सिराजुद्दिन खान
नेपालगन्ज, कोहलपुर नर्सिङ क्याम्पसलाई पाँच लाख रुपियाँ चन्दा माग गरिएको पत्र सोही क्याम्पसका प्रमुख कुन्ती तिवारीले अलकायदाको नामबाट लेखेको रहस्य खुलेको छ । कोहलपुरस्थित नागरिक समाजले अलकायदा बनेर नर्सिङ क्याम्पसमा चिठी पठाउने क्याम्पसप्रमुख तिवारी नै भएको ठहर गरेका छन् । नागरिक समाजको उक्त ठहरपछि अलकायदाको नामबाट चन्दाको पत्र लेख्ने क्याम्पसप्रमुख तिवारी नै रहेको आशङ्कामा इलाका प्रहरी कार्यालय कोहलपुरले आइतबार बेलुका तिवारीको कोठामा छापा मारेको थियो ।
नेपालगन्ज मेडिकल कलेजद्वारा कोहलपुरमा सञ्चालित नर्सिङ क्याम्पसलाई पाँच लाख रुपियाँ चन्दा रकम माग गर्दै अलकायदाको नामबाट यही असार ३१ गते पत्र पठाइएको थियो । रकम नदिए बम विस्फोट गराइदिने धम्की सो पत्रमा दिइएकोे थियो । चन्दा मागको चिठी लेख्ने क्याम्पसप्रमुख तिवारी नै भएको र एनसेलको मोबाइल नम्बरबाट फोन गरेर आफूलाई धम्क्याएको भन्दै तिवारीले नाटक गरेको नागरिक समाजको ठहर छ ।
Source: gorkhapatra