रिसाउदा झनै राम्री ‘शेरबहादुर र आरजुको प्रेम’


कांगे्रस नेता शेरबहादुर देउवासँग बैंसमा महिला’bout भ्रममात्रै थिए । ‘म साह्रै लजालु स्वभावको मान्छे,’ देउवाले यो घोषणा गर्दै गर्दा बैंसका आफ्ना दिन सायद चस्माको पावर मभित्रका उनका आँखामा आउँदै-जाँदै गर्दै थिए ।
महिलासँग नजिकिनुलाई उनले सधैँ ‘रोमान्स’को अर्थमा मात्रै बुझे । ‘दुनियाँमा जे-जति रोमान्स, डाङडुङ र बबाल हुन्छन्, ती सबै महिलाकै कारणले हुन्छन्’, भन्ने उनलाई लाग्थ्यो । ‘सायद त्यही भ्रमले महिलासँग ” फ्रिन्डसिप” गर्न र बोल्नमा म क्रेजी थिइनँ,’ देउवाले बैंसका दिनप्रति इंगित गर्दै सुनाए ।
विद्यार्थीकालमा जब पूरै ध्यान राजनीतितिर मोडियो, त्यसपछि देउवाका भ्रम पनि पातलिँदै गए । केटीहरूसँगको प्राज्ञिक उठबसले बिस्तारै महिलाप्रति उनका दृष्टिकोण फेरिए । त्यसपछि कस्ता लागे त महिला ? ‘संगठनमा सँगै काम गर्दा महिलाका मनमा स्वतन्त्रता र सौन्दर्यका आकांक्षा बढी पाएँ,’ उनले सुनाए ।

***

त्यतिवेला देउवालाई कोही पनि केटीले मनमा राखेनन् रे । देउवालाई जवानीमा एउटा पनि पे्रमपत्र आएन । न कसैसँग बस्यो उनको दिल । त्यतिखेर पे्रमका अनुभूति सँगाल्न पनि मन लागेन उनलाई । कहिलेकाहीँ झट्ट केटीप्रति ‘आकषिर्त’ भइहाले पनि ती अनुभूतिलाई सम्झेर पटक-पटक ‘नोस्टाल्जिक’ हुन पनि मन लागेन । तर पनि प्रेमका मीठा धुन उनका जीवनका कुनामा कतै गुन्जिरहेका रहेछन् ।
जवानीमा अरूका प्रेम-प्रसंग देउवालाई बनावटी लाग्थे रे । तर, जवानीको मध्यतिर देउवाको मनमा टुक्रुक्क बास बस्न आइन्- डाक्टर आरजु राणा । कहिल्यै कसैलाई पनि मनमा नराखेका देउवाले कसरी आरजुलाई चाहिँ मनमै सजाए होलान् ? ‘आरजु विदुषी थिइन्, अनि अनुशासित पनि । उनको सौन्दर्य र शालीनताबाट म प्रभावित थिएँ,’ उनले भने । एउटा पार्टीमा आरजुलाई शेरबहादुरले देखेका थिए । पहिलो देखभेटमै आरजु शेरबहादुरको मनमै बसिन् । ‘राम्री थिइन्,’ उनले सम्भिए, ‘पहिलो भेटमै मन परेको थियो ।’ तर, उनीहरू पहिलो भेटमै प्रेममा परेनन् । न त उनीहरूको भेट बारम्बार भइरहयो । एकपटक आँखामा बसेको मान्छेलाई फेरि भेट्न मन लाग्यो होला नि ? तर, दुई वर्ष आरजु शेरबहादुरको आँखाबाट ओझेल परिन् । मनमा भने उनीसँग भेटेको स्मृति ताजै थियो ।

***

दुई वर्षपछि फेरि शेरबहादुर र आरजुको भेट जुर्‍यो । तर, भेटमा खासै कुरा भएनन् । चिनजान भएपछि र बिहेअघि आरजुसँग कतिपटक भेट भयो होला ? ‘ठयाक्कै त थाहा छैन तर, दुई-तीनपटक भेट भयो कि ?’ देउवा सम्झन्छन् । तर, उनीहरूको भेट सस्ता प्रेम जोडी जस्ता कुनै पार्कमा र बाटामा भएन । ‘पार्टीको मिटिङ र समारोहमा भेट हुन्थ्यो, त्यति हो,’ देउवाले सुनाए ।
उनीहरूको भेटघाटमा राजनीतिक र औपचारिक कुरा मात्रै हुन्थ्यो रे । बिहेअघि कहिल्यै पनि उनीहरूले आफ्ना सुन्दर भावी जीवन’bout कुरा गरेनन्, प्रेम’bout कुरा गरेनन् । कहिल्यै ‘गिफ्ट’ पनि आदान-प्रदान भएन । तर, छोटो भेटमै माया बस्यो । सायद बिस्तारै उम्रेको त्यो मायाको टुसोले जरा पनि हाल्न थाल्यो ।
तर, बिहेको साइत कसरी जुर्‍यो ? दुई-तीनपटकको लगातारको भेटपछि शेरबहादुर आफैँ अघि सरे र विवाहको प्रस्ताव राखे । ‘बिहेको कुरा गर्न म आफैँ अघि सरेँ,’ देउवाले सुनाए, ‘र, आरजुले स्वीकार पनि गरिन् ।’ डायरी पल्टाउँदा थाहा लाग्यो, सात महिनाअघिको आरजुसँगको संवादमा उनलाई पनि यही प्रश्न सोधिएको थियो र भनेकी थिइन्, ‘उहाँ मनमा बसेको मान्छे, विवाहको प्रस्ताव गर्दा किन नस्विकार्नु ?’ यसरी शेरबहादुर र आरजुको नयाँ जीवन सुरु भयो ।
विवाह हुँदै शेरबहादुरले कांग्रेस राजनीतिको बिन्दु चुमिसकेका थिए । उनी गृहमन्त्री भइसकेका थिए । मान्छेलाई खाएर, लाएर र प्रतिष्ठाले मात्र नपुग्दोरहेछ । ‘अरू’ पनि केहीको खाँचो जीवनमा महसुस भइरहँदोरहेछ । त्यो ‘अरू’ भनेको के ? प्रेम, मोह, स्नेह ? त्यति माथिल्लो ओहदामा पुगेको व्यक्तिलाई किन विवाहको खाँचो महसुस भयो ? जीवनमा नपुग्दो के थियो
र ? ‘त्यस्तो नपुग्दो भन्ने होइन । फेरि मैले विवाह नै गर्दिनँ भनेर बसेको पनि त होइन नि,’ शेरबहादुरले सुनाए, ‘मान्छेले जीवनमा प्रेमको खोजी गर्छ । प्रेम, आत्मीयता र स्नेहका लागि विवाह भएको हो ।’ शेरबहादुर र आरजुको बिस्तारै ‘कोपिला’ बन्दै गरेको प्रेमले बिहेपछि फुल्ने र फक्रने मौका पायो ।

***

बिहेपछि आरजु पनि राजनीतिमै अघि बढिन् । उनको पनि राजनीतिमा राम्रै ‘हाइट’ बनेको छ । बिहेपछि आरजुसँगको संगतले देउवालाई महिला कस्ता लागे ? ‘महिलामा सौन्दर्य, आनन्द र स्विटनेस हुँदोरहेछ,’ देउवाले भने । अनि पुरषचाहिँ कस्ता हुन्छन् ? ‘जिद्दिपन, कठोरता र रवाफमात्रै हुन्छ पुरुषसँग,’ उनी भन्छन् । महिलाको मामलामा उनी आरजुलाई रोल ‘मोडल’ ठान्छन् । आरजुको ‘केयर’ले उनले जीवनमा पहिलोपटक महिलालाई साह्रै नजिकबाट चिन्न पाए ।
आरजुसँगको प्रेममा शेरबहादुरले महिलासँग फ्रेन्डसिपको अर्थ, सौन्दर्य र जीवनको खोजी गरे । ‘मान्छे मुक्त गर्ने बाटो खोज्दाखोज्दै राजनीतिज्ञ बनिएछ,’ उनले सुनाए, ‘मेरो जिन्दगी राजनीतिको जोस र खोजमा बित्यो ।’ आरजुबाहेक कहिल्यै अरू केटीसँग आकषिर्त नभएका शेरबहादुर आफूसँग विद्यार्थी राजनीति गर्ने जोशिला महिलालाई सम्झन्छन् । ‘राजनीति गर्ने ती केटीमान्छेसँग जोस र उमंग थियो,’ उनले सुनाए, ‘तिनीहरूप्रति सधैँ सम्मान जाग्यो । सायद महिलाप्रति सम्मान गर्न मैले विद्यार्थी राजनीतिदेखि नै सिकेको हुँ ।’
बैंसमा देउवा दुब्ला, पढन्ते र राजनीतिका अनुयायी थिए । ‘तर, जवानी र जोस सबै जेल र आन्दोलनमै बित्यो,’ उनको आफ्नो जवानीप्रतिको निष्कर्ष यस्तो छ ।
संवाद प्रेम’bout भइरहेछ । जीवनमा प्रेमको स्थान कहाँ हुँदोरहेछ ? ‘सबैभन्दा माथिल्लो स्थानमा हुन्छ प्रेम । तर, सम्झौता धेरै हुने रहेछ प्रेममा,’ सायद बिहेपछिको प्रेम सर्वाधिक अनुभव गरेका देउवाले भने, ‘श्रीमान्-श्रीमतीको प्रेममा बन्धन हुन्छ । अनि धेरै सम्झौता ।’
उनलाई पहिले र अहिलेमा पे्रम पनि फेरिएको लाग्छ । ‘पहिले गाढा र साँच्चैको प्रेम हुन्थ्यो । अहिले प्रेम फास्टफुडजस्तै भएको छ,’ उनले सुनाए, ‘मैले थाहा पाउँदासम्म केटाकेटी रेष्टुरेन्टमा गएर सँगै खानसम्म लजाउँथे । अहिले त कुरै बेग्लै । समयसँगै प्रेम पनि फेरिँदोरहेछ ।’
सिनेमामा देखाइने प्रेममा शेरबहादुरलाई विश्वास छैन । ‘फिल्म र जिन्दगी एउटै होइन,’ उनले सुनाए, ‘फिल्ममा देखावटी प्रेम हुन्छ, डिजिटल प्रेम । तर, मान्छेको जीवनमा प्रेम नभए सबै सम्बन्ध त्यही टुंगिन्छ ।’ देउवाले जीवन जिउनुलाई ‘कला’ भने र कलालाई ‘जीवन’ । ‘तर, कला जीवनले हिँडाउने हो । कलाले जीवन हिँडाउँदैन,’ जीवनको सुन्दर परिभाषा दिए उनले, ‘कला नभए जीवन सुन्दर हुँदैन । जीवनको सबैभन्दा सुन्दर पक्ष हो कला ।’

***

शेरबहादुर मायालु लाग्छन् र आरजु निकै राम्री । उनीहरूको प्रेमको नदी अविरल बगिरहेको छ । १५ वर्षको वैवाहिक जीवनमा अनेक रूपमा माया साटे होलान् शेरबहादुर र आरजुले । कसरी माया साटिन्छ र देखाइन्छ होला ? ‘माया कहिले पनि देखाइँदैन,’ देउवाले भने, ‘माया गरिन्छ त्यति हो ।’
प्रेममा हृदयले एउटा चित्र कोर्छ । भनिन्छ, ‘श्रीमतीसँगको मात्रै माया विवाहपछि छोराछोरीमा पनि बाँडिन्छ ।’ शेरबहादुरको मायाचाहिँ आरजु र छोरा जयवीरसँग बाँडियो कि बाँडिएन ? आरजु र जयवीरमध्ये कसको बढी माया लाग्छ ? ‘माया कसको बढी लाग्छ भन्ने हुन्न,’ शेरबहादुर लामो हाँसो हाँसे,’ माया दुवैको बराबर लाग्छ । श्रीमतीको ठाउँमा आरजु र छोराको ठाउँमा जयवीरको माया लाग्छ ।’ त्यसो भए शेरबहादुर र आरजुले के राखे होलान् आफ्नो प्रेमको साक्षी ? कुनै दिन मायालु प्रकृतिलाई पो मायाको साक्षी राखे कि उनीहरूले ? ‘हाम्रो प्रेमको साक्षी छोरा हो,’ उनले भने, ‘अरू के हुन सक्छ ?’
मान्छेलाई धेरै कुराको भोक लाग्छ । मान्छे भोकले नै ‘संसारै जित्छु’ भनेर दौडिन्छ । भोको मान्छेलाई प्रेम वा खानेकुरा कुन बढी आवश्यक हुन्छ होला ? ‘खानेकुरा । तर, प्रेमविना त कसरी संसारको कल्पना गर्नु ?’

***

सँगसँगै राजनीतिमा लागेकी आरजुको राजनीतिक जीवनलाई शेरबहादुरले कसरी हेरेका छन् ? ‘राम्रै छ । मलाई उनले धेरै सहयोग गरेकी छिन्,’ उनले सुनाए, ‘आरजुले पनि राजनीतिमा आफूलाई राम्रोसँग बलियो बनाएकी छिन् । यदि आरजु नभएको भए राजनीतिमा म यति सफल हुन्थेँ कि हुन्नथेँ थाहा छैन ।’
प्रेमी भन्छन्, ‘तिमीसँगै मर्छु, तिमीसँगै बाँच्छु ।’ पिरतीका यस्ता धेरै कथा हुन्छन् । प्रेममा जीवन सुम्पनेहरू, एकले अर्कालाई जीवन ठान्नेहरू प्रेमकै लागि बाँच्छन् । र, जे पनि प्रेमकै लागि गर्छन् । कोही व्यग्र छन्, प्रेमको शिखर आरोहण गर्न । कोही आतुर छन् मायाको सागरमा डुबुल्की मार्न । एकचोटि टुसाएको माया कहिल्यै अस्ताउला र ? तर, माया अस्ताएको ठानेर त्यसकै लागि जीवन सिध्याउने देउवालाई कस्तो लाग्छ ? ‘प्रेम संसारको सबैभन्दा ठूलो कला हो । प्रेमविना संसारको सृष्टि नै हुन सक्दैन । प्रेममा आत्महत्या गर्नेहरूले आफ्नो जिन्दगी बुझेका हुँदैनन् । प्रेम अनुभूति हो । त्यसलाई अनुभूति नै रहन दिए हुन्छ ।’

****

शेरबहादुरलाई आरजुको सबैभन्दा मन पर्ने र मन नपर्ने कुरा के होलान् ? ‘सबैभन्दा मन पर्ने कुरा के भने, आरजु निकै सहयोगी छिन् र मेरो भावना बुझ्छिन् ।’ अनि मन नपर्ने कुरा नि ? ‘उनी कहिलेकाहीँ रिसाउँछिन् । तर, रिसाउँदा पनि आरजु निकै राम्री देखिन्छिन् ।’ 

प्रस्तुति : दीपक सापकोटा
spkt.deepak@gmail.com

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.