यार्चागुन्बुको भाउ घट्यो


हिमाली भियग्राको रूपमा विश्वभर ख्याति कमाएको यार्चागुन्बुको भाउ यस वर्ष ह्वात्तै घटेको छ । गत जेठ पहिलो सातादेखि हिमाली जिल्लाहरूमा एकसाथ संकलन सुरु भएको यार्चागुन्बुको मूल्य यस वर्ष प्रतिकिलो ४ लाख रुपैयाँभन्दा कम हुने यस क्षेत्रमा संलग्न व्यवसायीहरूले दाबी गरेका छन् । विगतका वर्षहरूमा यो प्राकृतिक जडिबुटीको मूल्य प्रतिकिलो ११ लाख रुपैयाँसम्म पुगेको थियो ।
विगतको वर्षहरूजस्तै यस वर्ष पनि मूल्य बढ्ने अनुमानका आधारमा लाखौं खर्चेर हिमाली जिल्ला पुगेका यार्चागुन्बु व्यवसायीहरू रित्तो हात फर्कन थालेका छन् ।
यार्चागुन्बुको राजधानी मानिने डोल्पाका व्यवसायी लक्ष्मिकान्त उपाध्यायका अनुसार स्थानीयस्तरमा यस वर्ष यार्चागुन्बुको संकलन सोचेजस्तो भएको छैन भने संकलित यार्चागुन्बुसमेत बिक्री हुन सकेको छैन ।
अन्तर्राष्ट्रिय बजारबाट यस वर्ष खासै माग नपाएपछि विगतका वर्षहरूमा भन्दा यस वर्ष एक्कासि भाउ घटेको उनले बताए । यस वर्ष स्थानीय संकलकहरूले समेत गत वर्षको भन्दा दोब्बर मूल्य माग गरेपछि स्थलमै रहेका व्यापारीहरू यार्चागुन्बु नकिनी फर्किएका छन् ।
उनका अनुसार डोल्पामा संकलन गर्न गएका जाजरकोट र रुकुमका यार्चागुन्बु संकलकहरूले फर्कनै पर्ने भएकाले केही बिक्री गरे पनि अधिकांश यार्चागुन्बु बिक्री भएका छैनन् । उनीहरूले पनि प्रतिगोटा २ सय ५० रुपैयाँदेखि ३ सय रुपैयाँसम्ममा यार्चागुन्बु बेचेका छन् । “डोल्पालीहरू अझै पनि भाउ बढ्छ कि भनेर पर्खिरहेका छन्,” डोल्पा निर्माण व्यवसायी संघका अध्यक्षसमेत रहेका उपाध्यायले भने ।
यसैगरी, विगतका वर्षमा सक्रिय रूपमा यार्चागुन्बु व्यवसायमा संलग्न रहेका व्यवसायी दीपक शर्माका अनुसार गत वर्षहरूमा जस्तो यस वर्ष यो व्यवसायमा खासै उत्साह देखिएको छैन । यार्चागुन्बुको अन्तर्राष्ट्रिय मूल्य निर्धारण हुने कुनै मापदण्ड नभएकाले व्यवसायमा समस्या देखिएको उनको भनाइ छ ।
अघिल्लो वर्षको अन्तिम मूल्यबाट यस वर्षको बजार मूल्य सुधार हुने भएकाले हरेक वर्ष मूल्य बढ्छ भन्ने मान्यता यस क्षेत्रमा स्थापित भएको उनको भनाइ छ । प्रत्येक वर्ष मूल्य बढ्न नसक्ने भएकाले यो वर्ष समग्र यार्चागुन्बुको व्यापार नै समस्यामा परेको उनी बताउँछन् ।
शर्माका अनुसार यस वर्ष अधिकांश व्यापारीहरूले यसको कारोबार गरेका छैनन् । डोल्पा लगायतका हिमाली क्षेत्रमा जाने व्यवसायीहरूको संख्यासमेत विगतको वर्षको तुलनामा अत्यन्त न्यून छ ।
“यार्चागुन्बुको मूल्य सुनेर धेरैले रहरले मात्र व्यापारमा हात हालेका हुन्छन्,” उनी भन्छन्, “यो व्यवसायमा लाग्ने धेरैले घाटा खाएकाले पुराना व्यापारी कोही पनि भेटिंदैनन् ।”
यार्चागुन्बुको बढ्दो प्रचार–प्रसारले स्थानीय संकलकलाई भने फाइदा पुगेको उनको भनाइ छ । सरकारले औपचारिक रूपमा यसको संकलन र कारोबार खुल्ला नगर्दा गुपचुपमा कारोबार हुने गर्दथ्यो र संकलकहरूले खासै मूल्य पाउँदैनथे । “तर अहिले भने उनीहरूले मनग्ये पैसा पाएका छन्,” उनले भने ।
सरकारी स्वीकृतिपत्र लिएर यार्चागुन्बु संकलन गर्नेहरूलाई स्थानीय प्रशासनले प्रतिकिलो १० हजार रोयल्टी तिर्ने सर्तमा अनुमतिपत्र बाँडेको छ । एक अनौपचारिक अध्ययनअनुसार यस वर्ष यार्चागुन्बु संकलनका लागि हिमाली जिल्लाका करिब ६० हजार नागरिक प्रत्यक्ष सहभागी भएका छन््  ।
यार्चागुन्बु मुलुकका डोल्पा, मुस्ताङ, मनाङ, बाग्लुङ, म्याग्दी, जाजरकोट, दार्चुला, संखुवासभा, कालीकोट, हुम्ला, मुगु, जुम्ला, गोरखा लगायतका हिमाली जिल्लाहरूमा पाइन्छ ।
यार्चागुन्बु अन्वेषक रणबहादुर रावलका अनुसार नेपालमा करिब १० हजार किलोग्राम यार्चागुन्बु पाइने भए पनि त्यसको ३० प्रतिशतमात्रै संकलन हुने गरेको छ । कतिपय स्थानमा मानव पहुँच नभएका कारण र कतिपय क्षेत्रमा हिउँ नपग्लिएका कारण सबै यार्चागुन्बु संकलन हुन नसकेको उनी बताउँछन् ।
व्यवस्थित ढंगले खोजी गर्ने हो भने वार्षिक ८ हजार किलोभन्दा बढी यार्चागुन्बु संकलन गर्न सकिने उनको भनाइ छ । यसको ब्रान्ड बेचेर अन्तर्राष्ट्रियस्तरमा चिया, कफी, वाइन लगायतका खाद्य तथा पेयपदार्थ बिक्री गर्न सकिने उनले बताए ।
कोरियाको प्रसिद्ध जडिबुटी उत्पादन ‘जिङसिङ’ सँग तुलना गर्दै उनले भने, “एउटा जडिबुटीले कोरियाको अर्थतन्त्रमै कायापलट गरेको छ भने हामीले यार्चागुन्बुको प्रबद्र्धनमा ढिलाइ गर्नुहुँदैन ।”

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.