राष्ट्रपति डाक्टर रामवरण यादवले सबै समस्याको समाधान संविधानबाट खोज्न राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो “सर्वोपरी संस्था संविधानसभा हो, त्यसैले सबै समस्याको समाधान त्यहाँबाटै खोजिनुपर्छ ।” नयाँ बन्ने संविधानले सम्पूर्ण जनतालाई सार्वभौम बनाउने भन्दै समृद्ध नयाँ नेपाल निर्माणका लागि सबैले राष्ट्रिय सहमतिको बाटोमा हिड्नुपर्नेमा जोड दिनुभयो । अहिले उठेका सबै समस्याको समाधान नयाँ संविधानले निक्र्यौल लगाउने भन्दै राष्ट्रपति यादवले मुलुकमा भएको परिवर्तनलाई आत्मसात गर्दै त्यसलाई संस्थागत गर्नेतर्फ अग्रसर हुन आग्रह गर्नुभयो ।
वैज्ञानिक ढङ्गले राज्यको पुनःसंरचना गर्दै समावेशी एवम् समानुपातिक प्रतिनिधित्व गराई राष्ट्रिय एकता कायम गर्नु सबैको दायित्व भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो ‘एउटा स्वतन्त्र देश भई दक्षिण एसियमा रहेको नेपाललाई कसरी बचाइराख्ने भन्नेतर्फ सबैको ध्यान जान जरूरी छ ।’ नेपाली जनताले मुलुकमा हत्याहिंसाको अन्त्य भई शान्ति स्थापना होस् भन्ने चाहेको बताउँदै उहाँले राष्ट्र र समाजप्रति समर्पित भई संयमका साथ सबैले आ-आˆनो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकता, जातीय एवम् समुदायबीचको एकता कायम गर्ने क्रममा सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्नुपर्नेमा जोड दिनुभयो । संक्रमणकालीन अवस्थामा पत्रकारहरूले राष्ट्रबाट के पाँए भन्ने छोडेर राष्ट्रलाई आफूले के दिँए भन्ने कुरा सोच्नुपर्ने उहाँको भनाई छ । राष्ट्रपति यादवले सङ्कटको बेला पत्रकारहरूले राष्ट्रिय अखण्डता, राष्ट्रिय स्वाभिमान र जातीय एकताको पक्षमा कलम चलाउनुपर्ने धारणा राख्नुभयो ।
नेपाल टेलिभिजनको रजत महोत्सव समारोहलाई राजधानीमा सम्बोधन गर्दै राष्ट्रपति यादवले नेपालको परिवर्तनमा सरकारी तथा निजि सञ्चार माध्यमहरूले ठूलो भूमिका खेलेको स्मरण गर्नुभयो । उहाँले १२ बुँदे सहमतिदेखि अहिलेसम्मका विभिन्न सहमति र सम्झौताहरुको पालना गराउन पत्रकारहरूले दबाब सृजना गर्नुपर्नेमा जोड दिनुभयो । सूचना तथा सञ्चारमन्त्री शङ्कर पोखरेलले नेपाल सरकारको संरक्षण प्राप्त नेपाल टेलिभिजनलाई स्वायत्त संस्थाका रूपमा अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले मुलुकको पहिलो टेलिभिजन नेपाल टेलिभिजनले सबैका निम्ति भरपर्दो सूचना तथा ज्ञानबर्द्धक सामग्रीसहित मनोरञ्जनान्त्मक कार्यक्रम प्रसारण गर्न सफल भएको बताउनुभयो ।