६० हजार कामदार माग, १५ हजार पासपोर्ट जारी


काठमाडौं, असार १- वैदेशिक रोजगार व्यवसायीहरुले राहदानी अभावमा विदेशबाट आएका मागअनुरुप कामदार पठाउन सकेका छैनन्। सरकारले माग गरेको भोली पल्ट राहदानी दिने घोषणा गरेको छ। तर, जिल्लाहरुबाट वितरण नहुँदा विगतमा जस्तै सर्वसाधारण राहदानी लिन वञ्चित छन्।

‘विभिन्न मुलुकबाट जुनमा साठी हजार कामदारको माग आएको छ। तर, राहदानी लिएका बीस हजारभन्दा बढी कम्पनीमा आएका छैनन्’ नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष सोमलाल बाटाजुले नागरिकसँग भने। रोजगारदाताको मागअनुसार कामदार पठाउन नसकिएको बताउँदै उनले यसले वैदेशिक रोजगारीलाई दीर्घकालिन रुपमा असर पर्ने जानकारी दिए।

‘परराष्ट्र मन्त्रालयले अहिले प्रतिमहिना करिव १५ हजार राहदानी जारी गर्दै आएको छ। विभिन्न मुलुकबाट कामदारको माग भने ५० हजारभन्दा माथि छ,’ संघका महासचिव कुमुद खनालले भने ‘समस्या राहदानी नै हो। जिल्लाबाट राहदानी वितरण नगरेसम्म यो समस्या समाधान हुँदैन।’ उनले सरकारले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) राजधानीबाट मात्र वितरण गर्ने भएकाले यसको अभ्यासका लागि अहिले राहदानी जिल्लाबाट दिन छोडेको बताए।

सरकारले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन(आइकाओ)ले तोकेको समयमा एमआरपी लागु गर्न नसकेपछि अझै केही समय हस्तलिखित राहदानीलाई मान्यता दिन अनुरोध गदै एकद्धार प्रणाली अन्तर्गत परराष्ट्र मन्त्रालयबाट दिइरहेको छ। विगतमा मुलुकभरबाट दैनिक दुई हजार पाँच सय राहदानी जारी हुने गरेको थियो।

राहदानी अभावले मागअनुसार कामदार पठाउन नसकेको अवस्थामा अघिल्ला वर्षभन्दा अहिले माग झनै बढेको छ। गतवर्ष जुनमा ४० हजार कामदारको माग आएकामा यो वर्ष ६० हजार आएको छ। यो करिव ३३ प्रतिशतको बढोत्तरी हो। व्यवसायीहरुका अनुसार विश्व आर्थिक मन्दीका कारण गत वर्ष माग कम आएको थियो। मन्दी पछि अहिले माग उच्च छ।

‘राहदानी नभएकाले कामदार पठाउन नसकिएको व्यवसायीको दैनिक गुनासो आइरहेको छ,’ बटाजुले भने, ‘पूर्व स्विकृति गरेर पत्रिकामा दुईपल्ट विज्ञापन गर्दा समेत कामदार आएका छैनन्।’ विदेशी कम्पनीले कामदार माग गरेपछि व्यवसायीले वैदेशिक रोजगार विभागमा पूर्व स्विकृति लिई भिषाका लागि पहल गर्न कामदार खोजी गर्दै विज्ञापन गर्छन्।

महासचिव खनालले आफ्नो कम्पनीले २ सय ५० जना कामदारको माग गरे पनि अहिलेसम्म पचास जना मात्र पाएको बताए। ‘कामदार मागेर विज्ञापन गरेको थिए,’ उनले भने, ‘अहिलेसम्म पचास जनाभन्दा बढी कामदार पाएको छैन।’ उनले राहदानीकै कारण तोकिएको समयमा कामदार पठाउन नसक्दा रोजगारदाता कम्पनीले ताकेता गरिरहेको जानकारी दिए।

रोजगारदाता कम्पनीले अन्य मुलुकबाट कामदार ल्याउने दबाब दिइरहेकाले व्यवसायी थप समस्यामा परेको खनालले बताए। अत्यन्तै छोटो समय राखेर कामदार माग गर्ने केहि कम्पनीहरुका कारण झनै समस्या परेको उनले बताए। उनका अनुसार आगामी अगस्टसम्म कामदारको माग उच्च रहने समय हो। त्यसपछि नयाँ कामदारका लागि सम्झौता गर्ने समय हो।

राहदानी अभाव रहेको तथ्यांक विभागबाट पनि देखिएको छ। विभागका अनुसार अहिले अन्तिम स्विकृतीका लागि दैनिक करिव ८ सय कामदारको माग आउने गरेको छ। व्यवसायीले पूर्व स्वीकृति लिएपछि कामदारसँग राहदानी लिइ विदेशी कम्पनीबाट भिषा लगाएर अन्तिम स्वीकृतिका लागि विभागमा माग गर्छन्। ‘पहिले दैनिक १ हजार ४ सय कामदारको माग अन्तिम स्विकृतीका लागि आउने गर्थ्यो,’ विभागका एक कर्मचारीले भने, ‘अहिले ८ सयमा झरेको छ।’

सरकारले एक द्धार प्रणालीबाट मात्र राहदानी जारी गर्दा विदेश जाने गरीब युवालाई बढी आर्थिक भार परेको छ। जिल्लामा पाइने राहदानी लिन काठमाडौंमा आउनुपर्ने भएपछि विदेश जाने युवालाई थप भार परेको हो। विकट जिल्लाबाट आउने युवाले राहदानी बनाउन २० हजारसम्म खर्च गर्नुपर्ने भएको छ। जिल्लामा पाँच हजारमा पाउने राहदानीका लागि २० हजार लाग्दा विदेश जानेको लागत बढेको छ। यो अवधिमा विदेशमा भने कामदारको तलब बढेको छैन।

Source: Nagarik

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.