलाई कार्यक्रम, सभा, र्यालीमा सहभागी गराइनुहुन्न । विद्यालयले बालबालिकाको टाउका बेचेर व्यापार गर्न पाउँदैनन् ।’
उनले अरूले लैजाँदा विरोध गर्ने विद्यालय सञ्चालकले अभिभावकलाई सूचना समेत नदिई एनजिओको र्यालीमा लैजानु आपत्तीजनक भएको बताए । लिटिल एन्जेल्सका एक अभिभावकका अनुसार दैनिकको परेडले चर्को घाममा घण्टौं उभ्याएका बालबालिका काला भएका छन् ।’ स्कुलमा दिनभरि गरिने पिटीका कारण दैनिक ३ देखि ५ जना बेहोस हुने गरेका विद्यार्थीले बताए ।
प्याब्सन महासचिव विजय साम्बाहाम्फेका अनुसार बालबालिकालाई जबरजस्ती र्यालीमा प्रयोग गर्न लागेको नभई शान्ति क्षेत्रको विकासलाई सैद्धान्तिक गर्न कार्याक्रममा सहभागी गर्न लागिएको हो । ‘शान्तिको कार्यक्रममा सहभागी गराउन लागिएको हो’, उनले भने, ‘पढाइ बन्द गरेर विद्यार्थी सहभागी गराइएको छैन ।’ उनका अनुसार करिब २० हजार र्यालीमा सहभागी हुनेछन् ।
छ महिनाअघि गत मार्च महिनामा एकनाथ ढकाल अध्यक्ष रहेको युनिभर्सल पिस फेडरेसनबाट छुट्टएिको समूहले गठन गरेको ‘ग्लोबल पिस फाउन्डेसन’ ले शान्ति भेला गर्न लागेको हो । युनिभर्सल पिस फाउन्डेसनले भेलामा आफ्नो कुनै संलग्नता नभएको प्रष्ट पारिसकेको छ । शान्तिवादी आध्यात्मिक नायक मानिने डा. सन म्योङ्गको साहिंला छोराले विद्रोह गरी अमेरिकामा अर्को संस्था दर्ता भएलगत्तै नेपालमा उक्त संस्थाको शाखा खुलेको हो ।
Posted by: Narayan Nepal