नयाँ शक्ति उदय


राजु घिसिङ
अषाढ २६ –  कीर्तिमान सधैं गर्विलो हुन्छ । यसपल्टको विश्वकप फुटबलमा पनि नहुने कुरै भएन । उत्कृष्ट खेल, तीव्र प्रतिस्पर्धा अनि अविश्वसनीय नतिजाले झन्डै ७२ करोड दर्शक एक महिनायता विश्वकपको माहौलमा झुम्मिरहेका छन् । यो रोमाञ्चकताको उत्कर्ष स्वरूप आइतबार हुने फाइनलले नयाँ विश्वकप विजेताको छिनोफानो गर्नेछ, नेदरल्यान्ड्स अथवा स्पेन ।

यी दुवै युरोपेली विश्व फुटबलमा शक्तिशाली छन् । यद्यपि विगतका विश्वकपमा दुवै ‘अभागी टोली’ को रूपमा परिचित थिए । बलियो टिम हुँदाहुँदै पनि सफलता चाख्न नसकेकाले उनीहरूको पहिचान नै ‘अभागी’ बनेको थियो । धेरैले नपत्याएको नतिजा निकाल्दै जोहानेसवर्गको सकर सिटी रंगशालामा हुने फाइनल पुगेर नेदरल्यान्ड्स र स्पेनले पुरानो छवि सुधारेका छन् । लोभलाग्दो खेल र विश्वकप फाइनल यात्राले अब उनीहरूलाई कसैले अभागी भन्ने हिम्मत गर्ने छैनन् । विश्वकप फाइनल खेल्नु पनि ठूलो उपलब्धि हो । असी वर्ष लामो विश्वकप फुटबलको इतिहासमा अहिलेसम्म सात देशले मात्र उपाधि चुमेका छन् । सर्वाधिक पाँचपल्ट ब्राजिल, चारपल्ट इटाली र तीनपल्ट जर्मनी विश्वविजेता भइसकेका छन् ।

अर्जेन्टिना र उरुग्वेले दुई/दुईपल्ट ट्रफी चुमेका छन् । इङल्यान्ड र फ्रान्स  पनि एक/एकपल्ट विजेता रहे । अहिलेसम्म सहभागी ७६ देशमध्ये ११ ले मात्रै फाइनल खेलेका छन् । स्पेन पहिलोपल्ट अन्तिम दुईमा पुगेकाले फाइनल खेल्नेको संख्याले अब दर्जन छोएको छ । सन् १९७४ र १९७८ को फाइनल हारेको थियो, नेदरल्यान्ड्सले । एक, दुई वा तीन होइनन्, दुवै टिमका सबै खेलाडी विश्व फुटबलकै स्टार हुन् ।

उनीहरू कुनै पनि बेला खेलको पटकथा रच्न र परिवर्तन गर्न योग्य छन् । उदाहरण, पाँचपल्टको विजेता ब्राजिलमाथि डच टोलीको जित र तीनपल्ट विश्वविजेता भएको जर्मनीविरुद्ध स्पेनको सफलतालाई मान्न सकिन्छ । उनीहरूसँग ब्राजिल र जर्मनी निरीह नै देखिएको थियो ।

हारजितको परिणाम मात्र होइन, पूर्वविजेतामाथि नेदरल्यान्ड्स र स्पेनको जित विश्व फुटबलमा नयाँ शक्ति उदयको उद्घोष पनि हो ।

त्यसैले पहिलोपल्ट अफ्रीकी महादेशमा आयोजना भएको विश्वकपको फाइनल खेल रोमाञ्चक र सनसनीपूर्ण हुने विश्वास छ । दुवै

टोलीको समानता हो, कलात्मक खेल शैली । दुवै आक्रमक फुटबलमा विश्वास गर्छन् ।

एकै खालको शैली र रणनीति भएकाले दुवैका लागि फाइनल कठिन हुने निश्चित छ । सन् ७० को दसकमा डच प्रशिक्षक राइनस मिचेल्सले प्रतिपादन गरेको ‘टोटल फुटबल’ को शैली दुवैले पछ्याइरहेका छन् । गोलकिपरबाहेक बाँकी खेलाडीले गोल गर्ने धुनमा आक्रमणको जालो बुन्ने शैली हो, टोटल फुटबल । यो शैली सुन्दर अर्थात् कलात्मक फुटबलको नमुना पनि हो ।

दुईपल्ट विश्वकपको फाइनलमा रोकिए पनि राइनस दर्शनमा नेदरल्यान्ड्सले फुटबल पारखीको मन जितेको थियो । राइनसले नै फुटबल क्लब बार्सिलोनामार्फत् स्पेनमा ‘टोटल फुटबल’ भित्र्याएका थिए । बार्सिलोनाका सात खेलाडी स्पेनी सफलताका आधार हुन् । त्यसैले स्पेनलाई गएको वर्ष ६ उपाधि जितेको बार्सिलोनाको प्रतिविम्ब माने फरक पर्दैन ।

चार दसक फुटबलमा भिजेका भिसेन्ट डेल बस्कको निर्देशनमा स्पेनको खेलको पटकथा जाभी हर्नान्डेजले रच्नेछन् । दुई वर्षअघि स्पेन युरोपेली च्याम्पियन हुँदा उनी सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए । तीन वर्षयता मिडफिल्डमा जादु देखाइरहेका उनी अहिले विश्वकै सर्वोत्कृष्ट खेलाडी हुन् । विश्वकपमा पनि उनी गोल्डेन बलका सबैभन्दा बलिया हकदार हुन् ।

कमै फल खेल्ने शान्त टिममा उनका सहयोगीहरू पनि एक-से-एक छन् । स्पेनी गोल मेसिन डेविड भिल्ला र डच प्लेमेकर वेस्ले स्नाइडरका लागि विश्वकप फाइनल ‘गोल्डेन बुट’ को प्रतिस्पर्धा पनि हो । समान ५/५ गोल गरेर उनीहरू सर्वाधिक गोलकर्ताको सूचीमा अगाडि छन् । जाभी र उनका सहकर्मीलाई रोक्न डच टिमलाई गाह्रो हुनेछ ।

जिनेदिन जिदानको झल्को दिने आर्जेन रोबेन, स्नाइडर र मार्क भान बोमेलले क्षमताअनुसारको खेल पस्केमा डच टिमलाई १८ क्यारेट सुनको ट्रफी चुम्नबाट रोक्न स्पेनलाई धौ-धौ पर्नेछ । दुवैले विश्वकप छनोटमा शतप्रतिशत जित आत्मसात गरेका थिए । विश्वकपमा खेलको अत्यधिक पासले पनि दुई टिमको उत्कृष्टता प्रस्ट्याउँछ । स्पेनले ३ हजार ३ सय ८७ र नेदरल्यान्ड्सले २ हजार ४ सय ३४ पल्ट पास खेलेका छन् ।

पासमा डच टिम ७२ प्रतिशत र स्पेन ८१ प्रतिशत सफल भएका छन् । भुभुजेलाको गुञ्जायसबीच इंल्यान्डका रेफ्री होवर्ड वेबले फाइनल समाप्तिको हि्वसिल फुकेपछि मात्रै नयाँ विश्वविजेताको छिनोफानो हुनेछ । जसले जिते पनि महादेशबाहिर विश्वकप जित्ने पहिलो टिम हुनेछ । सन् १९६२ मा ब्राजिलले उपाधि रक्षा गरेयता दक्षिण अमेरिकी र युरोपेली टिमले पालैपालो ट्रफी चुम्दै आएका छन् ।

अहिलेसम्म १८ पल्ट भएको विश्वकप युरोप र दक्षिण अमेरिकी टिमले नौ-नौपल्ट जितेको छ । पहिलो खेलमै स्विट्जरल्यान्डसँग अविश्वसनीय हार बेहोरेयता उत्कृष्ट पुनरागमन गर्दै स्पेन पाँचै खेल जितेर उपाधिनजिक पुगेको हो । यसपल्ट अहिलेसम्म उसले दुई गोल खाएको र सात गोल गरेको छ ।

Source: ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.