विश्वकै बाठा मान्छेसित काम गर्ने हिराचन लाटो ?


मुस्ताङ जिल्लाको मार्फामा सामान्य थकाली परिवारमा जन्मेका हिराचन अहिले जापानका नेपाली मध्ये एक सफल उद्यमी छन् । एनआरएन भित्र सोझो र छलकपट केहि नजान्ने ब्यक्तिको रुपमा परिचित हिराचनलाई ‘यो हिराचन सोझो छ, केहि गर्न सक्दैन‘ भन्नेपनि निकै छन् । विश्वकै बाठा मानिने जापानीसित काम गर्ने उनी भने सोझै भन्छन्- यो हिराचन विश्वकै बाठा भनेर चिनिने जापानी सित काम गर्छ । अनि यै हिराचनचाहिँ लाटो हुन्छ ?

विश्वका ५७ देशमा फैलिएको एन आर एन भित्र थुप्रै समस्या छन् भन्ने यथार्थ उनले अन्तर्वार्ताका क्रममा पनि पटक पटक दोहोर्‍याएको ‘सामाधान गर्न सकिन्छ‘ भन्ने भनाईले बुझ्न सकिन्थ्यो । अन्तर्वार्ता भरि उनी जापानी नागरिक झैं सरल, सुमधुर, सौम्य र धैर्यताकासाथ प्रस्तुत भएर उनले एन आर एन परिचयपत्र, संयुक्त लगनी, नेपालीका समस्या र तिनको समाधान, अबका आफ्ना योजना लागयतका विषयमा कुनै धक नामनी जवाफ दिए—-

यूरोपेली भेलामा के उपलब्धि भयो ?

यूरोपका २५ वटा देशमा हाम्रो एनआरएनका शाखाहरु छन् । केहि शाखाहरुमा साना तिना समस्याहरु छन् । उहाँहरुसँग प्रत्यक्ष बसेर कुराकानी गरौँ र समस्याहरुको पहिचान गरौँ भनेर म यो बैठकमा आएको हुँ । 

यहाँ तँपाइँहरुले मिटिँग राख्नु भो तर यहिँ आएर दुख पाएका नेपालीका समस्याहरु बुझ्ने भन्दा पनि  आफ्नै कुरा सुनाएर जानु भो नि त ?

कुन देशमा कुन खालको नेपालीहरु छन् र उनीहरुका के कस्ता समस्या छन् भन्ने कुरा हामीले बिश्लेषण गर्दैछौँ । प्रत्येक देशमा पुगेका सबै नेपाली निश्चयनै धनि छैनन । जापानमै पनि त्यस्तै छ । कसैको काम छैन । कोहि एकदम श्रम गरिरहने छन् । कोहि व्यापार र ज्यालादारीमा काम गर्ने छन् । सबैका दुख आ आफ्ना ठाउँमा निश्चयनै छन् । सबै नेपाली बोलाउने र समस्या सुन्ने श्रोत र साधन तथा वातावरण बनिसकेको छैन । ’cause एनआरएन अझै सँस्थागत हुने क्रममा छ । त्यसैले गर्दा एनआरएन धनिहरुको सँस्था र चर्का चर्का कुरा गर्ने सँस्था भनेर आरोप लाग्ने गरेको छ । यो सही होइन । खाडी तथा पूर्व एसियाली र यूरोपका नेपालीहरुका अलग अलग खाले समस्या छन् । यस्तै समस्या बुझौँ र समाधानका उपायहरु खोजौँ भनेरै यस्ता बैठकहरु हुने गर्छन् । यस्ता बैठकहरुमा हाम्रा समस्या उठ्दैनन भनेर गुनासो गर्नु भन्दा म आँफै बैठकमा सहभागि हुन चाहन्छु र मेरो समुहको समस्या राख्छु भनेर आउन सकिन्छ । ’cause एनआरएन सबैको साझा सँस्था हो । हाम्रै कुरा सुन्ने र समाधानका उपाय खोज्ने सँस्था हो । हरेक पल्ट हामीहरुले त्रुटीहरुलाई सच्चाउने र बढी भन्दा बढी सहभागिता जुटाउने क्रममा हामीहरु हुन्छौँ ।

यो पटकको फ्रान्सको बैठकमा अष्ट्रिया र फ्रान्सका एनआरएनएहरुले शरणार्थी भएर बसेका नेपालीहरुको समस्या जोडदार तरिकाले उठाए र पहिलो पटक एनआरएनमा यो बिषयलाई एउटा मुद्दाका रुपमा पनि भित्र्याइयो । के शरणार्थी भएर बसेका नेपालीहरु एनआरएन भित्र पर्दैनन ?

उहाँहरुलाई एनआरएन बाहिर रहनु भएको भन्नु भन्दा पनि एनआरएन आँफै बिधान अनुसार चलिरहेको सँस्था हो । हाम्रो बिधानले १८३ दिन सार्क राष्ट्र भन्दा बाहिर रहेको नेपालीलाई मात्र एनआरएनको परिभाषा भित्र पार्छ र सरकारले पनि त्यसै भनेको छ । नेपालमा बस्ने भारतीय नागरिकहरुलाई भारतिय सरकारले एनआरआइ भित्र पारेको छैन । सार्क राष्ट्रको आफ्नै कानून र परिधि छ । हामीले भारत लगायत सार्क राष्ट्रमा बसेका नेपालीलाई पनि एनआरएन भित्र पारौँ भनेर प्रस्ताब गरेपनि सरकारले त्यो नमानेको हुँदा नेपालमा बाबु आमा रहनुभएका भुटानी शरणार्थीहरु एनआरएनको परिभाषामा पर्दैनन । त्यसैले उहाँहरु छुट्नुभएको हो । तर उहाँहरु नेपाली भाषी र बुबा आमा तथा परिवार उतै रहनुभएको कारण हामीले मानविय सहयोग गर्न सक्छौँ । शरणार्थीहरुका कुरा गर्दा अनेक कानूनी कुराहरु आउँछन् । कसरी अगाडी बढ्न सकिन्छ हामी सरकार सँग छलफल गर्न तयार छौँ ।

यसको मतलब एनआरएनमा पहुँच पुग्नेहरुले आफ्ना काम र  कुरा सबै पुरा गर्न सक्नुहुन्छ । तर दुखीहरुलाई सोच्नु मात्र हुन्छ  ?

त्यसरी नबुझौँ । मैले माथि नै भने हामी सँग श्रोत र साधन कम्ती छ र एनआरएन भित्र असँख्य मुद्दाहरु उठिरहेका छन् । एनआरएन आँफै हज्जारौँ सहयोगीहरुको स्वयँसेबक भावनाले  चलिरहेको सँस्था हो । बजेट छैन हामीसँग । हामी जे गरिरहेछौ आफ्नै गोजी तथा आफ्नै स्वत स्फूर्त सहयोगी भावनाले काम गरिरहेका छौ । अहिले पनि जापान, अमेरिका, खाडी आदिबाट साथीहरु आफ्नै पैसा खर्चेर आएका छन् । हामी सँग बजेट हुन्थ्यो भने हामीहरु छुट्टै डेस्क खडा गरेर ल यो यो काम गर्नुस भन्न सक्थ्यौँ । त्यो छैन । त्यो नभएपनि  म के भन्छु भने समस्यामा परेका साथीहरुलाई समाधानका उपाय पनि थाह हुन्छ । यदि उहाँहरुले आफ्ना मुद्दाहरु एनआरएनको सचिवालय मार्फत लिखित रुपमा उठाइदिनुभए हामीहरुलाई  काम गर्न सजिलो पर्थ्यो ।  हेर्नुस छरिएका आवाजहरुमा शक्ति हुँदैन । आवाज एकिकृत र एउटै भयो भने समस्या पहिचान र समाधान गर्न सजिलो हुन्छ । लबिगँ गर्न सजिलो हुन्छ । लबिगँ पनि अनेकौँ च्यानलहरुबाट गर्न सकिन्छ । कानुनी अप्ठेराहरु भए त्यसलाई समाधान गर्न कहिलेकाँही बाँगोटिँगो बाटोहरु खोज्नुपर्ने पनि हुनसक्छ । नीति निर्माण तहमा पुगेर कुरा राख्नुपर्ने पनि हुन्छ । त्यसैले कृपया उहाँहरुले आफ्ना मुद्दाहरु लिखित रुपमा उठाइदिनुहोस हामी केहि उपायहरु खोज्ने नै छौँ ।

फ्रान्सको सन्दर्भ लिउँ । फ्रान्समा धेरै जसो भुटानी शरणार्थी र उहाँका नेपाली श्रीमतीहरुका का बुबा आमाहरु या त शरणार्थी क्याम्प या बाहिर पनि बस्दै आउनु भएको अबस्था छ । उहाँहरुसँग यूरोपमा काम गर्ने र बस्ने अधिकार छ र उहाँहरुलाई सँयुक्त राष्ट्रसँघले दिएको पासपोर्टमा भूटानी शरणार्थी भनेर लेखेको हुन्छ र भूटान बाहेक अन्यत्र यात्रा गर्न पाइने भनेर लेखेको हुन्छ । त्यसो भएपनि नेपालको कानूनले भुटानी शरणार्थीलाई नेपाल छिर्न दिदोँ रहेनछ । यसले गर्दा  उहाँहरुले बर्षौँ बर्ष देखि नेपालमा आफ्ना आफन्तहरु भेट्न पाइरहनु भएको छैन । छोराछोरीहरु हुर्के बढेपनि उहाँहरु बँधुवा जस्तो बन्नुभो । यो मुद्दा एनआरएनमा कहिल्यै उठेको छैन  ?

मेरो १० महिने कार्यकालको अबधिमा यो मुद्दा मैले पहिलो पटक सुन्दैछु । यहाँ अझ राम्ररी बसेर साथीभाइ सँग छलफल गर्न पाएको भए म यहाँको राजदूत सँग थप कुरा बुझ्थेँ । फ्रान्सकालागि नेपाली राजदूत अत्यन्त सहयोगी,  निडर र उदार खालको स्वाभाव भएका हुन् । यो कुरा नेपाल फर्कन चाहने साथीभाइहरु र राजदूत सँग थप गर्न पाइएन । तर मलाइ के लाग्छ भने नेपालमा रहेका मेरा परिवार र आफन्त भेटेर यतै यूरोप काम गर्न फर्कन्छु भन्नु हुने नेपाली मुलका भुटानीहरुकालागि सरकारी स्तरमा कुरा राख्न  कुनै समस्या होला जस्तो मलाइ लाग्दैन ।

यसकालागि नेपाली मूलका भूटानीहरुका तर्फबाट थप पहल केहि हुनुपर्छ ?

म उहाँहरुलाई आफ्ना समस्याहरु बिस्तृत रुपमा लेखेर सचिवालयमा पठाउन अनुरोध गर्छु । ’cause म आँफैले धेरै बुझ्न सकेको छैन । नयाँ खालको कुरा देखेँ मैले । उहाँहरुको माग र समस्या जायज हो भने हामी छानबिन र थप सोधखोज गरेर समाधानकालागि थप पहल गर्नेछौँ ।

सभाहलमा एनआरएनका यूरोपियन हस्तीहरु एकातिर र तँपाइ अर्को पट्टी साइडमा बसेको देखियो । यसले गर्दा यूरोपियन साथीहरुसँग हजुरको मेल मिलाप रहेनछ भन्ने सन्देश गयो र त्यहि अनुसारको कुरा सुनियो । के यस्तै हो एनआरएनमा ? तँपाइँहरु एकैठाउँमा बस्न रुचाउनुहुन्न हो ?

होइन होइन । त्यस्तो केहि छैन । त्यस्तो होइन ।  म त खाली मन्चमा बेला बखत निर्देशन दिन पर्ने भएको र आक्कल झुक्कल कार्यक्रमको तालिका परिवर्तन भएकोले माइकतिर बसेको थिएँ । हामीमा सामुहिक भावना छ । 

तरपनि तपाइ त यूरोपको शाखाहरुसँग आतेजाते र अलि सम्पर्क नभएको त हो नि ?

अँ त्यो त हो । तर नेट र टेलिफोन बाट म एकदम सम्पर्कमा छु । यूरोपमा के भइरहेछ अप टु डेट छु म । अब कहिले काँही साथीहरुले के के कुरा त भनिहाल्छन् सोचिहाल्छन् ।  अब म यूरोप टुरमा सँधै आइरहनपनि सभव हुन्न । अध्यक्ष नपुग्ने ठाउँकै लागि भनेर  दुइ दुइ वटा उपाध्यक्ष राखेको हो एनआरएनमा ।

प्रस्ट कुरो गरौ । तँपाइँ र राम थापाको बिचमा सम्बन्ध दरिलो छैन भनिन्छ नि । अनि तपाईचाहिँ बढी खाडी र मध्यपूर्बलाई बिशेष ध्यान दिनुहुन्छ रे ?

होइन होइन । म जहाँ जान्छु त्यहाँका साथीहरु सँग एकदम खुलेर कुरा गर्छु । लन्डन, बेल्जियम, पोर्चुगल जहाँ जान्छु मेरो खुलेर कुरा हुन्छ । मान्छेहरुले भन्छन् तर कल्ले के भन्छ भनेर ध्यान दिनुभन्दा सुनिएका कुरालाई शिक्षाको रुपमा ग्रहण गर्छु । मैले त्यसरी खेल्ने र भन्ने मान्छेहरुपनि चिनेको छु । तर नाम लिन चाहन्न । भ्रम गराउने केहि मानिसहरु छन् । कसैले यो मान्छे बेठीक छ भन्दैमा हुँदैन । २५ लाख बिदेशीएका नेपालीले चुनेको नेतृत्व हो म । एक या दुइ जनाले चुनेको मान्छे म होइन ।

दोहोरो नागरिकताको बिषयमा लन्डनमा छलफल हुँदा तँपाइँ निकै बिबादमा पर्नु भएको थियो नि ?

मान्छेलाई अलिकति भ्रम छ र भ्रम गराउनेहरु छन् । तर बुझ्नु पर्ने कुरा के छ भने हिराचनले कहिँ पनि दोहोरो नागरिकता चाहिन्न भनेको छैन । दोहोरो नागरिकताको बिबाद पनि मैले गरेको होइन । हाम्रो अघिल्लो समितिले चाहिँ हामीलाई भोट हाल्ने अधिकार बिनाको नागरिकता मागेको थियो । त्यो समितिले सामाजिक, सांस्क्रितिक र आर्थिक हित हेर्ने तीनवटा अधिकार सहितको नागरिकता दिए पुग्छ भनेको थियो । डा महतोले यो कुरा चौथो ग्लोबल सम्मेलन सम्म पनि भन्दै आइरहनु भएको कुरा हो । मैले त्यसैलाई पिछा गरिरहेको थिएँ । हाम्रो केन्द्रिय समितिको निर्णय यस्तो खालको छ र तँपाइँले दोहोरो नागरिकताको कुरा गर्दा नेपाल सरकार सँग यहि अनुसार कुरा गरिदिन पर्यो भनेर मैले डा सूर्य सुबेदीलाई भनेको थिएँ । तर भन्ने बेलामा उहाँले ठ्याक्कै उल्टो भनिदिनुभयो । भोटिँग राइट चाहिन्छ भनिदिनुभयो । एनआरएनको अध्यक्षको हैसियतले मैले त्यो कुराको बिरोध गरेँ । यसले गर्दा बिबाद निस्किएको हो ।

तपाइँलाई भोटिँग राइट सहितको नागरिकता सरकारले दिन्छु भन्यो भने नदेउ भनेर कसले भन्छ र ? भोटिँग राइट भन्ने कुरालाई नेपालको राजनीतिज्ञहरुले पनि नेपालको भविष्य सँग जोडेर हेर्छन् । अस्ती भर्खर मेरो प्रधानमन्त्री सँग भेट हुँदा उहाँले के भन्नु भो भने तपाईहरु आफु बसेको देशमापनि चुनाव लड्छु भन्ने अनि उता हार्यो भने यता आएर चुनाब लड्छु भन्न पाइन्छ ?  तँपाइँहरु नेता बन्ने हो भने तीन बर्ष कम्तिमा त नेपाल बसेर जनताको सेवा गरेको त हुनुपर्यो भन्ने भनाइ उहाँको थियो । तरपनि समस्या के हो भने हाम्रा दुइ लाख नेपाली चेलीहरु भारतमा गएर बसेका छन् । दोहोरो नागरिकता दिनासाथ यसले नेपालको सम्पूर्ण राजनीति भारतबाट प्रभावित हुन्छ भनेर नेपालका राजनितिज्ञ चिन्तित छन् । त्यो कुरा हामीले बुझ्नुपर्छ ।  हामीलाई के चाहिएको हो भने एकपल्टको नेपाली सँधैको नेपाली हो । हाम्रा बालबालिकालाई हामी नेपाली हो र हाम्रो देश नेपाल हो भनेर परिचय गराउन पर्यो । नेपाल जाने बातावरण बनाइदिन पर्यो । नेपालमा भएको सम्पत्ती सुरक्षित हुन पर्यो । अब भोटिँग राइट सम्मको कुरा उठाउन थाल्यो भने दोहोरो नागरिकताको कुरै हराउन सक्छ । कुनैपनि नेता भोटिँग राइट सहितको नागरिकता दिन तयारै छैन ।

मागेको  दोहोरो  नागरिकता  हो तर हिराचन  अध्यक्ष भएपछि हिराचनलाई  सरकारले  एनआरएन परिचयपत्र  दिएर बिकाइदियो भन्छन् नि एनआरएनहरु ?

यो कुरो शतप्रतिशत गलत हो । यो परिचय पत्र पनि हामीले नै मागेको हो । परिचय पत्र र दोहोरो नागरिकता भनेको शतप्रतिशत फरक कुरा हुन् । दुइटा कुरा एकैठाउँमा मिसाउन भएन । परिचय पत्र हामी बाहिर बसेका नेपालिहरुले केहि कमायौँ र नेपालमा लगानी गर्न चाह्यौँ । तर के भयो भने हामीले नेपाल लगेको पैसा सुरक्षित भएन । हाम्रो लगानी सुरक्षित भएन । तर नेपाल सरकारले यो परिचय पत्र दियो भने हाम्रो लागानी सुरक्षित हुन्थ्यो भनेर हामीले सरकारसँग माग गर्यौँ । सबै कुरा एकैचोटी यो नी दे, त्यो ने चाहियो भनेर हुन्छ ? पहिले मैदानमा भकुण्डो हुनु परेन ? भकुण्डोनै मैदानमा नलगि गोल हान्छु भनेर हुन्छ ?

खासगरी बिदेशमा दुइ किसिमका नेपाली छन् । एउटा शुद्द नेपाली अर्को नेपाली मुलका बिदेशी । अब जुन सुकै नेपाली होस नेपालमा तपाइँले ब्यवसाय गर्नु भो भने आफ्नो मुनाफा तपाइँले बिदेश लग्न पाउनुहुन्न । बिदेशी मुद्रामा खाता खोल्न सक्नुहुन्न । यसैगरी अर्कोतिर बिदेशी नागरिकता लिएका साथीहरुलाई भिषाको पनि समस्या थियो । लगानी गर्ने समस्या थियो । अचल सम्पत्ती किनबेच गर्न नपाउने समस्या थियो । त्यहि भएर हामीले हाम्रो नेपालको सम्पत्तीको रक्षा र लगानीको बाटो खुला गर्नकालागि परिचय पत्र माग्यौ र सरकारले दियो । हामीले धन्यवाद भन्नुपर्छ सरकारलाई । त्यहि भएर मैले पहिलो पटक धन्यवाद स्वरुप त्यो कागज लिएँ । म नेपाली मुलकै नेपाली हुँ । आँफै नेपाली भएर त्यो कार्ड किन लिएको भन्ने कुरा आयो । कुरो त्यसो होइन । म पक्का नेपाली हुँ तर मैले त्यो कार्ड लिएपछि अब मैले नेपालमा लगानी गर्न पाउँछु । बिदेशी मुद्रामा खाता खोल्न र उताको नाफा यता ल्याउन पाउँछुभने बिदेशी नागरिकता लिएको नेपालीले अब १० बर्षको भिषा लिन पाउँछ । एयरपोर्टमा भिषा दिन्छ अचेल । नेपाली मुलका बिदेशीलाई  तिन कुराको  फाइदा  पुग्छ । भिषा लिन, बिदेशी मुद्रामा खाता खोलेर आफ्नो लगानी यता र उता गर्न  अनि नेपालमा अचल  सम्पत्ती राख्न पाउनुहुन्छ  । यदि यो कार्ड भएन भने तँपाइँले नेपालमा रहेको आफ्नो सम्पत्ती जोगाउन सक्नुहुन्न । ’cause बिदेशी नागरिकता लिने बित्तिकै तपाइँको नेपालको नागरिकता स्वत त्यागिन्छ । घरजग्गामा तँपाइँको कुनैपनि हक दाबी रहन्न । तर यो कार्ड हुनासाथ तँपाइँको सम्पत्तीमा मुद्दा हालेर अरुले खान पाउँदैन । यत्रो महत्व बोकेको चिजलाई यो केहि होइन भन्न भएन । भ्रममा नपरौँ ।

दोहोरो नागरिकता भनेको त नेपाली नागरिकता नै हो । मैले दोहोरो नागरिकताको लागि थुप्रै पटक उच्च स्तरमा भेटघाट गरिसकेँ । राजनीतिज्ञहरुलाई भेटघाट गरेँ । हाम्रो कुरामा सबै सकारात्मक छन् तर भोटिँग अधिकार बिनाको नागरिकता दिनलाई मात्र । एकपटकको नेपाली हामी सँधै नेपाली र हाम्रा छोराछोरी पनि सँधै नेपाली रहुन भनेर दोहोरो नागरिकता मागेको हो । हाम्रो बच्चाहरुको देश नेपाल हो र हामी नेपाली नै रहन चाहन्छौँ भनेर हामीले दोहोरो नागरिकता मागेको हो । यत्रो फरक मुद्दालाई बुझाउने मान्छे पनि भएन । जे पायो त्यहि कुरा बाहिर आयो, लेखियो ।

उसोभए दोहोरो नागरिकताको बिषय भावी पुस्ताका लागि र एनआरएन परिचय पत्र चाँहि लगानी भित्र्याउने, मुनाफा लिने, बिदेशी मुद्रामा खात खोल्न पाइने तथा  नेपालमा रहेको अचल सम्पत्तीको सुरक्षा र घरि घरि नेपाल जाँदा लिइरहुनु पर्ने भिषाको समाधानका लागि हो ?

हो । तर दोहोरो नागरिकता पाइयो तुरुन्तै भने एनआरएन परिचयपत्रको कुरा चाहिएन । सरकारले अब नागरिकता नै दिएछ भने पनि के नामको नागरिकता दिने हो । कुन खालको दिने हो अहिले नै स्पष्ट छैन  । एनआरएन नागरिकता भनेर दिने हो कि या अरु कुनै नयाँ नामको नागरिकता निकाल्ने हो अहिलेलाई केहि पनि स्पष्टता छैन । मलाइ बिश्वास छ दोहोरो नागरिकता पाइन्छ । तर धेरै मेहनत गर्नुपर्छ ।

एनआरएनमा महिला सहभागिता जम्मा ६ प्रतिशत मात्रै रहेछ । लेँगिक रुपले यति धेरै बिभेद किन भएको होला ?

हामीले महिलाहरुलाई नल्याउन खोजेको होइन ।  जापानमै हेर्नुस न । अस्ति भर्खर अधिबेशन भयो तर कोही पनि महिला आउन सकेन । महिला नै पाउन सकिएन । हाम्रो एनआरएनमा १५ वटा कर्पोरट सिटहरु अध्यक्षले मनोनित गर्न पाउँछ । मैले मनोमानि तरिकाले चयन गर्न भन्दा पनि १२ वटा सीटहरु ६ वटा महादेशलाई दुइ दुइ वटाको दरले बाँडीदिएँ र बाँकी यूथ फोरमलाई दिइयो । यहि कर्पोरेट सिटको ३३ प्रतिशत अबधारणाबाटै मनोनित भएर केहि महिलाहरु केन्द्रमा आइपुग्न पाउनुभएको हो । चुनिएर आउनुभएको होइन । केन्द्रिय समितिमा आउन त एनसीसीहरुले चुनेर पठाउनु पर्यो । हामीले जबरजस्ती महिलालाई पठाउ भन्न मिल्दैन ।

अनि महिलाहरुलाई बिशेष अधिकार दिएर एनआरएनमा सहभागिता बढाउन सकिँदैन र ?

अहिलेको बिधान अनुसार सकिँदैन । तर प्वाइन्ट आउट चाँहि गरिएको छ । यो कुरा एनआरएनको महिला फोरुम हेर्ने साथि, एनआरएनएहरु र आइसिसीहरुमार्फत लिखित रुपमा माग आयो भने अझ बढी छलफलमा ल्याउन सकिन्छ। फाइलिँग हुन्छ । आबश्यक परे बिधान सँसोधन गर्न पनि सकिन्छ । तर बाहिरबाट भन्दैमा त्यो कुरा छलफलमा प्रबेश हुँदैन ।

भनेपछि समस्या त यहिँ रहेछ नि होइन ? महिलाको सहभागिता बढाउनमा त पहलै रहेनछ नि त ?

त्यसो भन्न मिल्दैन । हाम्रो चाहना बढी भन्दा बढी ल्याउने तर टिपेर नल्याउने । तर हाम्रो नेपाली चेलीहरुको परम्परा नै हो कि श्रीमानहरुले किन जानु पर्यो भनिदिएपछि चुपै लागेर बसिदिने । चासै देखाउँदैनन ।

खासमा एनआरएनको बिधान सँसोधन गरेर महिलामुखी बनाइएन र महिलालाई यो सँगठन मेरो पनि हो भन्ने पारिएन भने कसरी सहभागिता बढ्छ त ?

हो कुरा सहि हो । महिलाहरु आउन आवस्यक छ । महिला पुरुष एक रथका दुइ पाँग्रापनि हुन् । म बुझ्छु महिला सहभागिताको कुरा । जापानको इकोनोमी हाइ हुनुमा पनि महिलाहरुको ठूलो भूमिका छ । हाम्रो पनि महिला फोरम छ । महिला फोरमको उषाजीलाई केहि केहि कुराहरुले एकदम तताउँछ म बुझ्छु । एनआरएन भित्र नारी निकुन्ज पनि छ । नारी निकुन्जले पनि उषा बहिनीको मातहतमा रहेर काम गर्ने हो । बिधानले उहाँ भन्दा माथि नारी निकुन्जलाई नराखेकोले उहाँले अरुले खाइदेला भनेर डराउनु हुँदैन ।  एनआरएन साझा सँस्था भएकोले हामीले सानो चित्त गर्नुहुँदैन । अलि फराकिलो भएर हेर्नुपर्छ । नारी निकुन्ज एनआरएनमा आयो । यसले हामीलाई बेफाइदा गर्दैन । उहाँहरुले राम्रो काम गरिरहनुभएको छ ।

लगानी तिर फर्कौँ अब । एनआरएनले देशमा ठूलो लगानी गर्छ र त्यसकालागि एकशय मिलियन नेपाल फन्डको बिकास गर्छ भनिरहनु भएको छ तर लगानी त भित्रेको छैन नि  ? कुरा मात्रै गर्ने ? ठोस लगानि कहिले हुन्छ ?

एनआरएन भनेको एउटा नाफा रहित सँस्था हो । यसले लगानी गर्ने होइन । यो भित्र रहेका ब्यक्तिहरुले लगानी गर्ने हो । ब्यक्तिगत लगानीहरु नेपालमा निकै भइसकेको छ । हामीले हिसाब नगरेको मात्रै हो । तर पनि ठूलो र सामूहिक खालको लगानी नेपालमा किन भएको छैन भने हाम्रो सँस्था दर्ता नै भएको छैन अझै । आठ बर्ष भयो सँस्था दर्ता गर्ने प्रयत्न भएपनि सकिएको छैन । सँस्था दर्ताको प्रक्रियामा हामीहरु लगभग अन्तिम चरणमा छौँ र छिटै  सँस्था दर्ता भएपछि हामीले कोष जम्मा पनि गर्नेछौँ ।

सँस्था दर्ता भएपछि तँपाइँहरुले भन्नुभएको एकशय मिलियन डलर तुरुन्तै जम्मा गर्न सक्नुहुन्छ ?

सकिन्छ । त्यो कुनै गाह्रो कामै होइन । अस्ती भर्खर अमेरिकामै भएको कार्यक्रममा मैले यो कुरा राखेको थिएँ । त्यहि नै साथीहरुले ५० मिलियन डलर त  एक घन्टामै कमिटमेन्ट गरे । पैसा उठाउने कुरो कुनै गाह्रो कामै होइन । यूरोपबाट यो कोषमा पैसा थपिन्छ । जापानबाट थपिन्छ । हाम्रा असँख्य दाजुभाइहरुले यो कोषमा  पैसा जम्मा गर्न चाहेका छन् । ’cause यो भनेको सँसारभरीका नेपालीहरुले गर्ने सामुहिक लगानी हो । तर समस्या के छ भने यत्रो कोष के मा लगानी गर्ने भन्ने हामीसँग योजना, द्रिष्टिकोण नै छैन । बाटो बनाउने हो कि , हाइड्रो पावर बनाउने हो कि, फास्ट ट्रयाक बनाउने हो कि के मा लगानी गर्ने । पैसा देउ भनेर मात्र भएन । पैसा दिने ले  त त्यो कहाँ र के मा लगानी गर्दैछन् त्यो पनि हेर्छ । तर जे होस यो भनेको ब्यापारिक कोष हो । अबधारणा पत्र तयार हुँदैछ के मा लगानी गर्ने । कसरी यो फन्ड चलाउने भन्ने कुरा । यो भएपछि सँसारको जुनसुकै कुनामा पनि हामी लगानी गर्न सक्छौँ । तर अहिले सँस्था दर्ता नै मुख्य समस्या हो हामीलाई । अहिले सँस्था दर्ता नभै फुल अगाडी कि माउ अगाडी जस्तो कुरा हुन्छ ।

लगानी का कुरा उठ्यो कि एनआरएनभित्रका धनि धनि नेपालीहरुले मात्र पैसा जुटाउने कुरा हुन्छ नि  ?

अहिले एनआरएनका साथीहरु सामुहिक लगानीमा जाने कुरामा एकमत हुनुहुन्छ । त्यसको नेतृत्व हिराचन या अरु मानिसले मात्र होइन बुद्दिजीवी मानिसले पनि गर्न सक्नुहुन्छ । सामुहिक लगानीमा जाने भन्ने बित्तिकै यसलाई चलाउने र सँचालन गर्नेका लागि सामुहिक नेतृत्वमा जानु पर्छ भन्ने मेरो धारणा छ । सम्पूर्ण नेपालीहरुलाई समेटेर लैजाने खालको अबधारणा बिकास गर्दैछु मैले अहिले । जस्तो कि काठमाडौँ हेटौडा मार्गका लागि हामीले पनि केहि गरौँ भनेका छौँ । त्यो लगानी एनआरएनको मात्र होइन । अस्ति भर्खर हेटौँडामा त्यहाँका साहुहरु सँग बैठक थियो । त्यो बैठकमै उनीहरुले दुइ अरब रुपैँयाका एकैछिनमा जम्मा गरे ।

नेपाली व्यापारीहरुले नै कमिट्मेन्ट गरे  ?

ल नेपाली ब्यपारीहरु किन धनि छैन त ? एनआरएनहरु के धनि होलान् । अहिले त देशै भित्र  निकै धनि नेपाली व्यापारीहरु  छन् । त्यसैले स्थानिय मानिस,  एनआरएन,  नेपाल उद्योग बाणिज्य महासँघ सँग मिलेर लगानी गर्न सकिन्छ । एनआरएन र नेपालका स्थानियहरु सँग मिलेर काम गर्न सक्ने नयाँ बाताबरण बनिरहेको छ । बाहिर बाहिर हल्ला गर्नु भन्दा स्थानिय स्तर सम्म एनआरएनलाई लैजान सकिने अबस्था छ ।

मैले फेरी प्रसँग लगानी तिरै लगेँ । यत्रो यत्रो पैसाको कुरा गर्नुहुन्छ । केहि न केहि प्रारम्भिक आइडीया  त होला नि एनआरएन सँग कहाँ लगानी गर्ने भनेर ?

नेपालमा नभै नभएका कुराहरु प्रति नै लगानी गर्ने हो । जस्तो बिजुली छैन हाइड्रोपावर को परिकल्पना छ । शिक्षा, स्वास्थ्य, पर्यटन जस्ता कुराहरु छन् ।

तपाइहरुले एकपटक त एयरलाइन्स नै ल्याउने भन्नु भएको थियो त ?
केहि साथीहरुले त्यो कुरा गर्नुपनि भएको हो । निकै धेरे होमवर्क पनि गर्नुभएको थियो तर त्यो त्यतिकै हरायो अहिले ।

अघि प्रसँगबस यहाँले यूरोपको एनआरएनएहरुमा समस्या भन्नुभएको थियो कस्तो समस्या हो ?

त्यो भनेको एउटा देशमा दुइवटा एनआरएन हुनु हो । जस्तो ग्रीसमा, स्पेन, बेल्जियम आदिमा । २५ वटा यूरोपियन देशमा एनआरएनमा १० वटा जति सक्रिय छन् । यूरोपमा एनआरएन तातिने क्रममा छ । तैपनि यूरोपमा मात्र नभै अन्तपनि आन्तरिक झै झगडा र कलहका कुरा आएका छन् । नेपाली भएको ठाउँमा जहाँपनि यस्ता समस्या आउँछन् । बिउ छरेपछि घाँसपनि आउँदो रहेछ । बिउ र घाँस छुट्टाउन पर्ने हुन्छ । सँस्था खुल्दा र सक्रिय हुँदापनि कुन साथी कस्तो छ भन्ने छुट्टाउन पर्ने अबस्था छ ।

तपाइँहरु एनआरएन ननपोलिटकिल सँस्था हो भन्नुहुन्छ तर गत केन्द्रिय चुनावमा तपाइँलाई एमालेको समर्थक भनियो राम प्रताप थापालाई काँग्रेसको सहयोग देखियो नि ?

मैले राजनीतिको झन्डा बोकेर कहिँ कतै लागेको छैन । मेरो हरेक पार्टीको नेताहरुसँग राम्रो चिनजान र उठबस छ । अस्ति भर्खर केपी ओलीले खान खान बोलाउनु भो म गएँ । तर मलाई राजनीति भन्ने के हो थाह थिएन । तर राजनीतिक मानिसहरुसँग उठबस भयो भने राजनीतिको रङ लगाइने रहेछ । कहिले जनजातीको मान्छे कहिले कसको मान्छे भन्छन् । म प्रचन्डजीलाई सिधै भेट्न जान्छु । त्यसैले शूरुमा मलाई माओवादीको मान्छे हो भनियो । त्यसको केहि दिन पछि फेरी म त एमाले भएछु । अनि गर्दा गर्दा चुनाब जितेपछि त म काँग्रेस भएछु । म को हुँ भन्ने नचिनिकन कहिले यताको कहिले उताको बनाइयो । बनाउनेहरुले बनाए ।  तर म त हिराचनको हिराचन नै हुँ । अब एनआरएनको नेतृत्व लिने मान्छे हरेक राजनीतिक दलको नेतासँग भेट्नु पर्छ । हात मिलाउन पर्छ । कहिले खाना सँगै खानपर्छ । माओवादीको नेतातिर फर्केर हाँस्यो भने मलाई माओवादी बनाउँछ । एमालेको नेतातिर फर्केर हाँस्यो भने एमाले भन्छ । कहिले जनजातीको मान्छे भन्छ ।

हिराचनले जातिय नारा उचाल्यो भनिन्छ त ?

म सारा नेपाली एक भन्ने भावना बोकेको मान्छे हुँ । म जनजातीको कुनै पनि कार्यक्रममा भाग लिन गएको छैन । राजनीति भनेको त यस्तो पो रैछ । भ्रम फैलाउने ।

अलिकति प्रसंग बदलौं । एन आर एन मार्फत अब बिदेशी हस्तक्षेप बढ्ने भो भन्ने कुरापनि आइरहेछ नि ? तपाईलाई जापानी दुतावासले भोज दिने । राम थापालाई जर्मन दुतावसले भोज दिने । अनि उता जिवा लामिछाने र महत्तोलाई हेरेर रसियाली दुतावासले भोज दिने । आआफ्ना देशका समर्थक र नेपालमा पहुँचवालालाई प्रभाव पारेर नेपालमा हस्तक्षेप बढाउने, आफ्नो देशका चाख र स्वार्थका कुरा नेपालमा लाद्ने स्वार्थ हो बिदेशीको भनिन्छ नी ? 

(आश्चर्य मान्दै) यो कहाँ बाट आइरहेछ यस्तो कुरो ? मैले त पहिलो पटक सुनिरहेछु । यस्तो गलत कुरा । म जापानमा छु । म एउटा नेपाली । मलाई सद्भाव गरेर जापानी दुताबासले स्वागत गर्छ भने त यो त इज्जतको कुरा हो नि । इज्जत दिनु भनेको त राम्रो कुरा हो नि । झन् मैले त सँसारभर छरिएर रहेका प्रत्येक देशका एनसीसी अध्यक्षहरुलाई नेपालमा रहेका सम्बन्धित देशका राजदूतहरुसँग भेटघाट गर्ने कार्यक्रम मिलाउँदै छु । अक्टोबर अगाडी । उहाँहरुले एनआरएन अध्यक्षहरुलाई रिकोग्नाइज गर्नु भो भने आआफ्नो देशमा खबर पठाइदिनुहुन्छ । यसो भयो भने ति देशहरुले एनआरएनलाई इज्जत दिन्छन् । एनआरएनको प्रतिष्ठा बढ्छ । यसो गर्दा तँपाइँहरुलाई किन टाउको दुख्छ ?  यसले त झन् कुटनीतिक सम्बन्ध बिस्तार हुन्छ । हाम्रो देशको लागि सहयोग माग्न र सम्बन्ध बिस्तार गर्न सकिन्छ । ५७ वटा देश सँग नेपालको राम्रो सम्बन्ध भयो र एउटा मात्रै प्रोजेक्ट नेपाल गयो भनेपनि ५७ वटा प्रोजेक्ट नेपाल पुग्छ नि । हाम्रो  दीर्घकालिन लक्ष्य त नेपालीलाई बिदेशीने क्रमबाट रोक्नु हो देशमै अवसर दिएर ।

Source: Nepalplus

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.