कठिन मौसममा नेपाली क्रिकेट सत्र


काठमाडौं, जेठको पारिलो घाम र अनुमान गर्न कठिन मौसममा नेपाली क्रिकेटको व्यस्त सत्र सुरु हुँदैछ, जहाँ तीन राष्ट्रिय प्रतियोगिता र भारतीय टोलीसँग अभ्यास खेलको एक मैत्रीपूर्ण शृङ्खला हुनेछन्।

वाइवाइ महिला राष्ट्रिय टवान्टी-२० क्रिकेट शनिबार सुरु हुनेछ। त्यसै दिनबाटै पेप्सी पुरुष राष्ट्रिय ट्वान्टी-२० प्रतियोगिता पनि सुरु हुनेछ। दुवै प्रतियोगिता जेठ २४ सम्म चल्नेछ। महिला त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ भने पुरुष पुल्चोक इन्जिनियरिङ क्याम्पसमा आयोजना हुनेछ।

महिलाको यो तेस्रो राष्ट्रिय प्रतियोगिता हो। २०६३ मा कीर्तिपुरको ल्याब स्कुलमा महिलाको पहिलो क्रिकेट प्रतियोगिता भएको थियो, जसलाई प्रदर्शनी मानियो। यद्यपि सोही प्रदर्शनी प्रतियोगिताबाट सन् २००७ मा मलेसियामा भएको एसिसी महिला क्रिकेटका लागि नेपालको पहिलो अन्तर्राष्ट्रिय महिला टोली छनोट गरिएको थियो।
त्यसपछि २०६४ मा भएको पहिलो महिला आधिकारिक राष्ट्रिय प्रतियोगिता त्रिवि मैदानमा भएको थियो। नेपालगन्ज (क्षेत्र नं.५) ले बैतडी (क्षेत्र नं.६) लाई फाइनलमा पराजित गर्दै पहिलो संस्करण विजेता बनेको थियो। २०६६ सालमा पाँचौं राष्ट्रिय खेलकुदमै मिसिएर आयोजना भएको महिला क्रिकेटको दोस्रो संस्करण बैतडीले विराटनगर (क्षेत्र नं.१) लाई पराजित गर्दै जित्यो।

यसअघिका दुई संस्करणजस्तै यस पटकको प्रतियोगिता पनि नेपाली टोलीको छनोटका रूपमा रहने नेपाल क्रिकेट संघ (क्यान) का सचिव एवम् प्रवक्ता तारकमणि दीक्षितले बताए। उनका अनुसार प्रतियोगिताका उत्कृष्ट खेलाडीले सिंगापुरमा सेप्टेम्बर ३० देखि अक्टोबर १० सम्म हुने एसिसी यु-१९ च्याम्पियनसिपमा तथा सिनियरले नोभेम्बरमा चीनको ग्वाङ्झाउमा हुने १६औं एसियाली खेलकुदका लागि नेपाली टोलीमा स्थान पाउने छन्।

एसिसी यु-१९ च्याम्पियनसिपमा नेपाल साबिक विजेता हो। २००८ मा थाइल्यान्डमा भएको प्रतियोगिता जित्दै नेपाली महिला टोलीले पहिलो अन्तर्राष्ट्रिय उपाधि उचालेको थियो। एसियाली खेलकुदमा क्रिकेट पहिलो पटक समावेश खेल हो। राष्ट्रिय खेलकुद परिषद्को प्राथमिकतामा पर्न नसकेपछि क्यानले आफ्नै खर्चमा महिला तथा पुरुष टोली एसियन खेलकुदमा पठाउन लागेको हो।

पुरुषतर्फ ट्वान्टी-२० को यो दोस्रो संस्करण हो। गत वर्ष सेतो कपडा र रातो बलमा खेलिएको पहिलो संस्करण काठमाडौं (क्षेत्र नं.३) ले भैरहवा (क्षेत्र नं.४) लाई पराजित गर्दै जितेको थियो। पुरुष र महिला ट्वान्टी-२० सकिएको भोलिपल्ट पुरुष सिनियरको एकदिवसीय राष्ट्रिय प्रतियोगिता हुनेछ। एसियाली खेलकुद र अगस्ट १४ देखि २१ सम्म इटालीमा हुने पेप्सी विश्व क्रिकेट लिग डिभिजन-४ अगाडि नेपाली खेलाडीले राष्ट्रिय प्रतियोगितामै आफूलाई अब्बल पार्ने प्रयास गर्नेछन्।

राष्ट्रिय प्रतियोगिताहरू सुरु हुनुअगाडि डिभिजन-४ का लागि झन्डै एक महिनाअगाडिदेखि तयारीमा रहेको नेपाली राष्ट्रिय टोलीले दिल्लीको मिलेनियम इन्टरनेसनल स्पोर्टस क्लबसँगको तीन खेलको मैत्रीपूर्ण शृङ्खला खेल्नेछ। ‘हामीले बुझेअनुसार दिल्ली टोली राम्रो छ, तर केही कमजोर देखिएमा हामी पहिलो खेलपछि नयाँ खेलाडीलाई मौका दिन पनि सक्छौं,’ प्रवक्ता दीक्षितले नागरिकसँग भने। शृङ्खला बिहीबार सुरु हुनेछ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.