भारतीय स्थलसेनाका अध्यक्ष दीपक कपुर काठमाडौंमा


भारतीय स्थल सेनाध्यक्ष जनरल दीपक कपुर नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा मंगलबार काठमाडौं आइपुगेका छन् ।  शान्ति प्रक्रिया सुरु भएयता नेपाल भ्रमण गर्ने उनी भारतका पहिलो सेनाध्यक्ष हुन् । भारतीय वायु सेनाको विशेष विमानबाट ६ सदस्यीय टोलीसहित काठमाडौं आएका कपुरले मंगलबार आफ्ना समकक्षी छत्रमानसिंह गुरुङसँग भेटवार्ता गरे । भेटमा विविध समसामयिक विषयमा छलफल भएको सैनिक जनसर्म्पर्क निर्देशनालयले जनाएको छ । कपुरलाई बिहीबार राष्ट्रपति डा. रामवरण यादवले मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम छ । प्रधानसेनापति गुरुङलाई गत मंसिरमा भारतीय राष्ट्रपति प्रतिभा पाटिलले भारतीय सेनाको मानार्थ सेनाध्यक्ष दर्जा प्रदान गरेकी थिइन् ।
 
कपुर बुधबार मुस्ताङको जोमसोमस्थित सैनिक उच्च शिखर शिक्षालयको भ्रमणमा जाने कार्यक्रम छ । त्यसपछि पोखरास्थित भारतीय पेन्सन वितरण कार्यालय र नेपाली सेनाको पश्चिम पृतना मुख्यालयको भ्रमण गर्ने सैनिक जनसर्म्पर्क निर्देशनालयले जनाएको छ । कपुरले बिहीबार काभ्रेपलाञ्चोकस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको अवलोकन भ्रमण गर्ने र सोही दिन अपराह्न सिंहदरबारमा प्रधानमन्त्री माधवकुमार नेपाल र रक्षामन्त्री विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम छ । नेपाली सेना र भारतीय सेनाका उच्च पदाधिकारीहरूबीच यसप्रकारको सद्भावना भ्रमण सन् १९५० देखि थालनी भएको हो । तत्कालीन भारतीय सेनाका सेनाध्यक्ष कोडानडेरा मडप्पा करिप्पाले नेपालको औपचारिक भ्रमण गरेका थिए । उनीपछि हालसम्म १८ जना भारतीय उच्च सैनिक अधिकारीले नेपाल भ्रमण गरिसकेका छन् ।

नेपालका तर्फाट भारत भ्रमण गर्ने प्रथम प्रधानसेनापति किरणशमशेर जबरा हुन् । हालसम्म नेपाली सेनाका १४ जना प्रधानसेनापतिले भारतको औपचारिक भ्रमण गरिसकेका छन् ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.