गायकहरूको चेपुवामा नायक


चैत्र ३ – आइतबार दिनभर घरमै फुर्सद बिताइरहेका उनको मोबाइल त्यति बेला स्विच अन भयो, जतिबेला दरबारमार्गमा गाडीको चाप बढदै थियो । डिस्को र पबहरू झिलिमिली हुन थाल्दै गर्दा फरकखाले जमघटका लागि गरिएको आग्रहपछि उनले ठूलो स्वरमा भने, ‘ओके राजा, म सिनामंगलबाट हिँडिहालें ।’ मालिंगो रेस्टुरेन्टको गजल बारमा निम्त्याइएका तीन ‘सेलिबि्रटी’ मध्ये नायक भुवन केसी आफैं गाडी हाँकेर आउँदै थिए । भुवनको स्वागतमा चाहिँ नवीन के भट्टराई हाजिर थिए । ‘अरे नवीन, तिमी अघि नै ?’ नायकले आफ्नै स्टाइलमा हात मिलाउँदै पप गायकलाई भने, ‘आज थुप्रैपछि भेट भो ।’ डिल्लीबजारस्थित घरबाट निस्केपछि एक जना लेडिज फ्यानलाई भेटेर रातो गुलाबसहितको उपहार बोकेर आएका नवीन भुवनको स्वागतमा मुस्कुराउँदै थिए, ‘आँच दाइ, झन्झन् पो कलिलो देखिन थाल्नुभो नि ।’

‘आर्टिस्ट भएपछि सधैं योङ र स्मार्ट हुनैपर्‍यो नि,’ खैरो ज्याकेट मिलाउँदै भुवनले भने, ‘फ्यानहरूको मन बुझाउन पनि आफूलाई मेन्टेन गर्नै पर्‍यो ।’ वर्षौंअघि आफ्ना बुवासँग ‘कुसुमे रुमाल’ फिल्म हेरेको स्मरण गर्दै नवीनले ‘सधैं उस्तै देखिने राज के हो’ भन्दा भुवनले फ्याट्ट उत्तर दिन चाहेनन् । चुरोट सल्काए । सबैतिर एकसरो नजर लगाए । अनि चुरोटलाई घरीघरी एस्ट्रेमा ठवाकठवाक पार्दै उनी नवीनतिर सोझिए ।

‘खानपिन र उठबसमा ध्यान दिएकैले फ्रेस देखिएको हुँ,’ उनले दाबीको भाकामा भने, ‘एस्प्रो र सिटामोलबाहेक कुनै औषधि मुखमा पसेको छैन ।’ शरीरलाई टन्नै आराम दिनसके स्मार्टपन सधैं उस्तै रहने अनुभव सुनेपछि नवीनले भुवनको ज्यानमा आँखा डुलाए । विवाह गर्न ढिलो भइसकेका नवीन दुई बिहे गरेका भुवनसँग फिल्म, संगीत र परिवार’bout गफिने इच्छा देखाउँदै कुम जोडेर बस्नतिर लागे ।

‘भाइ त विदेशकै कन्सर्टमा व्यस्त हौला ?’ फ्यानबीच भुवन नवीनप्रति जिज्ञासु बने ।’नेपालमा र बाहिर उस्तैउस्तै गरिरा’छु,’ नवीनले फर्काए, ‘अब अस्ट्रेलिया जाँदै छु ।’ गाउन थालेको दुई दशकमा दसौं एल्बम ‘नक्षत्र’ निकालेका गायकले अस्ट्रेलियामा सात स्टेज प्रोगाम गर्ने सुनाए ।

कालो बुट्टे रुमाल टाउकोमा बाँधेर अर्का गायक शिव परियार जमघटमा आइपुग्दा मालिंगोको गजल बार सांगीतिक माहौलमा प्रवेश गर्न लाग्दै थियो । ‘दाजुहरू नमस्ते नमस्ते’ भन्दै सोफामा बस्न पुगेका शिवलाई भुवन र नवीनले हात मिलाएर स्वागत गरे । ‘बडो राम्रो गाउँछौ है तिमी,’ नवीनले शिवको प्रशंसा गरे । आफ्नो नयाँ फिल्म ‘साथी म तिम्रो’ मा गाउने मौका दिएका भुवनले पनि शिवको तारिफ गरे । स्टेजमा त्यतिबेला अरू दिनजस्तै संगीतकर्मीहरू उक्लिइसकेका थिए ।

‘आजको साँझ अरू दिनभन्दा विशेष हुनेछ,’ गजलबारमा गाउँदै आएका सञ्जय सुब्बा ‘सेलिबि्रटी’ बसेको सोफातर्फ हेर्दै बोल्न थाले । दमकबाट र्फकने क्रममा एयरपोर्टबाट सोझै जमघटमा आइपुगेका शिव भोकाएका रहेछन्, मःमः लिन थाले । लजालु स्वभावका नवीन अरू दिनजस्तो गाउने मुडमा थिएनन् । सुत्नलाई छिट्टै घर जान हतारिँदै थिए । तर गजल बारबाट सबैलाई गाउनैपर्ने प्रस्ताव आउने निश्चित थियो ।

‘कहाँ थियौ तिमी…’ शिवले यो गीतबाट गायन थाल्दा मालिंगोमा तालीको वर्षा भयो । ठूलो स्वरमा खुलेका शिवलाई भुवन र नवीनले बुढीऔंला उचालेर हौस्याउँदै थिए । शिव पनि मुडमा आएछन् । ‘साथी म तिम्रो’ फिल्मलाई आफ्नै स्वरमा भरखरै रेकर्ड गरेको ‘के रह्यो र जिन्दगीमा…’ गाउन थाले । आफ्नो फिल्मको गीत घन्किएपछि भुवन जुरुक्कै उठेर स्टेजमा गइहाले । एउटै माइक्रोफोनबाट भुवन र शिवले गाइरहँदा संगीतमा मन्त्रमुग्ध दर्जनौंका हात ताली बजाउन केन्दि्रत थिए ।

गाउने पालो आयो नवीनको । सबैको फमाइसमा ‘आँखामा तिमीलाई…’ थर्किंदा भुवन र शिव नाचुँला झैं गर्दै थिए । त्यत्तिकैमा भुवनका सामु दुई जना लेडिज फ्यान आइसकेका थिए । उनीहरूसँग भुवनको पुरानै नाता थियो क्यारे । आँखाहरू घरिघरि जुधिरहेका हुन्थे । ‘अब साँझपख एकान्तमा…,’ भुवनले स्टेजमै पुगेर गरेको फर्माइसलाई नवीनले नाइँ भन्न सकेनन् । क्याप माथितिर सार्दै दोस्रो गीत गाएका नवीनलाई सबैले साथ दिए । भुवन भेट्न आएका फ्यान वाइनमा व्यस्त हुँदै थिए ।

रात छिप्पिँदै गर्दा भुवनले समेत गाउनुपर्ने स्थिति आइदियो । ‘कुसुमे रुमाल’ को ‘मायाको बारीमा प्रीतिको फूल…’ गाउन स्टेजमा बोलाइएका भुवनलाई रूपाले साथ दिइन् । ‘वाह, गाउन पनि उत्तिकै खप्पिस,’ नवीन र शिव जुँगे हिरोको प्रशंसा गर्दै थिए । झन्डै दुई घन्टाको जमघटमा अमेरिका बस्ने छोराछोरीदेखि नेपालमा बस्ने कान्छी श्रीमती सुस्मिता, यौनका सन्दर्भमा बेलाबेला लाग्ने आरोपदेखि सांगीतिक रुचिसम्मका विषयमा भुवन, नवीन र शिवबीच भलाकुसारी भए । सबैलाई बाइ गरेर बाहिरिँदा ती दुई लेडिज फ्यान पनि भुवनकै पछिपछि थिए ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.