भारतलाई माओवादीको चुनौतीपूर्ण चेतावनी


एकीकृत माओवादीका वरिष्ठ नेताहरूले एकैदिन भारतद्वारा अतिक्रमित सीमाका पाँच ठाउँमा उभिएर भूमि फिर्ता गर्न भारतलाई चुनौती दिएका छन् । उनीहरूले मिचिएको भूमि फिर्ता नगरिए कडा संघर्ष गर्ने चेतावनीसमेत दिए । चौथो चरणको आन्दोलन राष्ट्रिय स्वाधीनताका लागि भन्दै माओवादी अध्यक्ष प्रचण्ड, उपाध्यक्ष मोहन वैद्य ‘किरण’, डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र महासचिव रामबहादुर थापा ‘बादल’ सीमाक्षेत्र अवलोकन गर्न गएका थिए ।

टनकपुर बाँधः टनकपुर बाँध क्षेत्रमा एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘पैदल मार्च’ गरेका छन् । सोमबार बिहान कञ्चनपुरको ब्रह्मदेव क्षेत्रका बासिन्दासहित उनले टनकपुर बाँध क्षेत्रको पैदल मार्च गरेका हुन् । अध्यक्ष प्रचण्ड टनकपुर बाँध बनाउँदा अतिक्रमण गरिएको कञ्चनपुरको ब्रह्मदेव क्षेत्रमा पैदल मार्च गरेका हुन् । प्रजातन्त्र पुनस्र्थापनापछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले ०४८ मंसिरमा भारत भ्रमण गर्दा टनकपुर बाँधका लागि दिएको नेपाली भूमिमा प्रचण्डले पैदल मार्च गरेका हुन् । नेपाल-भारत सीमा स्तम्भ नं. २ र ३ बीचको नेपाली भूमिमा टनकपुर बाँधका लागि एफ-लक्स बन्ड बनेको छ । माओवादी अध्यक्ष प्रचण्डले सोमबार बिहान ९ बजे स्थानीय बासिन्दासहित सोही टनकपुर बाँधको एफ-लक्स बन्डको अवलोकन गरेका छन् । ५७७ मिटर लामो एफ-लक्स बन्डसहित माओवादी अध्यक्ष प्रचण्डले दुई किलोमिटर पैदल मार्च गरे । भारतीय सीमा सुरक्षा बल (एसएसबी) नेपाली सर्वसाधारणलाई आवतजावत गर्न रोक लगाएको सो क्षेत्रका स्थानीय बासिन्दाले पनि पदैल मार्च गरेका हुन् ।

पशुपतिनगरः उपाध्यक्ष मोहन वैद्य ‘किरण’ले सीमा अतिक्रमण रोक्न दलीय स्वार्थभन्दा माथि उठेर लाग्नुपर्ने बताए । इलामको पशुपतिनगरमा अतिक्रमित भूमि अवलोकनपछि आयोजित सभामा नेता किरणले सन् १९५० को असमान सन्धि तत्काल खारेज गर्न माग गरे ।

सुस्ताः उपाध्यक्ष डा. बाबुराम भट्टराईले भारत-नेपाल छिमेकी भए पनि सन् १९५० को सन्धिअनुसार भारत नचलेको दाबी गरेका छन् । अतिक्रमित नवलपरासीको सुस्ता क्षेत्र अवलोकनपछि उनले अतिक्रमित भू-भाग फिर्ता नभए कडा आन्दोलन गर्ने चेतावनी पनि दिए । आफूहरूको लडाइँ भारतीय नागरिकसँग नभई सामन्ती सोचका विरुद्ध रहेको नेता भट्टराईको भनाइ थियो । सभामा सहभागी सुस्तावासीले माओवादीले कन्टेनरमा रहेको हतियार दिए सुस्ता बचाउन भारतविरुद्ध लड्न आफूहरू तयार रहेको बताएका थिए । सुस्ता बचाऊ अभियानका अध्यक्ष गोपाल गुरुङले भने, राज्यले सुस्ता बचाउन कुनै पहल गरेन, हामी सुस्ता बचाउँछौँ, कन्टेनरको हतियार देऊ ।

लक्ष्मणपुर बाँधः एकीकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ लाई भारतीय सुरक्षा अधिकारीले लक्ष्मणपुर बाँध कुनै इस्यू नै नभएको जवाफ दिएका छन् ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.