प्रधानमन्त्री माधवकुमार नेपाललाई उच्चस्तरीय राजनीतिक संयन्त्रमा आमन्त्रित सदस्यका रुपमा राख्न एकीकृत नेकपा माओवादी सहमत भएको छ । नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालासँग आज भएको भेटमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो सहमति जनाउनु भएको हो । कोइराला निवास महाराजगञ्जमा भएको भेटमा संविधान सभामा प्रतिनिधित्व गर्ने अरु राजनीतिक दलका नेताहरुलाई उच्चस्तरीय राजनीतिक संयन्त्रमा राख्ने सहमतिसमेत भएको छ ।
भेटवार्तामा एकीकृत नेकपा माओवादीको आन्दोलन, सिमा समस्या लगायतका विषयमा पनि छलफल भएको थियो । यसअघि अध्यक्ष प्रचण्डले बुधबार धनगढीमा सञ्चारकर्मीहरुसँग संयन्त्रमा प्रधानमन्त्रीको काम छैन भन्नु भएको थियो । हिजो नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र सभापति कोइरालाबीच पनि प्रधानमन्त्रीलाई आमन्त्रित सदस्यमा राख्ने सहमति भएको थियो ।