हरि बास्तोला – पोखरा
पुरातात्विक, धार्मिक एवम् पर्यटकीय महत्व बोकेको एसियाकै एकमात्र प्राकृतिक पुल ढुङ्गे साँघु सङ्कटमा परेको छ । पर्यटकीय नगरी पोखराको दक्षिण भेगस्थित महतगौडा र टुङ्गालाई जोड्ने सेती नदीमाथि अवस्थित ऐतिहासिक सो प्र्राकृतिक पुल संरक्षणको अभावमा सङ्कटमा परेको हो । ढुङ्गा र माटोद्वारा निर्मित दुर्लभ प्राकृतिक पुलबाट दैनिक साना तथा ठूला यातायातका साधन ओहोरदोहार गर्दै आएका छन् भने पुलको दक्षिणतर्फबाट ढुङ्गा र बालुवा निकाल्दा पुल कमजोर बन्दै गएको छ ।
सुगमस्थानमा रहेको सो प्राकृतिक पुलबाट यातायातका साधन निषेध गर्न र पुलको नजिक नदीबाट वालुवा तथा ढुङ्गा झिक्न रोक्नतर्फ सम्बन्धित निकायले उचित ध्यान पुग्न नसक्दा कुनै पनि समयमा पुल भत्किन सक्ने र एक प्राकृतिक बरदानको अस्तित्व समाप्तसँगै यस क्षेत्रले ठूलो जनधनको क्षति बेहोर्नुपर्ने भूगोलविद् डा. कृष्ण केसी बताउनुहुन्छ । नदीको दुवै किनारातर्फबाट जमिन धाँजा फाटी ठूल्ठूला चुनयुक्त कडा चट्टान विपरीत दिशामा ढल्दा एक आपसमा जोडिएको र तल्लो भागमा पानीको प्रवाहले खोली निकास बनाएपछि माथिल्लो भागले पुलको आकार लिएको हुनसक्ने अनुमान गर्न सकिन्छ ।
सो पुल भत्किएमा सो क्षेत्रका जनतालाई आवतजावतमा ठूलो असुविधा पुग्नुका साथै सोही स्थानमा पक्की पुल निर्माण गर्न सरकारले पनि करोडौँ रुपैयाँ खर्चनुपर्ने हुन्छ । पुलको समयमानै आवश्यक संरक्षणको खाँचो रहेको छ । माछापुच्छ्रे्र र अन्नपूर्ण हिमशृङ्खलाको आसपासमा रहेको हिमतालहरू फुट्दा गएको पहिरोसँगै आएको बालुवा, ढुङ्गा, सिल्गट, पाँगो र वनजङ्गलबाट पुरिँदा पोखरा उपत्यकाको उत्पति भएको र सोही अवधिमा उक्त पुल बन्न गएको हुनसक्ने डा. केसी बताउनुहुन्छ । समुद्री सतहबाट ८०० फिटको उचाइमा रहेको सो प्राकृतिक पुल ३०० फिट उचाइ, १०० फिट लम्बाइ र ५० फिट चौडाइ रहेको छ ।
पिरामिड आकारमा बनेको सो प्राकृतिक पुलको दक्षिण पूर्वी भागमा करिब २०० फिट गहिराइमा झण्डै ५० जना मानिस अट्नसक्ने फराकिलो रमणीय जङ्गल रहेको छ । जुन स्थानबाट पुलको भू-बनोट स्पष्ट देख्न सकिन्छ । उक्त रमणीय जङ्गलभित्र वर्षौ पुरानो शिवलिङ्ग विभिन्न पूजाका सामग्री रहेको सो धार्मिकस्थलमा मान नाम गरेका ऋषिले तपस्या गरेको किम्बदन्ती रहेको स्थानीय समाजसेवी खमप्रसाद न्यौपाने बताउनुहुन्छ । उक्त धार्मिस्थलसम्म पुग्नका लागि आवश्यक बाटो निर्माण गरी भक्तजनहरूलाई सेती नदीको स्नान र सयौँ वर्ष पुरानो शिवलिङ्ग दर्शन गर्ने तथा प्राकृतिक पुलको भू-बनोटको दृश्यावलोकन गर्ने व्यवस्था गर्न सके आन्तरिक तथा बाहृय पर्यटन प्रबर्द्धन गर्न सकिने र सो प्राकृतिक स्रोतबाट प्राप्त आम्दानीले यस क्षेत्रमा शिक्षाको विकासमा लगानी गरिनुपर्ने जानकी निमावि, महतगौडाका प्राधानाध्यापक श्यामप्रसाद शर्मा बताउनुहुन्छ ।
सोही पुलको दक्षिणपश्चिममा सदा शिव मन्दिर, विशाल पिपलको रुखमुनी रहेको ढुङ्गामा सीताको पाइला, अकलादेवीको मन्दिर र पोखरा वृद्धाश्रम रहेको सो धार्मिक क्षेत्रमा प्रत्येक माघ १ गते मकर सङ्क्रान्तिका दिन सो पुलको नामले परम्परागतरुपमा ढुङ्गेसाँघु मेला लाग्दै आएको स्थानीय समाजसेवी विक्रम पोखरेल बताउनुहुन्छ । यस क्षेत्रमा बजारको व्यवस्था नभएका अवस्थामा तात्कालीन आवश्यकतालाई महसुस गरी सुरु गरिएको सो मेलाको अहिले पनि उत्तिकै महत्व रहेको छ । उक्त पुलको संरक्षण, संवर्द्धन, प्रचारप्रसारका साथै पुलको दायाँबायाँ खुला रहेको सो क्षेत्रमा जमिन फाँटेको कारण असुरक्षित रहेको ठाउँमा सुरक्षा व्यवस्था मिलाई त्यस क्षेत्रका बासिन्दा मेलामा आउने भक्तजन एवम् दर्शकहरू तथा यातायातका साधनको तत्काल सुरक्षा गर्नुपर्ने आजको आवश्यकता रहेको छ ।
अमेरिकाको भर्जिनिया राज्यमा रहेको यस्तै प्रकृतिको २०० वर्ष पुरानो पुललाई विश्वको ऐतिहासिक पुलकोरुपमा अमेरिकाले प्रचार गर्दै आएको छ । तर नेपालमा भने प्रचारप्रसारको अभावमा उक्त पुल ओझेलमा परेको छ । दैनिक ३०० देखि ५०० दर्शकले अवलोकन गर्ने गरेको सो पुल २१५ फिट उचाए र ९० फिट उचाइ रहेको छ ।
Ohh Ho hajur le yo news kaha baata paaunu vayo yaar yo ta ekdam yetartha ho. ra aaja mage sankranti tyaha thulo mela pani lagchha. and any way thanks for true news.