पुरानो नेपालमा १४ अञ्चल थिए। अब नयाँ नेपालमा पनि १४ नै प्रदेश हुने भएछन् । संविधानसभा राज्यको पुनःसंरचना तथा राज्य शक्तिको बाडफाँड समितिको हिजो बसेको बैठकले १४ प्रदेश बनाउने प्रस्तावलाई बहुमतले पारित गरेको छ । समितिमा प्रस्तुत भएको १४ र ६ मध्ये कुन प्रदेश रहने भन्ने अवधारणासम्बन्धी मत विभाजनका आधारमा निर्णय भएको थियो । चौध प्रदेशका पक्षमा २४ मत परेको थियो । यस अनुसार मधेशमा दुई प्रदेश रहने भएको छ । प्रदेशको नाम र राजधानी के के हुने त ?
समितिले पारित गरेको प्रदेश र त्यसको राजधानी :
खप्तड प्रदेश ( राजधानी दीपायल–सिलगढी),
लुम्बिनी–अवध–थारूवान प्रदेश ( राजधानीः घोराही),
जडान प्रदेश (राजधानीः सिमीकोट),
कर्णाली प्रदेश (राजधानीः वीरेन्द्रनगर),
मगरात प्रदेश (राजधानीः तानसेन),
तमुवान प्रदेश (राजधानीः पोखरा),
नारायणी प्रदेश (राजधानीः भरतपुर),
ताम्सालिङ प्रदेश (राजधानीः चौतारा),
नेवाः प्रदेश (राजधानीः काठमाडौँ),
मिथिला–भोजपुरा–कोचिला प्रदेश (राजधानीः जनकपुर),
सुनकोसी प्रदेश (राजधानीः कमलामाई),
किराँत प्रदेश (राजधानीः त्रियुगा),
लिम्बुवान प्रदेश (राजधानीः इलाम)
सेर्पा प्रदेश (राजधानीः सोलु)
समितिमा एउटै नक्सासहितको प्रस्ताव संविधानसभामा लाने कि दुईवटै लाने भन्ने विषयमा पनि मतदान भएको थियो । एउटै नक्सा पक्षमा २३ र दुईवटा लानुपर्छ भन्नेमा १५ मत परेको थियो । सो दुईवटै प्रस्तावमा समर्थन छैन भन्नेमा दुईमत परेको थियो भने सो प्रक्रियामा असहमति जनाउँदै नेकपा (एमाले) का सभासद् शङ्कर पोखरेलले ‘नो भोट’ मा मत दिएका थिए । त्यसैगरी प्रदेशमा जुन जातिको बाहुल्य छ, ती जातिलाई सरकार निर्माण र निर्वाचनमा दुई कार्यकाल प्राथमिकता दिनुपर्छ भन्ने राजनीतिक अग्राधिकारसम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ ।
सो प्रस्तावको पक्षमा २१ र विपक्षमा १२ मत परेको थियो । सो प्रक्रियामा मधेसी दलका सभासद्हरुले मधेसलाई टुक्र्याउने प्रयास भएको भन्दै चितवनको तल्लो भागलाई लुम्बिनी–अवध–थारूवानसँग जोड्नुपर्ने तर्क राखेका थिए । नेमकिपाका सुनिल प्रजापतिले अधिकांश प्रदेश जातीय आधारमा बनाइएकाले खतरा आउन सक्ने चेतावनी दिए । नेकपा (संयुक्त) का चन्द्रदेव जोशीले खप्तड र जडान भनेर खस जातिलाई कमजोर बनाउने खेल भएको तर्क राखे ।
सद्भावना पार्टीका अनिलकुमार झा, तमलोपाका महेन्द्रप्रसाद यादव, मधेसी जनअधिकार फोरमका जयप्रकाशप्रसाद गुप्ताले ठूला दलहरु योजनाबद्धरुपमा मधेस टुक्र्याउने खेलमा लागेको आरोप लगाए ।