बुधबार बसेको मन्त्रिपरिषदको बैठकले नेपाली सेनाका सहायकरथी नरबहादुर कडेँल र नरेन्द्रबहादुर रावललाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको छ। जंगीअड्डाले दुई महिनाअघि नै कडेललाई पश्चिम पृतना पोखरा र रावललाई पूर्वी पृतना इटहरीमा निमित्त प्रमुखको कार्यभार दिएर पठाएको थियो । बढुवासंगै दुवै पृतनापति भएका छन् । यसैगरी, मन्त्रिपरिषद्को बैठकले लुम्बिनी विकास कोषको सदस्यमा सभासदहरु बि्रजेसकुमार गुप्ता, महमद वकिल मुसलमान र डा.सशाङ्क कोइरालालाई सदस्यमा मनोनयन गर्ने निर्णय गरेको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो ।
बैठकले बिस्तृत शान्ति सम्झौता र अन्तरिक संविधानले व्यवस्था गरेको सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गरेको छ । बिद्येयकलाई मन्त्रिपरिषद्को सम्बन्धित विषयगत समितिमा पठाउने निर्णय गरेको हो । बिभिन्न माग राखेर आन्दोलनमा रहेका स्थानीय निकायका कर्मचारीसंग बार्ता गरी समस्याको समाधान गर्नका लागि सरकराले स्थानीय विकास राज्यमन्त्री गणेशबहादुर खड्कालाई जिम्मेवारी तोकिएको छ । स्वतह स्थायी गरिनु पर्ने लगायतका माग राखि कर्मचारी आन्दोलनमा उत्रिएपछि स्थानी,य निकायका काम काज ठप्प छन् । महानगरको फोहोरसमेत उठ्न सकेको छैन । मधेश आन्दोलनका क्रममा मारिएका व्यक्तिमध्ये २३ जनालाई पहिले नै सहिद घोषणा गरिएको र छुट भएकाको विवरण संकलन गरी सहिदको सम्मान दिने निर्णय पनि सरकारले गरेको छ ।
त्यसैगरी सामुहिक लगानी कोष विधेयक, २०६६ लाई सहमति प्रदान गरेको छभने नेपाल र टर्की बीचमा हवाइ सम्बन्ध कायम गर्ने अनुमति प्रदान गरेको छ । शान्ति सम्झौताअन्तर्गत राष्ट्रिय बारुदी सुरुङ प्राविधिक समितिको म्याद एक वर्षका लागि थप गर्ने निर्णय गरेको जानकारी दिँदै सरकारका प्रवक्तासमेत रहनु भएका मन्त्री पोखरेलले कैलालीका पत्रकार जगतप्रसाद जोशीको हत्याका सम्बन्धमा छानविन गर्न गठन भएको समितिले तयार गरेको प्रतिवेदनलाई कार्यान्वयन गर्ने र उहाँका परिवारलाई रु. १० लाख राहत दिने निर्णय गरेको बताउनुभयो ।