काठमाडौं, नेपालीको पासपोर्टमा बंगलादेशी नागरिकको फोटो टाँसेर वैदेशिक रोजगारीमा पठाउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार बिहान गोंगबु, सामाखुसी र आसपासका एरियामा रहेका होटल तथा लजमा छापा मारेर उनीहरूलाई पक्राउ गरिएको हो ।
बंगलादेशी नागरिकलाई नेपाल ल्याएर नक्कली पासपोर्ट बनाई विदेश पठाउने गिरोह रहेको सूचना आएपछि प्रहरी वृत्त महाराजगन्जले बुधबार बिहान यी क्षेत्रहरूमा छापा मारेको थियो । बिहान एक बजेदेखि तीन बजेसम्म दर्जनभन्दा बढी होटल र गेस्टहाउसमा छापा मारेर उनीहरूलाई पक्राउ गरिएको वृत्तका डिएसपी दीपक थापाले जानकारी दिए ।
पक्राउ पर्नेमा गिरोहका प्रमुख बंगलादेशी नागरिक मुसरफ हुसेन, मुसरफ एक्स हुसेन र मोहम्मद सएफ उद्दिनलगायत रहेका छन् । प्रहरीका अनुसार, मोहम्मद सइफ उद्दिन ११ जनवरी २०१० मा र मुसरफ हुसेन २८ फेब्रुअरीमा नेपाल आएका हुन् । दुवैजना पर्यटक भिसामा एक महिनाका लागि नेपाल आएका थिए ।
तर, भिसाको अवधि सकिएपछि उनीहरू यहीँ लुकेर बसे । त्यस्तै गिरोहका मुख्य व्यक्ति मुसरफ एक्स हुसेन भने २२ मे -गत शुक्रबार) मात्रै काठमाडौं आएका हुन् । उनी पनि पर्यटक भिसामै नेपाल आएको प्रहरी स्रोतले बताएको छ । पक्राउ परेका नौ बंगलादेशी नागरिकमध्ये सातजनाको पासपोर्टसमेत फेला पर्न सकेको छैन ।