वैकल्पिक पेशातिर खेलाडी


नेपाली क्रिकेट टिमका पूर्व कप्तान विनोद दास काठमाडौँका २ वटा निजी कलेजका क्रिकेट प्रशिक्षक हुन्। काठमाडौँको जेभियर इन्टरनेशनल कलेजका विद्यार्थीलाई क्रिकेट सिकाउँदै आएका उनी अहिले काठमाडौँकै ह्वाइट हाउस कलेजमा पनि क्रिकेट सिकाउँछन्। कराँते खेल जीवनबाट संन्यास लिएका चर्चित कराँते खेलाडी दिपक श्रेष्ठले ललितपुरको लिट्टिल एन्जल्स स्कूलका विद्यार्थीलाई कराँते सिकाउन थालेको १० वर्ष नाघिसक्यो।

कराँतेकै अर्का खेलाडी गङ्गाराम महर्जन राष्ट्रिय स्तरका कराँते प्रशिक्षक हुन्। काठमाडौँमा भएको आठौं दक्षिण एशियाली खेलकूद सागमा स्वर्णपदक जितेका उनी ललितपुरका उड्सभिल स्कुल, शिखर बोर्डिङ्ग स्कूल र युनिक मोडल स्कूलमा कराँते सिकाउँछन्। उनले स्कूलमा खेल शिक्षकको रूपमा काम गर्नथालेको दुई दशक पुरा हुनै लाग्यो। विनोद, दिपक र गङ्गाराम मात्र होइन नेपालका प्रायः राष्ट्रियस्तरका खेलाडीहरूले स्कूल तथा कलेजमा खेल शिक्षकको रूपमा काम गर्दै आएका छन्। नेपाली सेना र नेपाल प्रहरीजस्ता विभागीय टोलीका तर्फबाट मैदान उत्रिएका खेलाडीसमेत निजी स्कूल र कलेजमा खेल शिक्षक छन्।

खेलाडीका रूपमा आफूले पाएको ज्ञान अरुलाई बाँड्न पाउने, पैसा पनि आउने र फुर्सदको समय पनि सदुपयोग हुने भएकाले खेलाडीहरूले स्कुल र कलेजमा खेल शिक्षकका रूपमा काम गर्नथालेका हुन्। नेपाली क्रिकेट टिमका पूर्व कप्तान विनोद दास भन्छन्, …राष्ट्रिय खेलाडीको रूपमा आफूले पाएको ज्ञान र अनुभव बाँड्न पाउँदा निकै खुशी छु।’ अभ्यास तथा प्रतियोगिता भएका बेला कलेजले सजिलै छुट्टी दिने भएकाले उनी कलेजमा क्रिकेट प्रशिक्षण दिन कुनै समस्या नभएको बताउँछन्।

कराँतेका गङ्गारामले स्कुललाई खेलाडी उत्पादनको थलोका रूपमा लिएका छन्। राष्ट्रिय खेलकूद परिषद्का प्रशिक्षकसमेत रहेका उनलाई परिषद्ले ललितपुरमा कराँते सिकाउने जिम्मेवारी दिएको छ। तर, गङ्गाराम भन्छन्, …खेलाडीलाई जम्मा गरेर कराँते सिकाउने वातावरण छैन। त्यसैले स्कुललाई नै कर्मक्षेत्र बनाएको छु।’ प्रायः अभिभावकहरू आफ्ना छोराछोरीलाई बाहिर खेल्न पठाउँदैनन्। स्कुलपछिको समय घर बसेर गृहकार्य गर्ने, पढ्ने मात्र हो भन्नेमा अभिभावकहरू विश्वास गर्छन्। त्यसैले स्कुल समयभन्दा पछि छोराछोरीले कुनै खेल सिक्न तथा अभ्यास गर्न खर्चिएको समय खेर फालेकोझँै लाग्छ, अभिभावकहरूलाई। तर, स्कुलमा खेल सिकाउँदा खेल र पढाइलाई सँगसँगै लैजान सकिने गङ्गारामको धारणा छ।
उड्सभिल स्कुलका शिक्षक सनिल घिसिङ लामा केही समयअघि जावलाखेल युथ क्लबबाट फुटबल खेल्थे। उनले दुई तीन वर्षपहिले ए डिभिजन फुटबलसमेत खेलेका थिए। खेललाई निरन्तरता दिन नसके पछि उनी शिक्षण पेशातिर लागे। उड्सभिलमा पढाउँदै आएका सनिल गङ्गारामसँगै विद्यार्थीलाई खेल्न पनि सिकाउँछन्। उनी भन्छन्, …राष्ट्रिय खेलाडीबाट विद्यार्थी छिट्टै प्रभावित हुन्छन् र सिकाएका कुरालाई निक्कै गम्भीरताका साथ लिन्छन्।’

नाम चलेका स्कुलले राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरमा नाम चलेकै खेलाडीलाई खेल शिक्षकको रूपमा रोज्ने गरेका छन्। तर, साधारण स्कुलमा भने खेलकूद सिकाउनका लागि खेलका साधारण नियम जानेका स्कुलकै कुनै विषयशिक्षकले जिम्मेवारी पाउँदै आएका छन्। नाम चलेका र महङ्गा स्कुलमा भने भिन्न–भिन्नै खेलका भिन्न–भिन्नै शिक्षकको व्यवस्था छ। जहाँ फुटबल, भलिबल, क्रिकेट, बास्केटबल, पौडी, कराँते, तेक्वान्दोलगायतका खेलका लागि छुट्टै प्रशिक्षक छन्। विभिन्न खेलमा राम्रो प्रदर्शन गरेका खेलाडीलाई कलेजले निःशुल्क भर्ना तथा छात्रवृत्तिसमेत दिन्छन्। यसका साथै स्कुल कलेजबाटै खेलेर राम्रो गर्ने विद्यार्थीलाई स्कुल तथा कलेजले नै राम्रो प्रशिक्षण पनि दिने गरेका छन्। नाम चलेका र राष्ट्रिय स्तरका खेलाडी कतिपय विद्यार्थीले रोल मोडल र आईडल मान्ने हुँदा तिनै खेलाडीलाई स्कुलमा खेलशिक्षक राख्दा विद्यार्थीले उनीहरूबाट खेल सिक्नुका साथै अभिप्रेरणासमेत पाउँछन्। 

स्कुलले खेलकूदलाई विद्यार्थी तान्ने राम्रो माध्यमको रूपमा प्रयोग गरेको पाइन्छ। त्यसैले धेरै पैसा तिरेर भए पनि उनीहरू नाम चलेका खेलाडीलाई आफ्नो स्कुल तथा कलेजमा प्रशिक्षक राख्न चाहन्छन्। धेरैभन्दा धेरै पैसा खेल क्षेत्रमा खर्च गर्नसमेत तयार छन्, विद्यालयहरू। राष्ट्रिय स्तरका खेलाडीलाई प्रशिक्षक राख्दा स्कुल तथा कलेजको चर्चा पनि चल्ने तथा विद्यार्थी र प्रतिस्पर्धीमाझमा राम्रो छाप पनि पर्ने हुन्छ। त्यसैले राष्ट्रिय खेलाडीलाई खेल प्रशिक्षक राख्दा उनीहरूको नामै बेचेर फाइदा लिन सकिने विश्वास छ स्कुल र कलेजलाई। आफूले स्कुल तथा कलेजबाट पैसा लिएकाले आफ्नो नामलाई बेचेर कलेजले विद्यार्थी तानेको र फाइदा लिएकोमा क्रिकेटर विनोदलाई कुनै दुखेसो छैन। कलेजले आफूलाई पैसा तिरेकाले आफ्नो नाम बेच्न पाउनु कलेजको अधिकार हो भन्छन् उनी।

– सुफल काफ्ले

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.