काठमाडौँमा थ्रीडी अवतार


 

दीपेन्द्र लामा-
काठमाडौंमा हलिउडको फिल्म ‘अवतार’ दोस्रोपटक रिलिज भएको छ। तेस्रो आयाम थपेर आएकोले यसलाई दोहोर्‍याउन दर्शकहरू उत्साही बनेका हुन्। जीवनलाई लम्बाइ र चौडाइमात्र होइन गहिराइ वा उचाइमा पनि बुझ्न खोज्ने मान्छेको तिर्खालाई यसले उजागर गरेको छ।
फिल्ममा साउन्डको प्रवेशलाई पहिलो प्राविधिक क्रान्ति मानिन्छ भने दोस्रो क्रान्तिको रूपमा रंगीन फिल्मको सुरुवात भयो र अहिले थ्रीडीलाई तेस्रो क्रान्तिको संज्ञा दिन थालिएको छ। थ्रीडी फिल्मको इतिहास ५० वर्ष भन्दा पुरानो भए पनि जेम्स क्यामरनको ‘अवतार’ले थ्रीडीलाई पहिलोपटक क्रान्तिको रूपमा स्थापित गरिदिएको छ। फिल्मको थिम, कथा र यसैका लागि आविष्कार गरिएको छुट्टै क्यामेराको यो क्रान्तिमा अहम् भूमिका छ।
हलिउड फिल्मका हिरोहरू सधैं अमेरिकाको मिसनमा समर्पित देखिन्छन्। तर ‘अवतार’को हिरोले यो बिँडो थाम्दैन। प्यान्डोरा नामक सुन्दर नीलो चन्द्रमाको समाजमा बिलीन हुन उसले अमेरिका र सम्पूर्ण पृथ्वीलाई नै त्यागिदिन्छ।
‘अवतार’मा देखाइएको प्रकृतिलाई अझ सुन्दर, प्रेमलाई अझ रोमान्टिक, आदिवासी मुद्दालाई अझ संवेदनशील र युद्धलाई अझ भयंकर देखाउन थ्रीडी प्रविधिले मद्दत गरेको छ। समग्रमा ‘थ्रीडी अवतार’ एउटा भव्य मानवीय सिर्जना हो।
‘प्यान्डोरा’को सौन्दर्य र रोमाञ्च पृथ्वीमा किन छैन भन्ने सोचले ‘अवतार’का धेरै दर्शक चिन्तित बनेका समाचार प्रकाशित भए। आकासमा उदाउने ग्रहतारा, अनौठा जीवजन्तु, रहस्यमय वनस्पति र खनिजका आधारमा ‘प्यान्डोरा’ बढी सुन्दर लाग्न सक्छ। तैपनि पृथ्वीवासीले गर्व गर्नसक्ने कुनै कुरा त्यहाँ छैन भने त्यो हो, फिल्म। र, फिल्म विधालाई गर्वको विषय बन्नमा ‘थ्रीडी अवतार’ले पनि सघाउँछ।
जीवनलाई लम्बाइ र चौडाइमा हेर्दा अपूरो हुने भन्दै तेस्रो आयामको आन्दोलन पेन्टिङ र साहित्यमा चलिसकेको छ। बीसौ शताब्दीको पहिलो दशकमा चित्रकार पिकासो र जर्ज ब्राकले सुरु गरेको ‘क्युबिज्म’ले चित्रमा पनि गहिराइ वा उचाइको वहस चलायो। यो ‘क्युबिज्म’को प्रभाव नेपाली साहित्यमा समेत आइपुगेको छ। २०२० सालमा साहित्यकार इन्द्रबहादुर राई, ईश्वरवल्लभ र वैरागी काइँलाले सुरु गरेको आयामेली आन्दोलनको उद्देश्य लेखनमा तेस्रो आयामको खोजी गर्नु नै थियो।
फरकफरक निर्देशकले एउटै दृश्य फरकफरक शैलीमा खिच्नसक्छ। यही शैली फिल्मको भाषा हो। ‘टुडी’मै खिचे पनि फिल्मको भाषाले दर्शकको मनोविज्ञानमा तेस्रो आयामको प्रभाव सिर्जना गर्न सक्छ। सत्यजित रेको ‘पथेर पाञ्चाली’मा यसको प्रयोग भरमग्दुर छ।
‘अवतार’ले चाहिँ फिल्मको ‘हार्डवेयर’मा तेस्रो आयाम जडान गरिदिएको छ। यो प्रविधिले पनि जीवनलाई गहिराइमा बुझ्न खोज्ने दर्शकको मनोविज्ञानलाई थप परिपक्व बनाउँछ। थ्रीडी दृश्यमा दुई पात्र वा वस्तुबीचको दूरी छर्लङ्ग हुन्छ। यसले ‘कुन दूरीमा कस्तो संवेदना’ भन्ने जीवनोपयोगी दर्शन अझ सुक्ष्म रूपमा बुझ्न सहयोग पुग्छ।
मानिसको मृत्यु हुन्छ तर उसको कल्पना मर्दैन। दुई आयाममा अभ्यस्त हुँदा उसले तेस्रो आयामको कल्पना गर्‍यो। अब तेस्रो आयाममा आदत बसिसकेपछि उसले चौथो आयाम नखोज्ला भन्न सकिन्न। गणितशास्त्रमा चौथो आयामको प्रवेश भइसकेको छ।
‘अवतार’सम्म आइपुग्दा थ्रीडी प्रविधिले मारेको फड्कोलाई आँकलन गर्ने हो भने युरोपमा चलिरहेको फुटबल खेल चश्मा लगाएर हामीले काठमाडौंको रंगशालामा वरिपरि बसेर हुबहु तर ‘भर्च्युयली’ हेर्न मिल्ने दिन टाढा छैन। फिल्महल र टेलिभिजनमा फुटबल खेलको थ्रीडी प्रदर्शन सुरु भइसकेको छ। अहिले ‘अवतार’ चलिरहेको कुमारी हलमै आउँदो विश्वकप फुटबलको कुनै म्याच थ्रीडीमा हेर्न पाइने सम्भावना छ।

पृथ्वी आफै पनि चेप्टो छैन। त्यसैले जीवनलाई ‘चेप्टो’ होइन ‘गोलाइ’मा बुझ्न पनि ‘थ्रीडी अवतार’ हेरौं।

 

  थ्रीडी अवतार हेर्नेलाई १० टिप्स
१. सैनिकहरूको सभाको दृश्य आउँदा तपाईलाई आफू पनि पछिल्लो सिटमा बसेर सहभागी भइरहेको महसुस हुन्छ। त्यतिमात्र होइन सैनिकको टाउकोमा हातले प्याट्ट हानुँजस्तो लाग्छ। तर, त्यसो नगर्नुस्। अगाडि सिटमा बस्ने दर्शक तपाईमाथि झम्टिनसक्छ।
२. विमानबाट भुइँमा ग्यासको बट्टा (सेल) प्रहार हुँदा उछिट्टिएर आँखामा ठोक्किएला झैं हुन्छ। त्यतिबेला शरीर नै हल्लिने गरी नझस्किनुस्। हातको कफी घोप्टिएर तपाईको कपडा बिग्रिनसक्छ।
३. बेलाबेला फिल्मको पात्र फ्रेमको एउटा कुनाबाट अर्को कुनातिर ओहोरदोहोर गर्दा तपाईकै लहरमा बस्ने कुनै दर्शकले बाटो काटेको हो कि भन्ने भान हुन्छ। त्यतिबेला तपाईले घुँडा खुम्च्याउनु पर्दैन र ‘एक्सक्युज मी’को अपेक्षा पनि नगर्नुहोला।
४. हिरोको शरीरभरि झुम्मिने सेतो घाँसे फूल हावामा तैरिँदा तपाईको नाकमै बस्न आइपुग्छ कि भन्ने लाग्छ। त्यसलाई फुकेर धपाउने प्रयास नगर्नुस्। तपाईले चपाउँदै गरेको पपकर्नको फोहोरा फुट्नसक्छ।
५. विमानको ककपिट देखाउँदा आफू पनि विमानभित्र बसेर यात्रा गरिरहेको महसुस सबैलाई हुन्छ। ल्यान्डिङको दृश्य आउँदा सिट बेल्ट खोज्नतिर नलाग्नुस्। दायाँबायाँ बस्ने केटा वा केटीका हात समाइएला नि!
६. बन्दुकले निशाना दाग्दा त्यसको नालले तपाईको अनुहारमा घोच्ला जस्तो हुन्छ तर हलचल नगर्नुस्। बन्दुक बिस्तारै आफ्नो साबिक लक्ष्यतिर मोडिन्छ। बन्दुक बोक्ने पात्रले तपाईलाई देख्दैन। ’cause उसले तपाईलाई होइन तपाईले उसलाई हेरिरहेको हो, पैसा तिरेर।
७. विमानबाट सैन्य दलबल ओर्लिएर हलको एउटा कुनातिर आइरहेको र एकछिनमा फेरि अर्को कुनाबाट तिनै दलबल भित्र छिरिरहेको देखिनेछन्। आफ्नो खल्ती र झोला छामछुम नगर्नुस्। फिल्मको पात्रले छापा मार्दैन।
८. प्यान्डोराको जंगलमा भेटिने सबै जनावरका खुट्टा ६ वटा देखिन्छ। ‘टु-डी’मा हेर्दा याद गर्नुभएको थिएन भने, आफ्नो दृष्टिमाथि शंका नगर्नुस्। ती खुट्टा ६ वटै हुन्।
९. यसअघि कुनै पनि ‘थ्री-डी’ फिल्म नहेरेका र अंग्रेजी राम्रो नबु‰ने साथीसँग नजानुस्। सोधीसोधी र बेलाबेला अस्वाभाविक प्रतिक्रिया व्यक्त गरी तपाईको ‘थ्री-डी मज्जा’लाई खल्लो बनाइदिनसक्छ। र, टिकटमा लेखिएको ‘ह्याभ फन’ निरर्थक साबित हुनसक्छ।
१०. घर फर्किने बेला चश्मा फिर्ता दिनुपर्छ। टुटफुट भएमा वा हराएमा दुई सय रूपैयाँ तिर्नुपर्ने टिकटमै उल्लेख गरिएको छ। त्यसैले चश्मालाई जतनसाथ प्रयोग गर्नुस् र फिर्ता दिँदा पनि होश पुर्‍याउनुस्। झुक्किएर आफ्नो महँगो ब्रान्डेड चश्मा चाहिँ दिनुहोला नि!

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.