नेपाल-दाहाल सहमति अलपत्र


  काठमाडौं,  प्रधानमन्त्री माधवकुमार नेपालले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग शान्ति प्रक्रिया र लोकतान्त्रिक संविधानको न्यूनतम आधार’bout सहमति कायम गरेपछि मात्र राजीनामा गरेको ती दुई नेताबीचको गोप्य भेटवार्ताका मध्यस्थकर्ताले सार्वजनिक गरेका छन्।
शान्तिप्रक्रिया सुरु भएदेखि माओवादीसँग अनौपचारिक वार्तामा संलग्न नेपाली कांग्रेसका पूर्व सांसद अमरेशकुमार सिंहले आइतबार नागरिकलाई दिएको विशेष जानकारीअनुसार, असार १३ गते अध्यक्ष दाहालसँग मौखिक सहमति गरेको तीन दिनमा प्रधानमन्त्री नेपालले राजीनामा गरेका हुन्।

प्रधानमन्त्री नेपालले दाहालसँग बालुवाटार आसपास रातिको खानासँगै वार्तालाप भएको राजीनामाको राति नागरिकसँगको अन्तर्वार्तामा खुलाए पनि उक्त सहमतिको संकेतसम्म गरेका थिएनन्। ‘म यो आज सार्वजनिक गर्न किन बाध्य भएको छु भने,’ सिंहले भने, ‘माओवादीले सहमतिको कार्यान्वयन प्रक्रिया सुरु गर्नै चाहेन, बरू पहिले सरकार बनाइहालूँ भनेर सहमतिलाई टार्न खोज्यो।’

सिंहका अनुसार, त्यो राति सवा दुई घन्टासम्म छलफलपछि दुई नेताबीच प्रधानमन्त्रीले राजीनामा गरेको आधा घन्टामा अध्यक्ष दाहालले स्वागत गर्ने र तत्काल शान्ति प्रक्रिया तथा लोकतान्त्रिक संविधानको कार्यरूप अघि बढाउने सहमति भएको थियो। त्यसपछि माओवादी नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने समझदारी भएको हो।

‘दुवैजनाबीच पानी बाराबारजस्तै थियो, सहमति नभई राजीनामा नगर्ने भन्ने प्रधानमन्त्री र राजीनामा नगरी सहमतिको प्रयासै नगर्ने माओवादीको अडानबीच मैले त्यो भेटघाटको मध्यस्थता गरेको थिएँ,’ सिंहले भने, ‘राजीनामापछि सरकार कामचलाउ भएका बेला लडाकु समायोजनको संख्या र प्रारूप तय गर्ने सहमति भएको थियो।’

उक्त सहमतिमा माओवादी लडाकुमध्ये पाँच हजार जनालाई (सेना, जनपद र सशस्त्रमा) समायोजन गर्ने, बाँकीलाई आकर्षक प्याकेज घोषणा गर्ने, समायोजन र पुनःस्थापन हुनेलाई दुइटा भिन्न शिविरमा राख्ने, विशेष समितिको कमान्डमा राख्ने प्रावधानतिर नअल्भि्कने भन्ने थियो।

त्यसैगरी ‘लोकतान्त्रिक संविधान’ सुनिश्चित गर्न प्रेस स्वतन्त्रता, न्यायालयको स्वतन्त्रता (संसदमातहत होइन), प्रतिस्पर्धात्मक बहुदलीय व्यवस्था अंगिकार गर्ने आधारभूत विषयमा समेत सहमति भएको खुलाउँदै सिंहले भने, ‘राज्य पुनःस्थापना गर्दा पहाडमा चार र तराईमा दुई गरी छवटा प्रदेश बनाउनेसम्म दुईजनाबीच मेरै रोहवरमा सहमति भएको हो।’

सिंहका अनुसार, अनमिनको चार महिने म्यादभित्रै समायोजन र पुनःस्थापन र आगामी फागुनअगावै संविधान जारी गर्ने समेत सहमति भएको हो। ‘उल्टै अहिले माओवादीले पहिले सरकार बनाउने, शान्तिप्रक्रिया र संविधान निर्माण’bout सहमति गर्दै जाने अडान लिएकाले प्रधानमन्त्रीको राजीनामापछि पनि राजनीतिक गतिरोध जारी छ,’ उनले भने, ‘यही सरकारले कामचलाउ अवस्थामै पनि बजेट घोषणा गर्ने सहमति भएको थियो, त्यसको मतलव के हो भने सेना समायोजनको प्रक्रिया सुरु गर्न र सरकार बनाउन केही दिन लागिहाल्छ।’

सिंहका अनुसार प्रधानमन्त्री नेपाल र अध्यक्ष दाहाल सुरक्षागार्ड र औपचारिक ड्राइभरसमेत नलिई गोप्य रूपमा एकजनाको निजी निवासमा पुगेका थिए। भेटवार्तामा चौथो व्यक्ति कोही नरहेको र दाहालको गाडी चलाउने छोरा प्रकाशसमेत सरिक नभएको सिंहले बताए।

‘संविधानसभाको म्याद थप्दासमेत दुईजनाबीच भेटघाट भएको थिएन,’ उनले भने, ‘गत आइतबार (असार १३) भएको भेटघाट राजनीतिक निकासका लागि महत्वपूर्ण थियो, प्रधानमन्त्रीले त्यसरी सहमति भएर निकासका लागि पो राजीनामा गर्नुभएको हो।’

माओवादीले जेठ १४ को तीनबुँदे सहमतिको पहिलो बुँदालाई ‘प्राक्कथन’का रूपमा लिई शान्तिप्रक्रियालाई सरकार गठनपछि मात्र छलफलको विषय बनाउन चाहेपछि माओवादी र कांग्रेसका शीर्ष नेतृत्वबीच शनिबारको वार्ता असफल भएको थियो।

‘प्रधानमन्त्रीले मलाई खोइ त सहमतिअनुसार माओवादी अघि बढेन भन्नुभयो, मैले हिजो र आज पनि प्रचण्डजीसँग छुट्टै कुरा गरें,’ सिंहले भने, ‘प्रचण्डजी सहमति कार्यान्वयन गर्न इमानदार बन्नुभएन।’

कांग्रेसका कृष्णप्रसाद सिटौला, शेखर कोइराला र सिंहले सोमबार पनि माओवादीका तीन उच्च नेता दाहाल, मोहन वैद्य र बाबुराम भट्टराईलाई भेट्दैछन्।

सिंहका अनुसार, प्रधानमन्त्रीले दाहाललाई ५-६ महिनाका लागि एमाले वा कांग्रेसका कुनै नेताको नेतृत्वमा सहमतिको सरकार गठन गरौं, समायोजन र संविधाननिर्माण सम्पन्न भएपछि चुनावी सरकारका लागि माओवादी नेतृत्वमा अर्को सरकार बनाउने प्रस्तावसमेत गरेका थिए।

‘त्यो भेटवार्तामा सवा दुई घन्टासम्म दुवै नेताले प्रसन्न मुद्रामा खुलस्त छलफल गर्नुभएको हो,’ उनले भने, ‘कार्यान्वयन थालेको भए माओवादी नेतृत्वमै सहमतिको सरकार बन्न सक्थ्यो।’

Source:  नागरिक

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.