सोलुखुम्बुको सल्लेरी २ फाप्लुमा आइतबार बिहान आगलागी हुँदा दुई घर पूर्णरुपमा जलेर नष्ट भएका छन् । आगलागीबाट गोरे विश्वकर्मा र दावा सेर्पाको घर जलेर नष्ट भएका हुन् । आगलागीमा परी विश्वकर्माको घरमा डेरा लिएर बस्दै आएकी याङजुम सेर्पा र सेर्पाको घरमा डेरा गरिबस्ने खोटाङ याम्खा ७ का महेन्द्रकुमार राई एवं तामाखानी ८ लोदिङका लाक्पा सेर्पा र लाक्पागेलु सेर्पाका पनि सम्पूर्ण सामान जलेर नष्ट भएका छन् । त्यसबाट करिब रु एक करोडको क्षति भएको छ ।
बिहान करिब साढे ११ बजे विश्वकर्माको घरबाट निस्केको आगोले छिमेकी दावाको घर पनि जलेको हो । आगलागी नियन्त्रण गर्ने क्रममा आसपासका केही घरमा पनि आंशिक क्षति पुगेको छ । आगो स्थानीयवासी, प्रहरी, नेपाली सेना, रेडक्रसकर्मी र विद्यार्थीको सहयोगमा करिब साढे तीन घण्टा पछि नियन्त्रणमा आएको थियो ।