मलेसियाको बहुराष्ट्रिय कम्पनी सोनी इलेक्ट्रोनिक्सले नेपालबाट एक सय महिला कामदार लिने भएको छ । फ्युजन इन्टरनेसनल र एसिएल म्यानपावरले यो माग ल्याएको हो ।
विश्व आर्थिक मन्दीमा सुधार आएपछि मलेसियाको सोनीले दुई हजार महिला कामदार माग गरेको थियो । त्यसैमध्ये एक सय नेपालबाट लग्न खोजेको फ्युजनका प्रबन्ध निर्देशक कुमुद खनालले जानका दिए । कम्पनीमा भियतनामी र इन्डोनेसियाली महिलाले काम गरिरहेका छन् । ‘यसअन्तर्गत जाँदा कुनै शुल्क तिनुपर्दैन, पछि तलबमा कटाउन मिल्ने सुविधा छ,’ उनले भने, ‘वैदेशिक रोजगार विभागले यो माग स्वीकृत गरिसकेको छ ।’
कम्पनीले यसअघि पनि सोनीमा महिला कामदार पठाएको थियो। मन्दीपछि माग आएको भने पहिलोपटक हो । मलेसियाको संस्थागत क्षेत्रमा पाँच हजार नेपाली महिला कार्यरत छन्। खनालका अनुसार महिला कामदारले मासिक ९ सय ४८ गिंट (२० हजार रुपैयाँ) तलब पाउँछन् ।
आर्थिक सुधारतर्फ अघि बढिरहेको मलेसियामा पछिल्लो समय कामदारको माग बढिरहेको छ । मलेसियाले यही अप्रिल अन्तिम सातासम्म विभिन्न क्षेत्रमा एक लाख कामदार माग गरेको छ । यसमध्ये २० हजार गइसकेका छन् । अप्रिल अन्तिम साताभित्र ८० हजार कामदार पठाउन नसके कोटा सकिने खनालले बताए। यसअन्तर्गत औद्योगिक क्षेत्रमा बढी माग आएको छ। त्यसमध्ये इलेक्ट्रोनिक्स कम्पनी प्रमुख हुन् । पढ्नेक्रम जारी राख्नुहोस्