सिताराम बराल (काठमाण्डौ)
माओवावादीको सशस्त्र राजनीतिको विरोध गर्दै आएको सत्तारुढ नेकपा (एमाले) का एक केन्द्रीय नेतालाई एकिकृत नेकपा माओवादी कार्यकर्ताहरुले पिस्तोल सहित समातेका छन् । एमालेका केन्द्रीय सदस्य केशव देवकोटा सिन्धुलीमा पिस्तोलसहित माओवादीको पन्जामा परेका हुन् । पिस्तोल सहित पक्राउ परेका उनीसहित ५ जनालाई माओवादीले ३ घण्टा नियन्त्रणमा लिइ मुक्त गरेका थिए । नेकपा एमाले सिन्धुली क्षेत्र नं.३ को क्षेत्रीय अधिवेशन उद्घाटन कार्यक्रममा सहभागी हुन काठमाण्डौबाट सिन्धुलीको झाँगाझोली रातमाटा तर्फ जाँदै गर्दा माओवादी कार्यकर्ताहले झाँगाझोली गाविसको वार्ड नं. ३ गुठवजार नजिकैबाट नियन्त्रणा लिएका थिए ।
यस बिषयले राजधानीमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमापनि चर्चा पाएपछि केन्द्रको निर्देशनमा माओवादी कार्यकर्ताहरुले उनलाई नियन्त्रण मुक्त गरिदिएका थिए ।जानकारी अनुसार, अपहरणमा परेका केन्द्रीय सदस्य देवकोटासहित अन्य ४ जनालाई माओवादीहरुले माओवादीले सन्चारकर्मीहरुको रोहवरमा स्थानीय गुठवजार प्राथमिक विद्यालयबाट ३ घण्टा पछि मुक्त गरेका थिए । देवकोटा चढेको गाडीमा पेस्तोल तरवार र रडहरु भेटिएको माओवादीले बताएको छ । एमालेले आफूहरुसँग कुनै हतियार नभएको दावी गरेको छ । एमाले पक्षले माओवादीले आफ्नो हतियारलाई एमालेले बोकेको भनी प्रचार गरेको आरोप लगाएको छ ।
सो घटनाका कारण त्यो क्षेत्रमा तनाव उत्पन्न भएपछि स्थितिलाई नियन्त्रणमा लिन अहिले घटनास्थलमा सिन्धुली काभ्रे र रामेछापका सुरक्षा प्रमुखहरु घटनास्थल तर्फ गएको प्रहरीले बताएको छ । क्षेत्रीय अधिवेशन उदघाटन गर्न गएका देबकोटा माओावदी नियन्त्रणमा परेपछि अधिवेशन ५ बजेबाट सुरु भएको थियो ।