नेतालाई गाली गर्नुभन्दा पहिला


डा. डोलेश्वर भण्डारी

“जुन जोगी आए पनि कानै चिरेको”, “नेता जति सबै चोर छन्”, “नेता जति सबैलाई बोरामा हालेर खोलामा बगाउनु पर्छ अनि मात्र देशमा केही हुन्छ”, “भुँडी नभएका कोही छैनन्”, “गिरिजा नमरी यो देशमा केही हुँदैन”, “माकुनेले के देश चलाउनु”, “यो देशलाई एउटा जंगबहादुर चाहिया छ”, “पहिला राजाले मात्र चोर्थ्यो तर अहिले त एक से एक चोर भए”, “माओवादी सबै खाओवादी”, “ज्ञानेन्द्रले यी नेताहरुलाई ठीक नलगाई त्यसै छाडिदियो”, “नेता जति सबैलाई पटट भुट्नु पर्छ अनि ठीक हुन्छ”, “नेपालमा एउटा पनि राजनेता नभएर यस्तो भएको”, आदि-आदि।

यी भनाइहरु सुन्न टाढा जानु पर्दैन। साथीभाइहरु सँगका गफ, चिया पसल र चौतारामा चल्ने वार्तालाप यथेस्ट नै हुन्छन्। यता विदेशतिर पनि नेपाली नेपाली बीच हुने भेटघाट र कुराकानीमा व्यक्तिगत सञ्चो–सुबिस्ताको सोधखोजपछि बिस्तारै नेपालको अँध्यारो तस्बीर कोरल्ने काम भै हाल्छ र त्यो अँध्यारोका मुख्य दोषी पनि नेताहरु नै हुन्छन्। के साँच्चै नै हाम्रा नेताहरु खत्तमै छन् त? खत्तम छन् भने कसरी खत्तम भए त? नेता खत्तम हुनुमा हामी जनताको हात छ कि छैन?

हाम्रा नेताहरु आकाशबाट झरेका पनि होइनन्, अनि अर्को कुनै ग्रहबाट कसैले मनोनीत गरेर पठाएका पनि होइनन्। नत यी अर्को देशबाट इम्पोर्ट गरेर नै ल्याइएका हुन्। यिनीहरु हामी सँगसँगै घुर ताप्दै, गाउँबेसी उकालीओराली गर्दै, जाडो र गर्मी सहँदै, हाम्रै बीचबाट र हाम्रै मतबाट नेता भएका हुन् केही अपवादलाई छोडेर। राम्रै मनसायले देशको काँचुली फेर्नु पर्छ भनेर वर्षौँसम्म जेलनेल खाएर आफ्नो र आफ्नो परिवारको जीउधनको सुरक्षालाई समेत बाजी थापेर प्रजातन्त्रका लागि लडेका हुन्। कति सहिद पनि भए। अहिले हामीले भोगेको राजनीतिक स्वतन्त्रता पनि यिनैको योगदानको व्याज हो। नेताहरुप्रति चुलिएको घृणाको कारणले नेतालाई राम्रो मूल्याङ्कन दिएको धेरैलाई नपच्ला तर यो वास्तविकता हो कुनै समयको। प्रायः सबै राजनीतिक पार्टीभित्र वीरताको कमी छैन। गिरिजा कोइराला लगायतका धेरै काँग्रेसका नेताहरुले जेलको चीसो खाएकै हुन्। एमालेभित्र पनि त्यागी मान्छेहरुको कमि छैन। माओवादी त धेरै बलिदानबाट आएको आलो पार्टी हो। कति नेताहरुको टाउकाको मूल्य पनि तोकिएको हो। राप्रपाभित्र पनि धेरै नेताहरु जनताको काम गर्दागर्दै आफ्ना घरखेत सक्नेहरु पनि छन्। यसरी हेर्दा सबै पार्टी भित्र जनताको लागि केही गर्नु पर्छ भन्ने भावना रहेको देखिन्छ। अपवाद त जहाँ पनि भै हाल्छ।

अब प्रश्न उठ्छ कि यदि नेताहरु त्यागी थिए भने नेपाल चाँही किन उँधै गति र उँधै मति भने जस्तो गरी ओरालो लागेको त। धेरैलाई के लाग्छ भने नेपाललाई ओरालो लगाउने यिनै नेताहरु हुन्। यिनैको स्वार्थको कारणले हामीले दुःख पाएका हौं। यसमा मेरो फरक मत छ। पहिलो कुरा त हाम्रा संचारमाध्यमले नकारात्मक कुराहरुलाई जति ठाउँ दिन्छन् त्यति धेरै तल नेपाल झरिसकेको छैन। हुनत शान्ति सुरक्षाको स्थिति खस्किएपछि अरु प्रगतिका अर्थशास्त्रीय तथ्याङ्कहरु अर्थहीन बन्दा रहेछन्। आम जनतामा रहेको त्रासले गर्दा, सबैको मनमा भए भन्दा बढी नै अँध्यारो तश्विर खिचिएको छ। बहुदल आए यता देशले केही प्रगति नगरेको त होइन। नेपालीहरुको चेतना स्तर बढेकै जस्तो लाग्छ। महिलाहरुको आवाज पनि अलि बढेकै देखिन्छ। हेपिएका भनेका मान्छेहरुले पनि बेलाबेलामा आफ्ना आवाज बढाएको सुनिएकै छ। स्कुल कलेज र विश्वविद्यालयको संख्यामा पनि धेरै नै वृद्धि भएको छ। स्वास्थ्यका क्षेत्रमा हेर्दा पनि केही प्रगति नै छ। हाम्रो देशले तरकारी खेती र तरकारी उपभोगमा उल्लेखनीय प्रगति गरेको छ। तर शान्ति सुरक्षाको अभावमा यी प्रगतीहरु सून्यमा बिलाएका छन्। दोस्रो कुरा नेपालले जनताको आकांक्षा अनुसार प्रगति नगर्नुमा नेतृत्व वर्गको भन्दा जनताको नै बढी दोष छ। तर यो सबै अज्ञानवश भएको छ। जानी जानी होइन। कसरी जनता दोषी छन् त भनेर उम्क्न हाम्रा नेताहरुको जीवन चक्रलाई बुझ्नु जरुरी छ।

नेताहरुको जीवन चक्रमा धेरै समानता छन्। सुरुमा नेताहरु अलि आदर्शवादी हुने र आफ्नो आदर्शको लागि बलिदान पनि गर्न सक्ने हुन्छन्। आफ्नो आदर्श जोगाउनलाई नै धेरै नेताहरुले जेलनेल र संघर्षको बाटो रोजेका हुन्। अनि समाजबाट त्यो बलिदानको कदरस्वरुप उनीहरुलाई नेतृत्वको जिम्मा पनि मिलेको हो, चुनावबाट र पार्टी पंक्तिबाट। जब उनीहरु नेतृत्वमा पुगेर जिम्मेवारी सम्हाल्न थाले र जनताको दैनिक व्यवहारका काम गर्न थाले तब उनीहरुमा क्रमशः नैतिक ह्रास देखिन शुरु भयो। उनीहरुले व्यवहारलाई र आदर्शलाई सँगै जोडेर लान सकेनन्। आदर्शलाई समातौं आफू एक्लो हुने, अनि व्यवहारलाई समातौं फोहोरमा टेकेर नहिँडी नहुने। व्यवहार भनेको भैरव अर्यालको व्यंग्य जस्तै छ “चोरी चकारी नगरी चतुर्याईं हुन्न, दंगा फसाद नगरे इज्जतै रहन्न”। जनताको काम गर्न सक्ने जस्तो पनि देखिनु पर्‍यो। यो गर्नलाइ सिष्टमलाई बिगार्नु पर्‍यो , प्रकृया मिच्नु पर्‍यो। अरुको पालो मिच्नु पर्‍यो। जनतालाई गरेको जस्तो देखाउँदा देखाउँदै बिस्तारै उनीहरु आदर्शवाट चिप्लीदै चिप्लीदै फोहोरको आहालमा पुगे। कतिखेर त्यो आहालमा पुगे भन्ने नेताहरुलाइ थाहै भएन किनकी त्यो एकै दिनमा भएको थिएन। केही नेताहरु अलिपर सम्म देख्न सक्ने पनि थिए र आहालवाट जोगीन पनि खोजे तर ती नेताहरु जनताका नजरमा पानी मरुवा ठहरीए। जनताले कानुन मिच्न नसक्ने, कर्मचारीलाई हप्काउन नसक्ने, लाइन मिचेर र प्रकृया मिचेर काम गराउन नसक्ने, यो यो कुराले मवाट यो काम हुन सक्दैन भनेर साँचो कुरा वोल्ने, आफ्ना कार्यकर्ताहरुलाई जागीर ख्वाउन नसक्ने, भेट्न आउने मान्छेहरुलाई खाना चीया ख्वाउन नसक्ने भएपछि जनताको नजरमा ती नेताहरुको भाउ म्कण्डै सुन्यमा नै पुग्यो। तव नेताहरुलाई दुइवटा विकल्प वाँकी रहे। एउटा इमान्दार हुने र आदर्श जोगाउने, अनी पानी मरुवा भएर वस्ने। अर्को साम दाम दण्ड भेद सवै लगाएर जे पनि गर्ने , कमाउने पनि र मान्छेहरुको काम पनि गर्ने। जो नेताहरु इमान्दार भए, उनीहरुको अर्को चुनावमा जित्ने सम्भावना पनि कम भयो किनकी तीनीहरु जनताका नजरमा पानीमरुवा भइ सकेका थिए। अपवादका केही जिल्लावाहेक इमान्दार वनेर चुनाव जित्न धेरै गाह्रो थियो। इमान्दार मान्छेहरु क्रमशः पार्टीवाट पनि पलायन भएर गए। यस्को मतलव राजनैतिक पार्टिहरु वेइमानहरुले मात्र भरिएका छन् भन्ने कदापी होइन्। वचेखूचेको इमान्दारीतालाइ पनि हामी जनताले नै विस्तारै सकाउँदै छौं। त्यसैले हामी राजनीतीलाई फोहोरी खेल भन्छौं किनकी त्यहाँ इमान्दार मान्छेहरु टिक्न सक्दैनन्।

हामी जनताले नेताहरुलाई विधीको शासन तर्फलगाउने भन्दा हुकुमी सैलीमा नीयम मिचाएर काम गराउनमा जोड दियौं। “नियमले मिल्ने भए त जस्ले पनि मिलाइदिन्थे नी तपाईं सँग आउनै पर्ने थिएन, त्यै नियमले नमिल्ने भएर पो तपाईंकहाँ आएको” भन्छन मिलाइ माग्नेहरु। अनि इमान्दार नेताले पनि नियम मिच्नु पर्यो। नत्रभने वल्लवल्ल कमाएका आफ्ना कार्यकर्ताहरुकेा भनेको वेलामा काम गर्न नसक्दा नेताहरु एकदमै असजिलोमा पर्छन्। हाम्रा नेताहरुको दैनीकीलाई नजीकवाट हेर्यो भने अधिकांश समय उनीहरुले केही गरी दिनै पर्ने मान्छेहरुको काम गर्नमा वित्छ। त्यो भनेको अधिकांस समय सीष्टम विगार्नमा वित्छ वनाउनमा भन्दा। सिष्टम नविगारी आफ्नो मान्छेको काम हुँदैन। प्रकृयाले हुने काममा पनि नेताहरु प्रकृया मिच्न वाध्य छन्, केही गरी दिएको पार्नका लागी। जव सीष्टम भत्कन्छ तव डाक्टरहरु इन्जीनयरको कुर्सीमा पुर्याइन्छन्। पार्टीका पिछलग्गु मुर्खहरुको राज चल्न थाल्छ। अन्त्यमा जनताको कारणले तोडीएका नियम कानुनले जनतालाई नै पछाडी धकेल्दछ।

राम्रो भावना भएका नेताहरुलाई फोहोरको आहाल सम्म पुर्याउनमा हामी जनताको ठूलो भूमिका छ। हामीलाई “काम गरिदिने” नेता चाहिएको छ। हामीलाई आफ्नो काम पट्याउन पाए अरु कुराको केहि मतलव छैन। हामीले नेतालाई नितीमा भन्दामा व्यक्तिमा प्राथमीकता दिन वाद्य पार्यौं। हामीले हाम्रा नेताहरुलाइ पजेरो चढ्ने वनायौं किनकी जनताले ठान्यौं कि नेता भनेको त सान सँग पो रहनु पर्छ त, पानी मरुवा भएर हुन्छ र?

मानौं हामीसँग दुइटा नेता छन् फरक फरक वानी व्यहोराका। एउटा नेता सानु डेरामा वस्छ, इमान्दार छ। उ देशको निति नियम राम्रो पार्नमा चिन्तित छ, उसको वौद्धिक तह पनि राम्रै छ त्यसैले उसले हवल्दारी तरीका अख्तीयार पनि गर्दैन। उसका जँुगा पनि छोटा छन् र लुगामा पनि चमक छैन। उस्ले साना ठुला सवैलाई सम्मानजनक व्यावहार गर्छ। नियम मिचेर काम गर्न र गराउन चाहाँदैन। उ अरुलाइ हप्काउँदैन र उ अरुदेखि हप्किदैन पनि। इमान्दार भएको कारणले उ धेरै पैसा कमाउन पनि सक्दैन र मान्छे आँउदा उचीत चियापानको व्यवस्था गर्न पनि सक्दैन। उ सँग उस्का कार्यकर्ताहरु र नातागोताका मान्छेहरु रिसाएका हुन्छन् किनकी उनीहरुलाई भने जस्तो जागीरमा लाइदिएको हुदैन, भंसारमा सरुवा गरीदिएको हुँदैन, ठेक्कापट्टा मिलाइदिएको हुदैन, सरकारी जमीन उनीहरुका नाममा पार्न मद्दत गरेको हुदैन, न्यायधिसलाई भनसुन गरेर मुद्दा जिताइदिएको हुदैन, अर्काको पार्टीको मान्छे विद्यालयको संचालक समितिको अध्यक्ष हुदा पनि सहेरै वस्छ र आफ्नो पार्टीको मान्छेलाई त्यहाँ ल्याउन सकेको हुदैन, वैंकको ऋण मिनाहा गर्न मद्दत गरेको हुँदैन। उस्ले राम्ररी पहल गरेको भएदेखी वन उपभोक्ता समितिको अध्यक्ष आफ्नै पार्टीको मान्छे हुन्थ्यो। समग्रमा भन्नु पर्दा यो लुरे नेताले परेको वेलामा कसैलाई मद्दत पुर्याउन सकेको हुदैन।

अर्को नेता छ जस्को घर पनि ठुलै छ। १/२ जना मान्छेलाई चीया भात पकाउन पनि राखेको छ। साम दाम दण्ड भेद सवै जानेको छ। जस्ता नमिल्ने काम पनि उस्को एक फोनमा हुन्छन्। हुने नहुने अनगिन्ती वाटावाट पैसा कमाउन पनि सक्छ। उस्को वोली ओजीलो हुन्छ। उस्ले सानालाई हप्काउन र ठुलालाई तेल लगाउन राम्ररी जानेको छ। उसलै एकैचोटीमा २००/३०० जनालाई सेनामा र पुलीसमा जागीर लागाइ दिन सक्छ। उस्ले धेरैलाई हुलाकवाट भंसारमा पुर्याएको छ। उसले परेको वेलामा मान्छेहरुलाइ जस्ता सुकै पनि मद्दत गर्न सक्छ। नीयम मिच्नु, लाइन मिच्नु, प्रकृया मिच्नु उस्कालागी सामान्य खेल हुन। उसले खान र ख्वाउन दुवै जानेको छ। उ आफ्ना विरोधीहरुलाई खेदी खेदी दुख दिन सक्छ। उस्को भाषण भालाको वाण जस्तै पेचीलो र चोटीलो हुन्छ। कार्यकर्ताको ताली पनि राम्रैसँग खान्छ। अव हामीलाई कस्तो नेता मन पर्छ? पानी मरुवा कि विर? पक्कै पनि हामी विरलाइ रोज्छौं। हाम्रो रोजाइले र आकास तिर फर्केर थुक्ने खालका हाम्रा चाहानाहरुले गर्दा हामीले सवै पार्टी भित्र सवैलाइ विर वन्न वाध्य वनाएका छौं र विरै विर मान्छेहरुलाइ नेतृत्वमा पठाएका छौं। अनि तिनै वीरहरुको कुसाशनले पुरस्कृत भएका छौं। अनी हामी गाली गर्छौं नेताले देश विगारे भनेर। अहिले संविधान वनाउँनकै लागी पनि कती जना जनताले नेतालाई भेटेर संविधान वेलामा वन्नु पर्छ भनेर दवाव दिएका छौं।

नेताहरु हामी भित्रकै मान्छेहरु हुन्। हामी जस्ता छौं हाम्रा नेता त्यस्तै हुन्छन्। जनतामा जातीय दुरी छ भने नेताहरु त्यो दुरीमा नै राजनीति गर्छन्। जनतामा क्षेत्रीयता छ भने नेताहरु क्षेत्रीयताको नारा दिइहल्दछन्। जनतामा मधेशीया र पहाडीयाको भावना छ भने नेताहरु त्यसैलाइ प्रयोग गर्न थाली हाल्छन्। जनताले राजालाई विष्णुको अवतार वनाउन्जेल सम्म नेताहरु पनि राजाको जय गाउनमै व्यस्त थिए। जनतामा घुस ख्वाएर काम गराउने प्रवृत्ति रहुन्जेल सम्म नेताहरुमा घुस खाने वानी रहीरहन्छ। उपयुक्त वातावरण पाए पछि जुम्रा आफैँ पर्छ भने जस्तै नेताहरुको पतनका पछाडि हाम्रो हात छ। हामी जनताहरुले नेताको पतनमा मलजल नगर्ने हो भने कसरी यतिचाँडै हाम्रा नेताहरु यती तल पुग्थे। किन विहारले लालुको माला लगाउँछ? किन नेपालले प्रचण्ड जन्मायो? किन हामीले गीरीजा कोइरालाई नै पटक पटक प्रधान मन्त्रि वनायौं? किन हाम्रा मन्त्रिहरु कर्मचारीलाई हप्काउँनमा र गोद्नमा विरता ठान्छन्? किन हाम्रो माटोमा सुजाता प्रवृत्ती फष्टाउँछ? किन हाम्रो राजनीतीमा हिंसाले यत्रो ठाउँ पाएको छ? किन गणेशमान सिंहले काठमाण्डौका जनतालाइ यी गुहु जनता भनेका? यी सवै प्रश्नको उत्तर पनि हामी जनता नै हौं। किनकी यो परिणाम सवै हाम्रो मलजल विना संभव थिएन। नेतालाई गाली गर्नु भन्दा पहिला आफुतिर फर्केर हेर्ने पो हो की? नेता र पार्टीहरु प्रतिको हाम्रो घृणाले कतै हामी जंगी शाषनको अंध्यारोलाइ निम्त्याइ रहेका त छैनौ?

One response to “नेतालाई गाली गर्नुभन्दा पहिला

  1. the story writing by doleshower bhandari about nepali leader n country its realy good i thanx 4 kuw8nepal web also publish for perfect n talent for nepalese

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.