प्रेम दिवसको धेरै धेरै शुभकामना…


मनोज काफ्ले  ‘मनसुन’/कुवैत

नवदुलहीको सिउँदोझैं सूर्योदयको कलिलो सिन्दूरे किरणले पूर्वी क्षितिज रङ्गिएको थियो बसन्त ऋतुको नवागमनलाई नयाँ पालुवा, शीतल सर्सराहट र चराहरुको चिर्विराइले भव्य स्वागत गरिरहेका थिए । त्यो नयाँ विहानी नयाँ उमङ्ग बोकेर आएको थियो, साँच्ची प्रेममय थियो त्यो दिन । मन देउरालीको फलैंचामा बसेर उही सिन्दूरे क्षितिजतिर एकोहोरो टोलाइरहेको थियो, मानौं ऊ कसैको आगमनको प्रतिक्षामा एकाविहानैदेखि चौतारोमा कुरिरहेको छ । ऊ अतीतको महासागरभित्र पौडन थाल्छ, जहाँ उसको जीवनका केही क्षणहरु अविस्मरणीय भएर गुज्रेका थिए । त्यो एकान्त, त्यो मनोरम प्राकृतिक बागमा ऊ घरिघरी गुन्गुनाउछ अन्तरह्दयको गीत, यसरी—

यस्तो पनि हुँदोरै’छ जिन्दगीमा कहिले कहिले, कसैलाई माया गर्नु एउटा भूल गरें मैंले…….

दिन उही हो, स्थान उही हो, आजभन्दा एक बर्षअघि, प्रेम दिवसको दिन सानीसँग घण्टौं अङ्गालोमा बाधिएर जीवन र जगतलाई भूलेको क्षण अनि जिन्दगीमा कहिल्यै नछुटिने कसम खाएको क्षण अहिलेझैं लाग्छ उसलाई। उफ्…! कति पीरो अतीत अनि पीरो हुँदा–हुँदै पनि कति मीठो सम्झना! यो दुखाइ जीवनभर कहिल्यै गुमाउन चाहँदैन ऊ, दुखिरहनुपर्छ मुटुभित्र यो मीठो दुखाइ, पोलिरहनुपर्छ सम्झनाले त्यो कोमल मुटु उसको छातीभित्र। सम्झँदा मात्रै पनि रश्मीको यादले नयनपलक भिजेर आउँछन्, हल्का पवनको सर्सराहटले उनको लामो कपाल उसको गालाभरि सर्सराएको यादले अनायासै ऊ रित्तो गालामा हात पुर्‍याउँछ। समयले आज उसलाई एक्लो बनाएको छ रश्मीको अनुपस्थितिमा। पोहोर साल प्रेम दिवसको दिन उनले उपहारस्वरुप दिएको एउटा डायरी, त्यसमा टाँसिएको उनको हँसिलो प्रतिविम्ब अनि रातो गुलाफ, त्योभन्दा बढी मुटुभरि यादैयाद मात्र उसको साथमा छाडिदिएको छ समयले, तर खै सानी? सानीलाई समयले कहाँ पुर्‍यायो कहाँ! हत्केलाले भिजेका परेलीहरु पुछेर ऊ लेख्न थाल्छ त्यही डायरीका पानामा—

ह्दयकेन्द्रकी ‘सानी’

असीम–असीम सम्झना अनि ह्दयभरिको माया स्वीकार है जहाँ भए पनि, यो अभागीको सानी,

मन र सानी लाई संसारको कुनै पनि शक्तिले अलग गर्न सक्दैन’ भन्थ्यौ हैन तिमी? तर गुलाफझैं कोमल ह्दय कसरी पत्थरझैं कठोर भयो तिम्रो? हँ कसरी? हुन त मभन्दा सुन्दर, धनी अनि धरै माया गर्ने मान्छे पायौ होला सायद, त्यसैले त मलाई अनि ती निर्दोष अतितका पलहरुलाई चटक्क भूल्न सक्यौ। तर याद राख सानी मैंलेजति माया गर्ने र गरिरहने मान्छे विश्वमा तिमीले कहिं पाउन सक्दिनौ। हो, सम्पति पायौ होला, चिप्ले कारको सफर पायौ होला तर रश्मी, सम्पति त केवल यो झूठो संसारको भ्रम हो। तिम्रो जस्तो निर्दयी मुटुले यस्तो कुरा कसरी पो बु¤न सकोस् र! जे होस्, तिमी जहाँसुकै रहे पनि खुशी रहू म त यही चाहन्छु। सानी आज मलाई उही पुरानो दिनले चिमोटेको छ नमीठो गरी। आज ‘प्रेम दिवस’, यतिबेला तिमी कसैको अङ्गालोभित्र हराइरहेकी हौली, म रोइरहेको छु यहाँ एक्लै। झिनो आशा मिलनको बोकी यो देउराली कुर्न छाडेकै छैन मैले, मबाट भर्नुपर्ने तिम्रो स्वार्थको भाँडो भरिइसक्यो होला त्यसैले त मलाई सम्झने कोशिश गरिनौ। देउराली यही हो, जहाँ तिमीले मेरो छातीमा खाली सिउँदोसहितको टाउको अड्याएर धेरैबेर रोएको, युगौं नभूल्ने बाचा गरेको, खै सानु, किन यति चाँडै भूल्यौ ती दिनहरु! पोहोर साल यसै दिन हामी यही एकान्तमा घण्टौं अङ्गालोमा बाँधिएर चीरकालीन मिलनका कुराहरु गरेथ्यौं, तिमी मदेखि र म तिमीदेखि टाढा हुनुपर्‍यो भने कसरी सहने त्यो क्षण भन्ने कुराले नमीठो गरी पिरोल्थ्यो। तिमी रुन थाल्थ्यौ, म पनि कहाँ आँशु थाम्न सक्थें र! तिम्रो स्पर्श यो कपालभरि अझै अनुभव भइरहेछ। तिम्रा नौनीझैं नरम अधरहरु यी अभागी ओठहरुले खै कसरी भूल्न सक्लान् र! सानी मलाई त मीठो लागेको थियो तिम्रो आगमन मेरो जीवनमा। तर…., तर तिमी त मायाको बगैंचामा फुलेका फूलहरुभित्र टम्म भरिएको गुलियो रस चाख्दै उड्ने भमरा रहिछौ। मभित्र रहेको मायाको घडा चूसेर तिमी खै कता गयौ कता, म यहाँ भ्रमरचुम्बनविहीन फूल बनी भमरा तिमीलाई अझै पर्खिरहेको छु मीठो चुम्बनको आशामा प्यासी अधर बोकेर। मलाई त सधैं ढकमक्क फुलिरहन मन लाग्छ। तर तिमी…, तिमी त फक्रिएको फूल विस्वासघातको रापले ओइलाएको अनि सुकेर खङ्ग्रङ्ग भएको हेर्न चाहँदिरहिछौ। आखिर के पायौ? हँ के? त्यही क्षणिक मोह? गुलियो रस चुसुञ्जेल चुम्यौ सुकोमल फूल अनि अघाएपछि चटक्कै विर्सेर गयौ, तिमी अघाएर गयौ, तर यो नसोच्नू कहिल्यै तिमीले मलाई नै रित्याएर गयौ। मसँग तिमीले अहिले पाएको जस्तो हबेली र चिप्ले कार त छैनन्, जुन रित्तिन कतिबेर छैन, तर मसँग कहिल्यै नरित्तिने मायाको महासागर छ। त्यसैले त मुटुमा विस्वासघातको भाला रोपी जाने तिमीलाई अझै पनि माया गरिरहेको छु अनि गरी नै रहनेछु मृत्युपर्यन्तसम्म पनि।

हरेक पूर्णिमा शीतल जून लिएर आउँथ्यो, हरेक विहानी मीठो धून लिएर आउँथ्यो तर आजभोलि पूर्णिमा रापिलो ताप लिएर आउँछ, विहानी विरह र आन्तरिक चित्कार लिएर आउँछ। खै सानी कल्पना नै गर्न सक्तिन म समय यति निष्ठूरी हुन्छ भनेर, अँहँ सोच्नै सक्तिन म समयको धूलोले मप्रतिको तिम्रो मीठो मायालाई यति चाँडै छोपिदिन्छ भनेर। बरु ज्यान मार्ने सुनामी सहन्थें, तर आत्मा मार्ने यो पीरो वियोग सहन सक्तिन, भन सानु, अब के गरुँ म? हो, रुढिबादी समाजले टुसाउँदै गरेको मायाको कलिलो विरुवा निमिट्यान्न पार्न खोजेको पनि हुनसक्छ। तर फुच्चु, ‘संसार बदल्न पहिले आफैं बदलिनु पर्छ’ भन्ने महान् वाणी उत्कर्ष गर्ने तिम्रो विद्रोही मन किन उही कुण्ठित समाजको बन्धनभित्र जकडिन रमायो? आखिर किन? स्वीकार छ मलाई पनि तिम्रो स्वीकारोक्ति। तर सानी, विन्ति छ, मलाई जस्तै उसलाई पनि मूल्यहीन खोस्टा बनाएर रछ्यानमा नफाल्नू ल, तिमी त आस्तिक मान्छे, ठूलो पाप लाग्नेछ त्यसो गर्‍यौ भने फेरि। अरु त के भनूँ, उसले तिमीलाई चाहेजति माया दिन सकेन भने म त हरहमेशा सबैभन्दा बढी माया दिन्छु तिमीलाई। चाहन्छ्यौ भने जुनीभरिलाई स्वागत छ मेरो जीवनमा । अन्त्यमा, प्रेम दिवसको धेरै धेरै शुभकामना…

प्रेम दिवसको धेरै धेरै शुभकामना…

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.