तीजका लागि कुर्ता सुरुवाल


मन्दिरा घिमिरे
मैतिदेवीकी मीना गुरङ बागबजारस्थित एक बुटिकमा आफ्नी बहिनीलाई कुर्ता सुरुवाल रोज्दै थिइन् ।  तीज नजिक आउँदै गरेकाले होला उनका आँखा राता रंगका कुर्तातर्फ केन्द्रित थिए । तीजकै मौका पारेर होला बुटिक पनि राताम्मै थियो, हरेक प्रकार र डिजाइनका कुर्ता, सुरुवाल, लेङ्गा सारीलगायतका महिला परिधानको सजावटले । एउटा रातो र बुट्टा भरेको कुर्ता सुरुवाल मन परेपछि मीनाले त्यसको मूल्य सोधिन् । तर, मूल्य सुनेर उनी छक्क परिन् । “अघिल्लो वर्षको तीजमा ठ्क्याक्कै यस्तै कुर्ता सुरुवाल जम्मा ३ हजारमा किनेको यसपाला ६ हजार !” अलि कम मूल्य पर्ने कुर्ता सुरुवालतिर आँखा लगाउँदै उनले भनिन् ।
बजारमा हरेक उपभोग्य वस्तुको मूल्य अकसिँदै गर्दा कपडालगायत यस्ता पहिरनहरूको मूल्य पनि चुलिँदो छ । त्यसमा पनि चाडबाडको बेला यस्ता सरसामानको मूल्य अन्य समयमा भन्दा धरै गुना महँगो पर्ने गरेका छन् ।
राजधानीमा महिलाका पहिरन ज्यादा पाइने बागबजार, मखन टोल, न्युरोडलगायतका सबै स्थानमा तीजको अवसर पारेर आकर्षक र नयाँ डिजाइनका कुर्ता, सुरुवाल, साडी लेङ्गा र अन्य आवश्यक पहिरन किन्न पुग्ने सबै उपभोक्ताले गत वर्षको तुलनामा मूल्य अत्यधिक बढेको अनुभव सुनाए । अन्य सामान्य समयमा भन्दा यो समयमा ती स्थानहरूमा महिलाको उपस्थिति पनि बाक्लिन थालेको छ । बग्रेल्ती खुलेका ‘सपिङ मल’ले केही उपभोक्त तानेका भए पनि मध्यमवर्गका महिलाले भने यी स्थानमै गएर आवश्यक पहिरन खरिद गर्ने गरका छन् । विगतमा यी स्थानमा सपिङ मलमा भन्दा धेरै कम मूल्यमा आवश्यक पहिरन पाइने गरेको भए पनि यस वर्ष मूल्य दोब्बरभन्दा पनि धेरै बढेको छ ।
अहिले राजधानीका साना पसल हुन् या सपिङ महलहरू सबैतिर कुर्ता सुरुवाल र लेङ्गा सजाएर राखेको देख्न सकिन्छ । सामान्यतया हिन्दू परम्परामा तीज रातो सारी लगाएर मनाइने भए पनि सारीमा सजिन अप्ठेरो मान्ने अविवाहित महिलाले भने कुर्ता सुरुवाल नै रोज्छन् । धेरै मात्रामा भारतका विभिन्न सहरबाट आयात गरिने यस्ता पहिरनहरू मलेसिया, दुबई तथा पाकिस्तानबाट पनि ल्याइन्छन् ।
आकर्षक पहिरनले मानिसको व्यक्तित्व प्रदर्शन गर्छ । त्यसमा पनि सुन्दरताका प्रतिमूर्ति मनिने महिलाहरुमा आकर्षक पहिरनको भिन्नै महत्व रहने गर्छ । सामाजिक समारोह, भोज अन्य औपचारिक कार्यक्रम र यस्तै चाडपर्वमा आर्य नारीहरू सारीमा सजिने परम्परा नै हो । तर, बदलिँदो समय, आधुनिक बन्दै गएको समाज र मानिसको आर्थिक स्तरमा समेत भएको परिवर्तले यी पहिरनहरू हिजोआज सामाजिक आडम्बर देखाउने माध्यमको रूपमा पनि प्रयोग हुन थालेका छन् ।
“हुनेखानेका लागि त ठीकै हो तर मध्यमवर्गका महिलालाई भने यसले ज्यादो अप्ठ््यारो पार्ने गर्छ,” डिल्ली बजारस्थित कन्या क्याम्पसमा स्नातक दोस्रो वर्ष अध्ययनरत पुष्पा खड्काले भनिन्, “एउटै समाजमा रहने भएपछि तीज जस्तै अन्य चाडपर्व, वैवााहिक र अन्य अनौपचारिक समारोहमा महिलाले लगाउने महँगा र आकर्षक बुट्टासहितका सारी, कुर्ता र लेङ्गा निक्कै चर्चाको विषय बन्छ ।” उनको अनुभवमा यसले सामान्य महिलामा हीनताबोधको भवना पैदा गर्ने गर्छ । जसका कारण कतिपय महिला समाजिक समारोह, र जमघटमा समेलसम्म हुन चाहँदैनन् ।
सम्बन्धित व्यवसायीका अनुसार हाल राजधानीमा करिब १ लाख रुपैयाँभन्दा धेरै मूल्य पर्ने सारी र लेङ्गा उपलब्ध हुन थालिसकेका छन् । कुर्ता सुरुवाल भने करिब ४० हजार रुपैयाँसम्मका पाइने उनीहरूले बताए । राम्रो सादा कुर्ता सुरुवालका लागि ३ हजारदेखि १२ हजारसम्म मूल्य पर्छ भने लेङ्गाचाहिँ ८ हजारदेखि १५ हजारसम्मका उपलब्ध हुने गरेको व्यवसायीहरु बताउँछन् ।
तीजमा मात्र होइन अन्य समयमा पनि महँगा कुर्ता लगाउनेको संख्या राजधानीमा बढ्दै जान थालेको छ ।  बहुमूल्य पत्थर, सितारा, जरी, चाँदी र सुनको जलपका साथै अतिरिक्त सज्जा गरिएका कुर्ता सरुवाल र लेङ्गाको माग दिनप्रतिदिन बढ्दै गएको छ । यसले पनि सौखिन राजधानीवासीको संख्यामा वृद्धि हुँदै गएको अनुमान व्यवसायीहरूको छ । साधारणभन्दा पनि बुट्टा भरेका कुर्ता, सुरुवाल, लेङ्गामा पनि महिलाको अकर्षण बढ्न थालेको छ । बुट्टामा प्रयोग गरिने वस्तु र त्यसको डिजाइनको आधारमा यी पहिरनहरूको मूल्यमा पनि फरक पर्ने गरेको छ । लेङ्गा र कुर्ता सुरुवाल कति महँगो बनाउने भनेर स्वयं व्यवसायी आफैंले समेत मूल्य निर्धारण गर्ने गरेका छन् । यसले भने मध्यम वर्गीय महिलालाई ज्यादै हानी पु¥याएको छ । भारतका विभिन्न बजारमा चलेका कुर्ता सुरुवाल तथा लेङ्गा केही सातामै नेपालमा उपलब्ध हुने गरेका छन् । कुर्ता र लेङ्गाको मूल्य बढाउन थप सजावट गर्ने व्यवसाय नै सुरु हुन थालिसकेका छन् ।
महिलाले लगाउने पहिरनमध्ये सबैभन्दा लोकप्रिय मानिने कुर्ता सुरुवाल र लेङ्गा थप गरिने साजसज्जाले बढाएको मूल्य र त्यसप्रति आम सर्वसाधारणको समेत मोह बढेको देख्दा भने मुलुकको आर्थिक स्थिति दयनीय होइन, सुध्रिँदै गएको भान हुन्छ ।
कतिपय व्यापारीले पाकिस्तानबाट कुर्ता, सुरुवाल र लेङ्गा आयात गरेको भन्ने गरे पनि ती सबै भारतबाट ल्याएको स्वयं व्यापारीहरू नै स्विकार्छन् । बुट्टा भरेका पाकिस्तानी कुर्ता, सुरुवाल, लेङ्गा र सारी संसारभर प्रसिद्ध मनिन्छन् । तर, महँगो पर्ने भएकाले सबै वर्गका मानिसले पाकिस्तानबाट ल्याइने यी पहिरन खरिद गर्न भने सक्दैनन् । जसका कारण भारतबाटै बुट्टा भरेका रेडिमेट कुर्ता, सुरुवाल र लेङ्गा नेपालमा अत्यधिक ल्याइएका हुन्छन् ।
भारतीय टेलिशृंखलाको प्रभाव
नेपाली महिला, फुर्सदमा भएका बेला टेलिभिजनमा टेलिशृंखला हेरेर पर्दामा लगाएका महँगा कुर्ता, सुरुवाल र लेङ्गाको तुरुन्तै नक्कल गर्ने माहिर मानिन्छन् । भारतीय टेलिभिजनका कलाकारहरूले लगाउने महँगा र अकर्षक पोसाकको अनुशरण गर्दे पार्टीमा आफ्नो तुजुक देखाउन चाहनेहरु नै सबैभन्दा महँगो कुर्ता, सुरmवाल र लेङ्गाका ग्राहक हुने गरेका छन् । “टेलिसिरियलका पात्रले लगाएको देखेपछि नेपाली महिला त्यस्तै पहिरन बनाउन अर्डर दिन्छन्,” एक व्यवसायी सुरेन्द्र गोस्वामीले भने ।
बजारमा हिजोआज धेरै थरीका कुर्ता, सुरुवाल र लेङ्गाको फेसन आएको छ । हिन्दी चालचित्र र त्यसका नायिकाहरूले लगाएका भरमा ती पहिरनको नामकरण हुने गरका छन् । मसकली, अनारकली, दीपिका कली, नेट अर्थात् जालीदार, बनारसी कुर्ता आदि त्यसरी नै नामकरण गरिएका परिहनको नेपाली महिलाहरूले धेरै माग गर्ने गरेका छन् । गोस्वामीका अनुसार मसकली कुर्ता, नेट कुर्ता र बनारसी कुर्ताको बिक्री धेरै हुने गरेको छ ।

Posted by: Raju Gurung

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.