विभिन्न दुर्घटनाहरूमा सातजनाको मृत्यु, ५८ घाइते


शुक्रबार बिहान झापामा भएको सवारी दुर्घटनामा चारजनाले ज्यान गुमाएको २४ घन्टा नबित्दै पुर्वाञ्चलका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा थप ६ जनाले ज्यान गुमाएका छन् । घटनामा चार दर्जन घाइते भएका छन् । पुर्व-पश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारीमा शुक्रबार राति भएको दुर्घटनामा परी मर्नेको संख्या तीन पुगेको छ । थप ६ जनाको अवस्था चिन्ताजनक छ । दुर्घटनामा परी ज्यान गुमाउनेहरूमा मोरङ बनिगामा-१ का २२ वर्षीय मनोज भगत, सोही ठाँउका ३८ वर्षिय गोपाल परियार र बनिगामा-५ का ३५ वर्षीय नेमनारायण चौधरी रहेका छन् । नेमनारायणको शुक्रबार र बाँकी दुइजनाको शनिबार उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको अस्पतालले बताएको छ ।

सूत्रका अनुसार उपचार गराइरहेका मध्ये तीनजनाको अवस्था गम्भीर छ । गम्भीर हुनेहरूमा बनिगामा-१ का ३० वर्षीय पुरन्धर साह, बनिगामा-५ का ४० वर्षीय शिवनारायण चौधरी र मोरङ रामपुर-९ की ३५ वर्षीया सिरु चौधरी छन् । यस्तै, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रहरीका अनुसार त्यहाँका तीनजना घाइतेको अवस्था चिन्ताजनक छ । शुक्रबार राति सवा ८ बजेतिर पुर्वबाट पश्चिम गइरहेको को१ख १०१३ नम्बरको बस अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको थियो । घटनामा ४१ जना घाइते भएका थिए । यसैबीच, शनिबार बिहान झापाको सतासीधाममा भएको सवारी दुर्घटनामा एकजनाको ज्यान गएको छ । मे१ख ८५६ नम्बरको बसले बा३५प ८८७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार मोरङ केरौनकी २३ वर्षीया तारा कटुवालको ज्यान गएको हो । मोटरचालक झापा शिवगन्जका अनन्त राजवंशी गम्भीर घाइते भएका छन् ।

उता पुर्व-पश्चिम राजमार्गअन्तर्गत नै सप्तरीको कल्याणपुरमा शनिबार बिहान सवारीसाधनको ठक्करबाट एक भारतीय किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत लुधियाना घर भएका १७ वर्षीय सिकेन्दर रहेका छन् । नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट घाइते अवस्थामा फेला परेका उनको उपचारका क्रममा सगरमाथा अञ्चल अस्पताल राजविराजमा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै शुक्रबार राति पुर्व-पश्चिम राजमार्गको झापा सुरुङा-२ मा एउटा कार दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको सिक्किमका ४५ वर्षीय बालकृष्ण दाहाल रहेका छन् । पुर्वतर्फजाँदै गरेको एसके०२ए ०९५७ नम्बरको कार अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका दाहालको बिर्तामोडस्थित कञ्चनजंघा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सिक्किमकै चन्द्रकुमार अधिकारी गम्भीर घाइते भएका छन् । शुक्रबार बिहान झापाको तोपगाछीमा भ्यान र बस ठोक्किएर भएको दुर्घटनामा चारजनाको मृत्यु भएको थियो भने चारजना घाइते भएका थिए । उता, नवलपरासीमा शुक्रबार राति भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा एकजनाको ज्यान गएको छ भने १० जना घाइते भएका छन् । प्रहरीका अनुसार दुम्कीबास-१ मा ना३ख ९७७७ नम्बरको ट्रक र लु६प ५१० नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा विद्युत् प्राधिकरण कावासोतीका कर्मचारी मोटरसाइकल चालक ३७ वर्षीय राजेन्द्र सिंहको ज्यान गएको हो । त्यस्तै, काठमाडौंबाट रूपन्देहीको लुम्बिनी भ्रमणमा आउँदै गरेको ना३ख ६१५० नम्बरको बस नयाँ बेलहानीमा पल्टिँदा आठजना घाइते भएका छन् । घाइतेहरूको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

त्यस्तैगरी, अग्यौलीमा लु१ख ५०४८ नम्बरको ट्रकले ना४प ५३५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुईजना घाइते भएका छन् । प्रहरीका अनुसार ट्रकको ठक्करबाट स्थानीय ३० वर्षा भीमलाल भुसाल र १६ वर्षीय कमल भुसाल घाइते भएका हुन् । उनीहरू दुवैजनाको मध्यविन्दु अस्पताल डन्डामा उपचार भइरहेको समाचार खुल्न आएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.