हात-खुट्टा बाँधेर छोरी फिर्ता


जात नमिल्नेसँग विवाह गरेको भन्दै कञ्चनपुरकी एक निर्दयी आमाले हात-खुट्टा बाँधेर छोरी फिर्ता लगेकी छिन् । भीमदत्त नगरपालिका- ६ ऐठपुरका प्रकाश चौधरीसँग प्रेम-विवाह गरेर गएकी झलारी- ९ की दीक्षा भण्डारीलाई विवाह भएको तेस्रो दिन माइतीले जबर्जस्ती बाँधेर फिर्ता लगेका हुन् । १७ वषीया दीक्षा र १७ वर्षकै प्रकाशबीच गत शुक्रबार प्रेम-विवाह भएको थियो । प्रकाशको परिवारले त थारू परम्पराअनुसार बुहारीलाई घर भित्र्यायो । तर, उनको माइतीले भने स्वीकार गर्न सकेन । जात नमिल्नेसँग विवाह गरेको भन्दै आमा कौसिल्या, दाइ सानु भण्डारी, भुवन भण्डारी, भीम भट्टलगायत १३/१४ जनाको समूह आएर दीक्षालाई आइतबार जबर्जस्ती मोटरसाइकलमा हालेर लिएर गयो ।
‘जात नमिलेको भन्दै बुहारी फिर्ता लगे,’ प्रकाशका बुबा बलरामले भने । दीक्षाकी आमा कौसिल्यासहित तीन/चारजना उनका माइती शनिबार पनि प्रकाशको घरमा आएका थिए । उनीहरूले प्रकाशलाई छाड्न छोरी दीक्षालाई अनुरोध गरेका थिए । तर, नमानेपछि कौसिल्यासहित माइती घर फर्केका थिए । ‘शनिबार पनि आएका थिए, दीक्षाले नमानेपछि फर्केर गएका थिए,’ प्रकाशले भने ।
आइतबार बिहान पनि दीक्षाकी आमा, दाइ र परिवारजन प्रकाशको घरमा आए । उनले नमानेपछि ‘ल त, मान्दिनस् भने बस् । हामीबाट मरिस् भन्दै गएका थिए,’ प्रकाशका बुबा बलरामले भने, ‘ढुक्क भएर बसेका थियौँ, तर दिउँसो अचानक १३/१४ जनाको समूह घरभित्र छिर्‍यो ।’
उनीहरूले प्रकाशको घरबाट लछारपछार गर्दै दीक्षालाई सडकमा पुर्‍याएका थिए । त्यसपछि दीक्षाकै दुपट्टाले उनका हातखुट्टा बाँधेर लगेको बलरामले बताए । ‘ऊ छटपटाउन थालेपछि हातखुट्टा बाँधे,’ उनले भने, ‘रुँदै, कराउँदै थिई, मोटरसाइकलको बीचमा राखेर लगे ।’ उनकी छोरी भएकाले आफूले केही नबोलेको बलरामको भनाइ छ । दीक्षाको माइती पक्षले भने छोरीको बिहे गर्ने उमेर नभएकाले फिर्ता लगेको बताएका छन् ।
महेन्द्रनगरको बैजनाथ इन्जिनियरिङ कलेजमा सिभिल इन्जिनियरिङका विद्यार्थी प्रकाश र कृष्ण उमाविमा १२ कक्षामा अध्ययनरत दीक्षाको एक वर्षदेखि प्रेम-सम्बन्ध थियो ।

‘जात नमिल्ने भन्दै फिर्ता लगे’

मेरो नाम प्रकाश चौधरी हो । हामी महेन्द्रनगरमा बस्दै आएका छाँै भने ठूलोबाको परिवार झलारीमा बस्छ । म ठूलोबाको घरमा सधै गइराख्थे । त्यहीवेला गत वर्षको यही महिना हो, दीक्षासँग भेट भयो ।

साथीहरूसँगै ऊसँग सामान्य कुराकानी गरेको थिएँ । कुन्नि के भएछ, ऊसँग कुराकानी बढ्दै गयो । एक महिनाजति सामान्य कुराकानी भयो । दोस्रो महिना उसले त्यस्तै संकेत गरी अनि मैले ‘पर्पोज’ गरे । उसले आँखा नझिम्क्याई स्वीकार गरी । त्यसपछि हाम्रो सम्बन्ध झन् गाढा भयो । दिनदिनै भेटघाट, घुमफिर गर्न थाल्यौँ । झलारी महेन्द्रनगरबाट ३० किलोमिटर टाढा छ, तर उसले फोन गर्दा म उही पुग्थे । राति १० बजे समेत म उसलाई भेट्न झलारी पुग्थे । दिनमा तीन घन्टासम्म फोनमा ऊसँग कुरा गरेको छु । जतिवेला उसले बोलायो त्यतिवेला म बाइक कुदाइहाल्थे । दीक्षाका आमा, दिदी सबैलाई थाहा थियो । तीन महिनादेखि त उनीहरू पनि कुरा गर्न थालेका थिए । दीक्षालाई थारूसँग जाने भन्दै जिस्क्याउँथे । आमाले समेत जिस्क्याउने गरेको ऊ मलाई भन्थी । सबैले जिस्क्याउन थालेपछि उसले बिहे गरौँ भनी । मैले सम्झाएँ । म पनि पढ्दै छु, तिमी पनि पढ । अहिले नगरौँ, पढाइ सकेपछि गरौँला भनेँ । जति सम्झाउँदा पनि उसले मानिन । घरमा बस्न गाह्रो भयो भन्न थाली
या त मन परेन भन, या बिहे गर । म बस्न सक्दिनँ, सबै गिज्याउँछन् भन्न थाली । त्यति भन्दा पनि मैले सम्झाउँदै टार्दै आएको थिएँ । एक महिनाअघि पनि उसले घरमा बोलाई । बिहे गराै, आजै जाऔँ भन्न थाली । सम्झाएर घर फकेरं ।

शुक्रबार राति आठ बजे फोन गरी । म त घरबाट निस्के । रोडमा आइराख भनी । सम्झाएँ, मानिन । म पनि सडकमा गएँ, ४५ मिनेटजति पर्खेर बसिराखँ । ऊ आई । अझै सम्झाएँ, मानिन । मलाई घरमा लग्छौ भने ठीकै छ, नत्र म घरबाट आइहालेँ मर्छु भन्न थाली अनि मैले पनि घरमा लगेँ । हाम्रो संस्कारअनुसार सबै काम भए । घरमा खुसियाली पनि मनाए ।

शनिबार बिहान दीक्षाका आमा र भाइ आए । ऊसँग कुरा गरे । तर, मानिन, फर्केर गए । फेरि आइतबार बिहान पनि आए । आमा र दाइ आए, सम्झाउँदै थिए । उसले नमानेपछि तँ हामीबाट मरिस्, जे गर्छेस् गर् भन्दै फर्केर गए । त्यसपछि ढुक्क भएर बसेका थियौँ । दिउँसो फेरि १३/१४ जना आए । सरासर घरभित्र पसे । उसलाई लछारपछार गरेर लैजान थाले । आमाले रोक्न खोज्दा आमालाई पनि कुटपिट गरे । ६/७ जना महिला र अरू पुरुष थिए । ऊ रुँदै थिई, जान्न भन्दै थिई । जोड गरेपछि उसैको दोपट्टाले हातखुट्टा बाँधे । म हेरिरहँे । ऊ रोएको देखेर म पनि रोएँ । मोटरसाइकलको बीचमा राखेर रुवाउँदै लगे । फिल्ममा देखेजस्तै भयो । केही गर्न सकिनँ । ऊ मविना बाँच्नै सक्दिन, मर्ने पो हो कि भन्ने डर लागिरहेको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.